१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पार्क निर्माण सम्झौता

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा १४ करोड लागतमा एलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भएको छ। डिपिआर तयार पारिएको केही समयपछि पार्क निर्माण गर्न नगरपालिका र प्रदेश १ बीच सम्झौता भएको हो।

कुल लागतको ७० प्रतिशत रकम प्रदेश सरकारले र ३० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने सर्तमा सम्झौता भएको नगरपालिकाकी उपमेयर बिणादेवी राईले बताइन्। ‘करिब १४ करोड लागतमा एलम्बर पार्क निर्माण हुन लागेको हो,’ उपमेयर राईले भनिन्, ‘कुल बजेटको ७० प्रतिशत अर्थात करिब १० करोड प्रदेशले उपलब्ध गराउने सम्झौतामा छ।’

आधुनिक पार्क निर्माणका लागि डिपिआर तयार भएसँगै नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन गरेको ७२ लाख बजेटबाट पार्कका प्राथमिक चरणका काम सुरु भइसकेको छ। स्थानीय पर्यटन प्रवद्र्धनका लागि बुईपाको ३० रोपनीभन्दा बढि सरकारी जग्गामा किराती समुदायका प्रथम राजा एलम्बरको सय फिट अग्लो प्रतिमा राख्नेगरी पार्क निर्माण अघि बढाइएको हो।

टिकट काटेर प्रवेश गर्न सकिने एलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, बिश्राम गर्ने फलामे कुर्सी, फ्री–वाईफाई, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवा सुबिधा र संरचना निर्माण गरिने वडाध्यक्ष दिनेश राईले बताए। करिब तीन वर्षभित्र चोभारको मञ्जुश्री पार्क शैलीमा एलम्बर पार्क निर्माण गरिने जनाइएको छ। ‘तीस रोपनीभन्दा बढि क्षेत्रफल ओगट्ने एलम्बर पार्कमा आधुनिक पार्कमा हुने सबै संरचना निर्माण गर्ने छौँ,’ वडाध्यक्ष राईले भने, ‘पार्कको बीचमा एलम्बरको बिशाल शालिक राख्ने तयारी गरेका छौँ।’ किरात समुदायको ऐतिहासिकतालाई संरक्षण गर्दै गाउँको पर्यटन प्रवद्र्धनका लागि एलम्बर पार्क निर्माणको अवधारणा अघि सारिएको हो। बुईपामा निर्माण गरिने एलम्बरको शालिक हालसम्म बनेका एलम्बरको शालिकमध्येकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App