१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बराहपोखरीको डिपिआर बन्दै

खोटाङ – सरकारले सयवटा गन्तव्यको सूचीमा समावेस गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्य स्थलकारुपमा विकास गर्नका लागि डिपिआर निर्माणको काम थालिएको हो। गत वैशाख २६ गतेदेखि काम थालेको शान्ति निकेतन प्रालि सुनसरीले डिपिआरको काम अन्तिम चरणमा पु-याएको बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमादेवी मगरले बताइन्। प्रालिले १९ लाख ६० हजार लागतमा गत असार मसान्तभित्रै डिपिआरको काम पूरा गर्नेगरी कामको जिम्मा लिएको थियो।

आईतबार कोटेश्वर काठ्माण्डौंमा बराहपोखरी तालको पर्यटन प्रवद्र्धन सम्वन्धी बृहत छलफल कार्यक्रम गरेर गाउँपालिकाले बाराहपोखरीको डिपिआरको हालसम्मको प्रगतीका विषयमा जानकारी गराएको छ। २०६७ सालमा बनेको गुरुयोजनालाई परिमार्जन गर्दै डिपिआर निर्माणको काम थालिएको गाउँपालिकाले जनाएको छ। बराहपोखरीको पर्यटकीय सम्भावना पहिचान, विकास र प्रचार–प्रसार गर्दै स्थानीय विकास, आयआर्जन र सुन्दरताका प्रतिककारुपमा उपयोग गर्नका लागि करिब १६ करोडमा आवश्यक संरचना निर्माण सम्पन्न हुनेगरी डिपिआर निर्माणको काम अघि बढाइएको हो।

पहिलो पाँच वर्ष सिमा निर्धारण, जग्गा अतिक्रमण रोक्ने, घेरा बारा गर्ने, पदमार्ग निर्माण गर्ने, प्रवेश द्धार निर्माण गर्ने, बृक्षारोपण, घरवास कार्यक्रमको सुरुवात गर्ने, खानेपानी तथा फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गरिने छन्। यस्तै दोश्रो पाँच वर्ष सामुदायीक भवन निर्माण, दृश्यावलोकन स्तम्भ निर्माण, मन्दीर निर्माण, संग्रहालय निर्माण तथा तेश्रो पाँच वर्षमा साहसिक पर्यटन प्रवद्र्धन, केवलकार निर्माण, पर्यवरण संरक्षण, सुन्दर पार्क निर्माण, सूचना केन्द्र स्थापना लगायतका कार्यक्रम गरिने डिपिआरमा उल्लेख छ। प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बराहपोखरीको डिपिआरमा बढि काल्पनिक झल्किएको भन्दै आलोचना गरेका छन्। ‘डिपिआरमा लागत मूल्या उल्लेख गरिएको छैन। कुन शिर्षकमा कति खर्च लाग्ने निश्चित गरिएको छैन,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘पिडिआरको थ्रिडिमा हरियाली देखाइएको छ। तर, बराहपोखरीमा त्यस्तो हरियाली छैन।’ प्रदेशसभा सदस्य उषाकला राईले परिणाम दिनेगरी डिपिआर तयार पारेर कार्यान्वयन गर्न सुझाव दिएकी छन्।

४.४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरी जोड्ने सडकको पहुँच बिस्तारसँगै आन्तरिक पर्यटक आउनेक्रम बढ्दो रहेको स्थानीयको भनाई छ। चारैतिहार पहाडले घेरिएको बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट पर्यटक एबं दर्शनार्थी आउने गरेका छन्। ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको पोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ। मुहान र निकास नदेखिने पोखरीमा प्रशस्त मात्रामा रातो माछा पाइने गरेको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App