१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कतै बजेटै छैन, कतै सदुपयोग छैन

सिरह - निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन। सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला। छोरी ममता पाललाई सुत्केरी गराउन रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान आएकी सप्तरी बोदेबरसाइनकी सीतादेवीले एक घन्टामै २५ सय रुपैयाँ खर्च गर्नुपर्‍यो। भिडियो एक्सरेलगायतका परीक्षण र औषधि खरिद गरेबापत उनको खर्च बढ्दै गयो।

सुत्केरी गराउन अस्पताल पुग्ने महिलालाई सुरुमै भिडियो एक्सरे लेखिदिन्छन् चिकित्सक। तर, यो सेवा अस्पतालमा उपलब्ध छैन। अनि महिला पुग्छन् अस्पताल नजिककै श्रेया पोलिक्लिनिकमा। त्यहाँ एक्सरे, भिडियो एक्सरेलगायत सेवा उपलब्ध छ। यो पोलिक्लिनिक अस्पतालकै मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुशवाहाको हो। यहाँ पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टरमा पुग्नुपर्छ। कुशवाहाको स्वामित्व रहेको श्रेया पोलिक्लिनिकमा यी सबै जाँचलगायतका सुविधा छ। अधिकांश महिलालाई जाँचका लागि त्यहीं पठाइन्छ। त्यहाँ बिरामीले चर्को रकम खर्चिनुपर्ने बाध्यता छ। पालका अनुसार सुत्केरी गराउनका लागि चाहिने स्लाइन पानीदेखि औषधि सबै अस्पतालबाहिरकै निजी पसलबाट किन्नुपरेको छ। अस्पतालमा भर्ना भएको एकदुई घन्टामै भिडियो एक्सरे, ल्याब परीक्षण र औषधि गरी तीनचार हजार खर्च भएको उनले सीतादेवीले बताइन्। ‘अस्पतालको बेड र डाक्टर जाँचबाहेक सबै सेवामा रुपैयाँ खर्चिनुपर्दोरहेछ’, उनले भनिन्, ‘प्रसूति महिलालाई सरकारले दिँदै आएको न्यानो झोला (बच्चा र आमाका लागि लुगा) र यातायात खर्चसमेत अस्पतालले दिएन।’

सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत एक हजार उपलब्ध गराउँदै आएको छ। तर, यो अस्पताल मात्र नभई जिल्लाका सबै सरकारी अस्पताल र बर्थिङ सेन्टरमा उस्तै बेहाल छ। सुत्केरी गराउन आउने महिललाले बेड र पुर्जाबाहेकका सेवाका लागि रकम खर्चिनुपर्ने अवस्था छ। सुत्केरी गराउन चाहिने औषधि, ग्लोब्स, ग्याटगट सबै बाहिर पैसा तिरेर किन्नुपर्छ। सीतादेवी भन्छिन्,‘अब जिन्दगी त्यो अस्पताल फर्केर जान्नँ। ग्लोब्सदेखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुपर्‍यो। यति खर्चमा त बाहिरको गुणस्तरीय निजी अस्पतालमा सेवा पाइन्छ, किन आउने सरकारीमा ?’

उनले छोरीलाई सुत्केरी गराउँदा एम्बुलेन्स देखि औषधिउपचारमा १५ हजार खर्चिनुपरेको सुनाइन्। ‘सरकारी अस्पताल यति महँगो हुन्छ भन्ने पत्तै थिएन,’ सीतादेवी भन्छिन्, ‘सस्तो र गुणस्तरीय सेवा पाइन्छ भनेर आएकी थिएँ, उल्टो भयो।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्टेन्ट डा. कुशवाहा भन्छन्, ‘भएजति सेवा दिएका छौं।’

नगरपालिकाका लेखा अधिकृत मायानाथ आचार्यले चालू आर्थिक वर्षको साउनदेखि नै ९ लाख रुपैयाँ अस्पताललाई निकासा दिइसकिएको बताए। जसमा ६ लाखको मात्र खर्च विवरण अस्पतालले पेस गरेको उनले बताए। बाँकी तीन लाखको खर्च विवरण अस्पतालले अझै नगरपालिकामा नबुझाएको उनले भने। यस वर्ष अहिलेसम्म आमा सुरक्षा कार्यक्रमका लागि यस अस्पतालको भागमा १४ लाख रुपैयाँ आएको आचार्यले बताए। गत वर्ष आमा सुरक्षा कार्यक्रमका लागि नगरपालिकाले अस्पताललाई करिब ७५ लाख रुपैयाँ निकासा दिएको थियो। तर, अस्पतालका मेसु कुशवाहाले गत वर्षको यातायात सुविधा अझै पनि सुत्केरी महिलालाई भुक्तानी दिन बाँकी रहेको बताए।

स्वास्थ्य संस्थाहरूको आर्थिक कारोबार स्थानीय तहमा आएदेखि स्वास्थ्य संस्थामा बेथिति अझ बढेको छ। यस बेथितिलाई सामाधान गर्न स्थानीय तहका पादाधिकारी चासो लिएको पाइँदैन। सुत्केरी गराउन जिल्ला अस्पताल, सिरहामा लगभग मान्छे जानै छोडेका छन्। कोही गइहाले पनि निःशुल्क भनिएको प्रसूति सेवा निजी अस्पतालमा जत्तिकै चर्को र महँगो पर्छ। साउन महिनादेखि यहाँ औषधि अभाव छ। बजेट नहुँदा आमा सुरक्षा कार्यक्रम प्रभावित छ। निःशुल्क गर्भपतन सेवा औषधि अभावका कारण प्रभावित छ।

‘औषधि नभएपछि बिरामीलाई कसरी उपचार गर्नु ?’ जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादव भन्छन्, ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अस्पताललाई दिन औषधि खर्च हामीसँग छैन भन्छन्। अब कसरी बिरामीको उपचार गर्नु ?’

प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी भन्छन्, ‘अस्पतालका लागि हामीसँग औषधि किन्ने बजेट छैन, मलाई थाहा भएन। आमा सुरक्षा कार्यक्रमको निकासाका लागि अस्पतालले पहल गर्नुपर्छ, अनिमात्र केही गर्न सकिन्छ’, उनले भने।

प्रकाशित: ९ माघ २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App