४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेशलाई पर्यटकीय नाममा ‘ब्रान्डिङ’ गरिँदै

पोखरा - प्रादेशिक संरचनाअनुसार सबै प्रदेशलाई पर्यटन क्षेत्रमा छुट्टै ‘ब्रान्ड’ले पहिचान दिलाउने तयारी गरिएको छ। प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘ब्रान्डिङ’ आवश्यक भएको सरोकारवालाको भनाइ छ। अहिलेसम्म प्रदेशलाई पर्यटनको नामले चिनाउने कुनै विशेष ‘प्रडक्ट’ वा ‘ब्रान्ड’ छैन।

अहिलेसम्म फरक नाममा पर्यटकीय सहर र गन्तव्यको पहिचान हुँदै आए पनि अब प्रदेशलाई नै चिनाउने गरी ब्रान्डिङको तयारी भएको हो। गण्डकी प्रदेशलाई कुन ब्रान्डमा पहिचान दिलाउने भन्नेमा पर्यटन बोर्डसहितका निकायले मंगलबार यहाँका सरोकारवालासँग छलफल चलाएको छ। छलफलमा पर्यटन व्यवसायीले गण्डकी प्रदेशलाई अहिले भन्दा भिन्न रूपमा ब्रान्डिङ गर्न सके त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।

पहिलो चरणमा गण्डकी प्रदेशबाट पर्यटकीय ब्रान्डिङबारे छलफल सुरु भएको छ। नामकरण भएका प्रदेशलाई अब पर्यटकीय दृष्टिले छुट्टै नाममा ब्रान्डिङ गर्ने तयारी भएको पर्यटन बोर्ड पोखराका म्यानेजर सूर्य थपलियाले बताए। ‘समग्र मुलुकलाई नै ब्रान्डिङ गर्ने चलन हुन्छ। त्यसबाहेक प्रादेशिक संरचना अनुुसार प्रदेशलाई पनि भिन्दाभिन्दै नाममा ब्रान्डिङ गर्न सकिन्छ,’ थपलियाले भने, ‘ब्रान्डिङले प्रदेशको पहिचान विश्व पर्यटनमाझ चिनाउनेछ।’

अहिले गण्डकी प्रदेशलाई ब्रान्डिङ गर्ने एउटै विशेष नाम छैन। साहसिक, प्राकृतिक, पदयात्राको गन्तव्य, ऐतिहासिक तालतलैया, प्राकृतिक स्रोतसाधन, सम्पदा लगायतका विभिन्न नाममा अहिलेसम्म यो प्रदेश चिनिने गरेको छ। ‘गण्डकी प्रदेशलाई एउटै नाममा ब्रान्डिङ गर्ने प्रयास हो,’ थपलियाले भने, ‘यसले पर्यटनमा सकारात्मक प्रभाव पार्छ।’ फरक प्रदेशले पर्यटन क्षेत्रमा विशेष नाम राख्दा त्यसले प्रादेशिक प्रतिस्पर्धा पनि बढाउने उनीहरूको भनाइ छ।

बोर्डका पोखरा प्रमुख मणि लामिछानेले गण्डकी प्रदेशलाई चिनाउने अभियान थालेको बताए। पर्यटनको कुनै गन्तव्यलाई एकपटक ब्रान्डिङ गरेपछि १० वर्षसम्म परिवर्तन नगर्ने चलन छ। आवश्यक ठानेमा दशकपछि मात्र नाम र नारा परिवर्तन गर्न सकिन्छ। नेपाललाई दशकदेखि ‘नेचुरल्ली नेपाल, वन्स इज नट इनफ’ को नाममा ब्रान्डिङ गरिएको छ। दशकअघि यो नाममा सिंगो नेपालको ब्रान्डिङ भएको थियो।

