११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असारे विकास धमाधम

रौतहट – अधिकांश स्थानीय सरकारले बजेट कार्यान्वयन गरिसकेको भए पनि प्रदेश र संघ सरकारको बजेट भने असार अन्तिमतिर आएर धमाधम खर्च भइरहेको पाइएको छ। जिल्लाका अधिकांश स्थानीय प्रमुखले आफ्ना योजना तथा कार्यक्रम सम्पन्न भइसकेको र प्रदेश सरकारको बजेटको योजना भने धमाधम सम्पन्न भइरहेको प्रतिक्रिया स्थानीय तह प्रमुखले दिएका छन्।

दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण साहले आफ्नो गाउँपालिकाका वडामार्फत सञ्चालन हुनुपर्ने सबै योजना करिब सम्पन्न भइसकेको तर प्रदेश र केन्द्र सरकारले योजना ढिलो पठाएकाले काम धमाधम भइरहेको बताए। प्रदेश र संघ सरकारको योजनामा नाला निर्माण, सामुदायिक भवन निर्माण तथा बजारको सेड निर्माण धमाधम भइरहेको अध्यक्ष साहले स्वीकार गरे।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले नगरपालिकाको बजेटअन्तर्गतका योजना करिब सम्पन्न भइसकेको तर वडा नं ६, ७ र ९ मा केही काम बाँकी रहेकामा अन्तिम चरणमा पुगेको बताए। केही ठूला योजनामा राजनीतिक दलसित तालमेल नमिल्दा बाँकी रहन गएको र केही दिनमै सम्पन्न हुने उनको भनाइ छ।

परोहा नगरपालिका र यमुनामाई गाउँपालिकामा पनि कतिपय योजना युद्धस्तरमा भइरहेका छन्। आव समाप्त हुन लाग्दा केही योजनाको काम धमाधम भइरहेको परोहा र यमुनामाईका इन्जिनियर दीपेन्द्र यादवले बताए। वडाबाट सम्पन्न हुनुपर्ने सबै काम सम्पन्न भइसकेको तर टेन्डर प्रक्रियाबाट गएका केही योजना अन्तिम चरणमा पुगेको इन्जिनियर यादवको दाबी छ। सामुदायिक भवन तथा पिचको काम भइरहेको उनले बताए।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले नगरका सबै योजना सम्पन्न भइसकेको तर वडा नं १ मा प्राविधिक समस्याले काम अन्तिम चरणमा पुगेको बताए। नगरपालिकाले समयमै सम्पूर्ण बजेट खर्च गरेको बताउँदै उनले प्रदेश सरकारले ढिलो योजना पठाएकाले केही काम युद्धस्तरमा भइरहेको बताए।

जिल्लाभरि अहिले युद्धस्तरमा योजना सम्पन्न गर्ने काम भइरहेका छन्। असारको दोस्रो हप्ता बित्न लाग्दा पनि कामको चटारो देखिन्छ। आकाश दर्किरहेको समयमा पनि सडकको काम भइरहेको हुन्छ। जसरी तसरी काम सम्पन्न गर्ने हतारोले बजेट खाउ पचाउ कार्यक्रम भइरहेको आरोप नागरिक समाज रौतहटका सचिव विजय किशोर झाको रहेको छ।

अधिकांश स्थानीय सरकारले पुरानै मितिमा अहिले पनि धमाधम सम्झौता गरेर जसरी पनि बजेट पचाउने कार्यक्रम चलाएको आरोप सचिव झाको रहेको छ। असारे विकासको प्रवृत्ति पुरानै रहेकोले संघीय सरकार आउँदा पनि अलिकत्ति प्रवृत्तिमा परिवर्तन नआउनु दुर्भाग्य भएको झाको आरोप छ।

प्रकाशित: १७ असार २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App