५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतीय सहरमा ‘चलिए पोखरा’

पोखरा- पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या बढाउन ‘चलिए पोखरा’ अभियान सुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघले भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारीका साथ यो अभियान थालेको हो। अभियानले पोखरामा बढीभन्दा बढी भारतीय पर्यटक भित्रिने व्यावसायीको अपेक्षा छ।

व्यवसायीको यो अभियान सोमबारदेखि सुरु भएको हो। त्यसका लागि पोखरेली व्यवसायी भारतीय सहरतिर लागेका छन्। संघका अध्यक्ष विकल तुलाचनका अनुसार व्यवसायीले चार दिनसम्म भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्नेछन्। त्यस अवसरमा भारतीय पर्यटन व्यवसायीसँग व्यावसायिक भेटघाट (बिटुबी), अन्तरक्रियासहितका गतिविधि गर्नेछन्।

अहिले वर्षमा झन्डै दुई लाख भारतीय पर्यटक पोखरा आउने गरेको पर्यटन बोर्डको तथ्यांक छ। आगामी दिनमा यो संख्या अझै बढाउने भन्दै व्यवसायीले बर्सेनि भारतीय सहरमा प्रवद्र्धनात्मक गतिविधि चलाउने गरेका छन्।

तुलाचनका अनुसार अभियानअन्तर्गत भारतका पर्यटकीय सहर आग्रा, उत्तर प्रदेशको राजधानी लखनउ र विहार राज्यको पटनामा विविध कार्यक्रम हुनेछन्। ‘सीमा क्षेत्रबाट पोखरा आउने भारतीय पर्यटक बर्सेनि बढिरहेका छन्। तिनै सहरका व्यवसायीमार्फत त्यहाँका पर्यटकलाई लक्षित गरी हामीले प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेका हौं,’ तुलाचनले भने, ‘नेपालमा पाहुना पठाउने भारतीय व्यवसायीसँग प्रत्यक्ष भेटघाटले पोखरामा आगामी दिनमा भारतीयको आगमन बढाउने अपेक्षा छ।’ अहिलेको आगमन उकास्नका लागि प्रवद्र्धन नै भरपर्दाे माध्यम रहेको उनले बताए।

‘बोर्डर टाउन सेल्स मिसन’अन्तर्गत सञ्चालन हुने यो अभियानअन्तर्गत पत्रकार सम्मेलन, भारत र नेपालका पर्यटन व्यवसायीबीच द्विपक्षीय व्यापारिक भेटघाट, पर्यटनसम्बन्धी श्रव्यदृश्य प्रदर्शन तथा प्रचार सामग्रीको वितरण मुख्य रूपमा समेटिने तुलाचनले बताए। संघले पहिलोपटक सन् २०१२ मा ‘चलिए पोखरा’ अभियान सुरु गरेको थियो।

नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजारभन्दा बढी विदेशी पर्यटक हवाईमार्गमार्फत भित्रिएकोमा भारतीयको संख्या दुई लाख हाराहारीमा रहेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। हवाईमार्गबाहेक पोखरामा स्थलमार्गबाट पनि थुप्रै भारतीय पाहुना आउने गरेका छन्।

यो सिजनमा स्थलमार्गबाट आउने भारतीय पाहुनाको संख्या धेरै रहेको उनले बताए। ‘भारतीय सहर हाम्रा ठूलो पर्यटन बजार हो। सिमानामा पर्ने र यहाँ भ्रमणका लागि आउनसमेत नजिक र सहज हुने कारण तिनै क्षेत्रका सहरमा प्रवद्र्धन अभियान सञ्चालन गर्न लागिएको हो,’ तुलाचनले भने।

पोखरा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी वर्षायामको प्याकेज पनि बनाएको तुलाचनले बताए। उत्तर भारतीय सहरमा अहिले ४० डिग्रीमाथि तापक्रम रहँदा त्यहाँका बासिन्दाका लागि पोखरा र वरपरका स्थल गर्मी छल्ने उपयुक्त गन्तव्य हुने गरेको तुलाचनले बताए।

संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले तुरुन्तै परिणाम आउने सहरमा अहिले पोखराका व्यवसायीले प्रवद्र्धन गरेको बताए। ‘यतिबेला हामीले पोखराले तुरुन्तै परिणाम आउने खालका पाहुनालाई लक्षित गरेका छौं,’ पराजुलीले भने, ‘पछिल्लो समय भारतको उत्तरप्रदेश पनि आर्थिक रूपमा बलियो भएको सहर हो। त्यहाँका पाहुना आफ्नै गाडीमा पोखरासम्म आउने गरेका छन्। उनीहरूलाई आउन सहज पनि छ। त्यही भएर सीमा क्षेत्रका सहरमा हाम्रो प्रवद्र्धन हो।’

सिमानाका सहरका पाहुनालाई पोखरा आउन सहज भएकाले व्यवसायीले उनीहरूलाई लक्षित गरेको पराजुलीले बताए। ‘हाम्रा पाहुना मध्यम खालका हुन्,’ उनले भने, ‘अबको केही समयपछि भारतका ठूला सहरमा पनि प्रवद्र्धन अभियान चलाउनेछौं।’

प्रकाशित: १७ असार २०७६ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App