‘सिंगो नेपालको झल्को दिने गरी ब्रान्डिङ भएको छ। अब गण्डकी प्रदेशलाई पर्यटनको दृष्टिले एउटा नाम वा नारामा पहिचान दिलाउने प्रयास गरिँदैछ,’ लामिछानेले भने, ‘यसले पर्यटनमा ठूलो महत्व राख्छ।’ पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्दा पर्यटनमा लाभ लिन सकिने उनले बताए। त्यसबाहेक फरकफरक प्रदेशले फरक नाम र नारामा ब्रान्डिङ गर्दा प्रदेशबीच पनि प्रतिस्पर्धा हुने उनले बताए। प्रदेशभित्रका पर्यटकीय प्रडक्ट बेच्न र प्रदेशलाई चिनाउन पनि यसले सघाउने उनले बताए। ‘प्रदेशले बढीभन्दा बढी पर्यटक भिœयाउनका लागि भिन्दाभिन्दै नाममा ब्रान्डिङ गर्न सक्छन्। अहिलेसम्म यो अभ्यास भएको छैन,’ लामिछानेले भने, ‘तर, अब सबै प्रदेशलाई पर्यटनको दृष्टिले पहिचान दिलाइनेछ।’

अहिले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय ब्रान्डमा चिनाउने नाम नै छैन। पर्यटनको राजधानी पोखरा भनिए पनि सिंगो प्रदेशलाई पर्यटनको दृष्टिकोणले चिनाउने नाम अहिलेसम्म छैन। यो अभियानले प्रदेशलाई पर्यटकीय नाममा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनेछ। नामकरण नभएका अरु प्रदेशले प्रदेशकै नामकरण नगरेसम्म पहिचान दिलाउने गरी तत्काल ब्रान्डिङ गर्न भने सक्ने छैनन्। त्यसले गर्दा प्रदेश नामकरण गरेका तीनवटा प्रदेशले तत्काल पर्यटकीय ब्रान्डमा आफूलाई चिनाउन पाउनेछन्।

प्रदेशलाई ब्रान्डिङ गर्न पहिलोपटक पर्यटन व्यवसायीसँग छलफल भएको छ। गण्डकीलाई कसरी बढी चिनाउन सकिन्छ भनेर ३० वटा नाम र नाराबारे छलफल भएको लामिछानेले बताए। ‘यो सुरुवात मात्र हो। अहिले नै कुनै विशेष ब्रान्ड पहिचान भएको होइन,’ उनले भने। प्रदेशभित्रका सबैलाई समेट्ने प्रयास हुने उनले बताए। पहिलो चरणमा छलफल गरेपछि मात्र नामकरण हुने उनले बताए।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने गरी ब्रान्डिङ गर्न जरुरी रहेको बताए। ‘अबको समय प्रतिस्पर्धाको हो, त्यसैले सबै प्रदेशले आफूलाई अब्बल साबित गर्न त्यही अनुरूप ब्रान्डिङ गर्नुपर्नेछ,’ जोशीले भने।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनमा प्रतिस्पर्धाका लागि ब्रान्डिङ चाहिएको बताए। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि प्रदेशको पर्यटकीय ब्रान्डिङ जरुरी रहेको उनले बताए। ‘सरकार लक्ष्य पूरा गर्नका लागि प्रवद्र्धनमा लागिरहेको छ। अब प्रदेशले पनि ब्रान्डिङ गरेर प्रवद्र्धनमा जोड दिनुपर्छ,’ अधिकारीले भने।
पर्यटन व्यवसायीले पनि प्रदेशको ब्रान्डिङ जरुरी रहेको बताए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक, वातावरणीय, साहसिक हिसाबले उच्च रहेकोले मिल्दो नाममा ब्रान्डिङ गर्न जरुरी रहेको बताए। ‘गण्डकी प्रदेश साहसिक गन्तव्यको रूपमा अझ बढी परिचित छ,’ उनले भने, ‘साहसिक नाममा जोडेर ब्रान्डिङ गर्न सकियो भने पर्यटक आगमन बढाउन सकिन्छ।’

प्रकाशित: २७ मंसिर २०७५ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App