१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

खनिज र पेट्रोल उत्खनन गरेर छोटो समयमै चमत्कारिक विकास गर्छाैंः प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्रोत परिचालन गरेर छोटो समयमै चामत्कारिक विकास गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै प्रम ओलीले आवश्यक परे खनिज र पेट्राल उत्खनन गरेरै भए पनि समृद्धिको अभियान साकार पारिने बताए। नेपालले विद्युतीय सवारीको फ्याक्ट्री खोल्ने भन्दा धेरैले उडाएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘हामीभन्दा सानो देशले फ्याक्ट्री खोल्न हुने, हामीले किन नखोल्ने?’

समृद्धि सरकारको पहिलो शर्त भएको र यसको लागि स्रोत परिचालन गरिने बताउँदै उनले समृद्धिसहितको सुशासनयुक्त देश बनाउन चाहेको स्पष्ट पारे। निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको भन्दै ओलीले उद्योग र उन्नतिका क्षेत्रमा ५५ प्रतिशत सहभागी हुनुपर्ने धारणा राखे। ‘पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्न सरकार तयार छ। यसका लागि कहाँ के गर्नुपर्छ भन्नुस्’, ओलीले भने। 

विकास र लगानीको वातावरण बनाउन सरकारले संगठित परिचालन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले मिलेर विकास गर्नुपर्ने बताए। संघीयता कार्यान्वयनका सन्दर्भमा कतिपय ठाउँमा करको विवाद देखिएको भन्दै त्यसलाई समाधान गरिने उनको भनाई थियो। 

उनले उद्योगीलाई विद्युतीय सवारी कम्पनी खोल्न आग्रह गर्दै सरकारले सहयोग गर्ने स्पष्ट पारे। नयाँ सोचका साथ कोशीमा स्टिमर, पानी जहाजको परियोजना अघि सारिएको बताउँदै ओलीले हरेक क्षेत्रमा परिवर्तन ल्याउने दाबी गरे। नागरिकको आधारभूत आवश्यकताको ग्यारेन्टी गरेरै समृद्धि ल्याउने योजना सुनाएका ओलीले भने, ‘जनताको आधारभूत आवश्यक पूरा भएपछि धनी र गरिबबीचको खाडल ठूलो कुरा होइन। गरिबी ठूलो कुरा हो। गरिबी र भोकमरीले कोही मर्दैन।’

देश नीति परिवर्तनमात्र नभई मुहार परिवर्तनको विन्दुमा पुगेको बताउँदै उनले वर्ष २०७५ ले विकासका गतिविधि अघि बढाउन कानुनी, संस्थागत र संरचनागत ढोका खुला गरेको जिकिर गरे। 

कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई नसमेटिएको गुनासो गरेकी थिइन। 

प्रकाशित: २८ चैत्र २०७५ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App