१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

नरेश गेलाल(बायाँ) र सरोज पोखरेल

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजिनामा दिएका छन्। मलेसिया रोजगारीमा कुनै सिण्डिकेट हुन् नदिने बताउँदै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार रोजगारीका नाममा कतार भिसा सेन्टर खोल्न मौन सहमति दिएपछि असन्तुष्टि जनाउँदै राजिनामा दिएको बुझिएको छ।

संघ कार्यसमितिका एक पदाधिकारीले  गेलालले राजिनामा दिएको पत्र संघमा प्राप्त भएको बताए पनि गेलाल आफैंले एक दुई दिनमै पत्रकार सम्मेलन गरेर राजिनामाको कारण खुलाउने योजना बनाएका छन्। 

पोखरेललाई अध्यक्ष बनाउने खेल 
संघको विधान अनुसार अहिलेको नेतृत्वले आगामी असार भित्रै निर्वाचन गरेर नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने छ। तर २ वर्षे कार्याकालमा वर्तमान नेतृत्वले व्यवसाय र व्यवसायीका निम्ति कुनै काम गर्न नसकेको बरु व्यवसाय नै धारापमा पारेको आरोप लाग्दै आएको पृष्ठभुमिमा निर्वाचनको डेढ महिना अघि राजिनामा दिएर व्यवसायी माझ जानु व्यवसायीको सहानुभूति पाउने आधार बनाउन राजिनामाको बाटो रोजिएको एकथरि व्यवसायीको भनाइ छ।

महाचिव गेलालले सिन्डिकेट बिरुद्द लड्दा लड्दै सरकार पुनः सिन्डिकेटकै पक्षमा उभिएकाले राजिनामा दिएको बताए पनि राजिनामाको भित्रि रहस्य भने बेग्लै छ। अघिल्लो निर्वाचनकै बेला वर्तमान अध्यक्ष रोहन गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउनु अघि तत्कालिन नेकपा एमाले निकट व्यवासायीबीच भद्र सहमति भएको थियो। अध्यक्षका आकांक्षीका रुपमा एमाले निकट अर्का व्यवसायी सरोज पोखरेल पनि थिए। पोखरेल आफैंमा एक बलियो दावेदार भए पनि उनलाई अध्यक्ष बन्न भने संघको विधानले रोक्यो।

संघको विधानमा अध्यक्षको उम्मेदवार बन्न कार्यसमितिको मुख्य पद(सचिव,कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष) मा एक कार्यकाल रहेको हुनु पर्ने व्यवस्था छ। तर पोखरेल त्यसअघि कुनै पदमा थिएनन्। उनलाई यो पल्ट गुरुङको चुनाव प्रचार-प्रसार समितिको संयोजक बनाउने र आगामी निर्वाचन अघि कार्यसमितिमा मनोनयन गरेर अध्यक्षको रुपमा अघिसार्ने सहमति भयो।

पोखरेललाई कार्यसमितिमा मनोनित गरेर आगामी चुनावका लागि अध्यक्षको उम्मेदवार बनाउने बाटो हेरिरहेका एमाले निकट व्यवसायीहरु वर्तमान कार्यसमितिमा रहेका व्यवसायीलाई राजिनामा दिन लगाएर पोखरेललाई संघमा भित्र्याउने प्रयत्नमा जुटेका भए पनि वैदेशिक रोजगारको पछिल्लो परिस्थितिले त्यसो गर्न सकिरहेका थिएनन्। संघको नेतृत्वमा तत्कालिन एमाले निकट व्यवसायी छन्। तर आफनै पार्टीको श्रममन्त्री भए पनि व्यवसायीका समस्या सम्बोधन गर्न संघ नेतृत्वले काम गर्न नसकेको आरोप एकातिर थियो।

अर्कोतिर एक वर्ष सम्म मलेसिया रोजगारी खुलाउन वर्तमान नेतृत्वले गरेका प्रयत्न सिन्डिकेटकै विषयमा गएर टुंगिदै आएका थिए। यही परिस्थितिमा कतार भिसा सेन्टर स्थापना भयो। सिन्डिकेटको विपक्षमा आफुलाई देखाउँदै आएको वर्तमान नेतृत्वलाई कतार भिसा सेन्टर स्थापान व्यवसायीको घेरावन्दीमा पर्ने बाटो बन्यो। 

 व्यवसायीको घेरावन्दीबाट बच्न र सँगै  राजिनामा दिएर पोखरेललाई संघमा भित्र्याएर आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार बनाउन गेलालले राजिनामा दिएको एमाले निकट एक व्यवसायीले बताए। तर गेलाल भने सिन्डिकेटका पक्षमा लड्दा-लड्दै श्रम मन्त्रालयले अर्को सिन्डिकेट जन्मिन मौन सहमति दिएकाले राजिनामा दिएको बताउँछन्।

प्रकाशित: १५ जेष्ठ २०७६ १७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App