२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पाकिस्तान दूतावासले संयोजन गरेको कार्यक्रममा सरकारी अधिकारी गएनन्

काठमाडौं– मित्रराष्ट्र पाकिस्तान दूतावासले संयोजन गरेको एक कार्यक्रमलाई सरकारी अधिकारीहरुले उपेक्षा गरेका छन्। प्रसंग हो पाकिस्तानको राहुलपिण्डी चेम्बर अफ कमर्सद्वारा बुधबार त्रिपुरेश्वरमा आयोजित ‘९ औं मेड इन पाकिस्तान सार्क एडिसन प्रदर्शनी’। यो प्रदर्शनीलाई महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासले संयोजन गरेको थियो। प्रदर्शनीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई निमन्त्रणा गरियो। उनले आफू व्यस्त रहेको भन्दै वाणिज्य सचिव चन्द्र घिमिरेलाई पठाउने जानकारी राजदूतावासलाई दिए।

मन्त्री यादवको आश्वासनअनुसार आयोजकले सचिव घिमिरेलाई प्रदर्शनी उद्घाटन समारोहको प्रमुख अतिथि बनाउने निर्णय गर्‍यो। तर, कार्यक्रमको सम्पूर्ण तयारी भइसक्दा विरामी परेको भन्दै सचिव घिमिरे पनि उपस्थित भएनन्। उनी नआउँदा कार्यक्रम निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भयो, नेपाल पाकिस्तान मैत्री संघका अध्यक्ष हिमालय शम्शेर राणाको प्रमुख आतिथ्यतामा। वर्षेनी आयोजना हुँदै आएको प्रदर्शनीमा यसवर्ष नेपाल सरकारका तर्फबाट कुनै पनि प्रतिनिधी औपचारिक रुपमा सहभागी भएनन्। गत वर्ष तत्कालिन वाणिज्य मन्त्री सुनील थापा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए। पाकिस्तानी राजदूतावासका एक अधिकारीले भने, ‘हामीले मन्त्रीज्यूलाई बोलायौं, उहाँले व्यस्त छु, सचिव पठाउँछु भन्नुभयो। हामीले त्यही अनुसार तयारी गर्‍यौं। अन्तिममा सचिवज्यू पनि विरामी छु भन्दै आउनुभएन।’

गत फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले पाकिस्तानका तत्कालिन प्रधानमन्त्री साहिद खकान अब्बासीलाई फागुन २१ गते नेपाल भ्रमण गराएका थिए।

मंगलबार मात्रै महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारतीय राजदूतावासले आयोजना गरेका कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल नै उपस्थित भएका थिए। भारत आयोजक भएको अन्य सामान्य कार्यक्रममा समेत मन्त्री तथा उच्च पदस्थ अधिकारी उपस्थित हुने गर्छन्।

द्विपक्षीय व्यापारले सम्बन्ध घनिष्ठ

‘९ औं मेड इन पाकिस्तान सार्क एडिसन प्रदर्शनी’ को उद्घाटन समारोहमा बोल्दै  पाकिस्तानी राजदूत मजहर जावेदले द्विपक्षीय व्यापारले नेपाल र पाकिस्तानका नागरिकबीचको सम्बन्ध घनिष्ठ बनाउने विश्वास व्यक्त गरे।

भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको उनको भनाई छ।

नेपाल पाकिस्तान मैत्री संघका अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताए।

असोज २३ गतेसम्म सञ्चालन हुने मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा पाइने राहुलपिण्डी चेम्बर अफ कमर्सका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App