१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानी ठेकेदारले छाडेपनि फरक पर्दैनः मन्त्री मगर

फाइल फाेटाे

काठमाडौं– खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई कुनै फरक नपर्ने बताएकी छन्। बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारले काम छाड्दा हुने आर्थिक क्षति उसले राखेको बैंक ज्ञारेन्टी रकमले सहजै भरथेग गर्ने बताएकी हुन्।

ठेकेदारले लाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन्। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)का प्रोजेक्ट म्यानेजरसहितका कर्मचारीले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडेर हिडेपछि आयोजना निर्माणमा अशंका उब्जिएको भन्दै अर्थसमितिले मन्त्रीलाई बोलाएको थियो।

  ‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ धरौटी रकम रोक्का गरिसकेका छौं,’ बैठकमा मन्त्री मगरले भनिन्, ‘सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन।१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरिन। आयोजना निर्माण सम्पन्न गर्ने समयसीमा ४६ दिनमात्र बाँकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए।

सिएमसीले भूकम्पलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साता अघि नै काम छाड्ने सूचना दिएको थियो। तर आयोजनाले समयमै सुनुवाई नगर्दा उनीहरु काम छाडर स्वदेश फर्कन खोजेका थिए।

तर सरोकारवाला खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापरवाही गरी काम छाडेको आरोप लगाएको छ। गत आईतबार म्यानेजर ग्रे सहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानीसमेत सरकारले जफत गरेको छ। 

मेलम्ची आयोजना वि.सं. २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। तर उक्त कम्पनीले काममा लापरवाही गरेपछि वि.सं. २०६९ आसोज ९ गते निमार्ण सम्झौता भंग भएको थियो।

खानेपानी मन्त्रालय अन्तरगतको मेलम्ची खानेपानी विकास समितिले सीएमसी कम्पनीसँग ३६ महिनाभित्र आयोजना सम्पन्न गर्नेगरी वि.सं. २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको थियो। सीएमसी कम्पनीसँग ७ अर्ब ७२ करोड ३४ लाख ७१ हाजार ३ सय ४२ रुपैयाँमा सम्झौता भएको थियो। आयोजना ९० प्रतिशत भन्दाबढी निर्माण कार्य सम्पन्न भएको छ।

प्रकाशित: ५ पुस २०७५ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App