१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चितवन दूधमा आत्मनिर्भर

चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्न आयोजित कार्यक्रममा सहभागी किसान।

चितवन - चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

जिल्लामा वार्षिक एक लाख पाँच हजार ६ सय मेट्रिक टन दूध उत्पादन हुने जानकारी दिँदै प्रदेश नम्बर ३ का भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले बुधबार दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेर प्रमाणपत्र प्रदान गरेका हुन्।जिल्लामा दैनिक दुई लाख ८९ हजार तीन सय ३९ लिटर दूध उत्पादन हुन्छ।यसमा भैंसी पालनबाट दैनिक ६५ हजार एक सय ८३ लिटर योगदान छ।उत्पादन हुने दूधमध्ये एक लाख ५६ हजार ७४ लिटर  दैनिक रुपमा चितवनमा खपत हुने गरेको छ।

चितवनका करिब ६ लाख २५ हजार जनसंख्याले यहाँ उत्पादन हुने दूधमध्ये ५७ प्रतिशत खपत जिल्लामै भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले जानकारी दिए।केही वर्षयता जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्ने प्रयास गरिएको थियो।घोषणा गर्नुअघि जिल्लाका किसानसँग सहकार्य गरेर आत्मनिर्भर छ कि छैन भनेर दुई महिनाको अवधिमा अध्ययन गरिएको उनले बताए।जिल्लामा एक सय ३८ वटा दुग्ध उत्पादक सहकारी दर्ता भएकामा एक सय चारवटा सक्रिय छन्।

जिल्लामा किसानले अहिले ३८ हजार आठ सय ३१ वटा उन्नत र १० हजार पाँच सय १६ वटा स्थानीय जातका गरी ३८ हजार आठ सय आठ सय ३१ वटा गाई पालेका छन्।१० हजार तीन सय ७९ वटा स्थानीय र आठ हजार आठ सय ८५ वटा उन्नत जातका गरी १९ हजार दुई सय ६४ वटा भैंसी किसानले पालेका छन्।चितवनका सबै स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा दैनिक ९९ हजार ८० लिटर दूध उत्पादन हुन्छ।खैरहनीमा ५४ हजार पाँच सय ७६, रत्ननगरमा ४५ हजार चार सय ११, राप्तीमा ४३ हजार चार सय ७९, कालिकामा २८ हजार तीन सय ३२, माडीमा १२ हजार नौ सय २३ र इच्छाकामनामा पाँच हजार एक सय ३८ लिटर दूध दैनिक उत्पादन भइरहेको तथ्यांक अध्ययनका क्रममा पाइएको श्रेष्ठले जानकारी दिए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कार्यविधि अनुसार जिल्लाको आवश्यकता र खपतभन्दा बढी दूध उत्पादन भएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको उनले बताए।एक व्यक्तिलाई वर्षमा ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले जिल्लामा एक व्यक्ति बराबर एक सय ७० लिटर उत्पादन भइरहेको छ।यहाँ उत्पादन हुने दूधमध्ये ४७ प्रतिशत बाहिरी जिल्लामा निर्यात हुने गरेको छ।‘उत्पादन भएर सहकारीमा नजाने दूधको तथ्यांक पनि यसपटकको अध्ययनमा समावेश गरिएको छ,’ उनले भने, ‘५३ प्रतिशत यहीँ खपत हुन्छ, बाँकी ४७ प्रतिशत दूध काठमाडौं, पोखरा लगायत जिल्लामा पठाउने गरिएको छ ।’

दूधमा आत्मनिर्भर घोषणा गर्नु कृषकले गरेको मेहनतको कदर भएको उनले बताए।किसानले गरेको मेहनतले जिल्लावासीको माग पूरा गरेर बाहिर निर्यात गर्न सफल भएकाले उत्पादकलाई दिइएको सम्मान भएको उनी बताउँछन्।तथ्यांक अनुसार जिल्ला आत्मनिर्भर भए पनि देशको माग हेर्ने हो भने अझै उत्पादन बढाउनुपर्ने उनले बताए।बुधबार जिल्लाका ७४ वटा सहकारीलाई ९० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ।वितरण गरिएको अनुदान एक लिटर दूधमा ५१ पैसाका दरले सहकारीमार्फत कृषककहाँ पुग्छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App