८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

स्याफ्रु/रसुवागढी सडक खण्डको मर्मतको शुभारम्भ गरिँदै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ। चीन सरकारको सहयोगमा स्तरोन्नति हुने सडकको गएको शनिबार सुरु गरिएको हो।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।

यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउन लागेको हो। चिनियाँ टोलीले सडक खण्डको विभिन्न स्थानबाट काम गर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘एक ठाउँबाट मात्रै काम अघि बढाउँदा समयमै सकाउन सकिँदैन,’ उनले भने, ‘यसका लागि जहाँ–जहाँ साइड क्लियर छ त्यहाँ–त्यहाँ काम गरिन्छ।’

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सडक स्तरोन्नति गर्नुपूर्व गर्नुपर्ने काम भने अझै सकिएको छैन। सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाउनु पर्छ। दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको छ।

यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापार सहज हुने छ। अहिले साँघुरो र जीर्ण सडकका कारण सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ। गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु–रसुवागढी सडक तेस्रो खण्ड हो।

गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ। तीन खण्डमध्ये गल्छी–मैलुङ खण्डको स्तरोन्नति भइरहेको छ भने मैलुङ–स्याफ्रु खण्डको टेन्डर गर्ने तयारी छ। योजना प्रमुख भण्डारीका अनुसार मैलुङ–स्याफ्रु सडकको एक साताभित्र टेन्डर गर्ने तयारी गरिएको छ।

यो सडक खण्डको स्तरोन्नति सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य छ। मैलुङ–स्याफ्रु सडक एसियन हाइवे स्टान्डर्डअनुसार निर्माण हुने उनले बताए। ‘यो डेडिकेटेड डबल लेनको सडक हो,’ उनले भने, ‘यसको चौडाइ ११ मिटर हुन्छ।’ गल्छी–मैलुङ सडक खण्डको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ भने बित्तीय प्रगति ४५ प्रतिशत छ।

प्रकाशित: १७ आश्विन २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App