१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

काठमाडौं - नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको  ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घन्टासम्म त्यहीँ रोकिएको थियो।

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न ‘भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमतिपत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घन्टामात्र रोकिएर साँझ ६ बजे काठमाडौं अवतरण गरेको’ जनाएको थियो।

सानो भन्दै ठूलो पठाउँदा दिल्लीमा निगम जहाज ६ घन्टा अलपत्र  

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घन्टा रोकिएको जानकारी दिए। ‘यताबाट सुरुमा १ सय ९० सिट क्षमतायुक्त बोइङ ७५७–२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो,’ उनले भने, ‘तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०–२०० सिरिजको वाइड बडी गयो।’

सम्बद्ध अर्का एक अधिकारीका अनुसार बुधबार बिहान ८ बजे उड्नुपर्ने उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्राफिक जाम’ भएका कारण साढे ४ घन्टा रोकिएर मध्याह्न १२ः३० बजे दिल्ली उडेको थियो । एक घन्टा उडेपछि दिल्ली अवतरण गरेको थियो । त्यसपछि २ः४० बजे त्यहाँबाट काठमाडौं उडान भर्न तयारी अवस्थामा थियो।

जहाज ‘रिलिज’ गर्न निगमले ठेक्का लगाएको एक भारतीय कम्पनीबाट दिल्ली विमानस्थलमा बोइङ जहाजका इन्जिनियर उपस्थित थिए । तर, निगमले दिएको अग्रिम खबरअनुसार बोइङ ७५७ आउने भनेपछि उक्त कम्पनीले बोइङकै इन्जिनियर खटाएको थियो । जब जहाजको उडान अनुमतिपत्रमा हस्ताक्षर गर्ने बेलामा थाहा भयो, बोइङको सट्टा एयरबस ३३० आएको थाहा पाएपछि ती इन्जिनियरले हस्ताक्षर गर्न मिलेन । जसका कारण एयरबस ३३० का इन्जिनियर खोजेर ल्याउन ६ घन्टा लागेको थियो । उक्त कम्पनीले भारतकै अर्को सहर गोवाबाट ती इन्जिनियर दिल्ली मगाएर हस्ताक्षर गरेपछि जहाज राति साढे ८ बजे काठमाडौंतर्फ उडेको थियो।

अचम्म के भयो भने निगमको ए३३० जहाजमा उताबाट फर्कन लागेका १ सय ७९ यात्रु सिट बेल्ट बाँधेर ६ घन्टासम्म जहाजभित्रै बस्न बाध्य भएका थिए । त्यति लामो समय जहाजभित्रै बसिरहेका यात्रुलाई चालकदलले केही समयमै जहाज उड्छ, नआत्तिकन आ–आफ्नो सिटमा बस्न अनुरोध गरेको ग-यै थिए।

कलसाइन ‘९एन–एएलवाई’ भएको निगमको उक्त जहाज काठमाडौंबाट जाँदा १ सय ८० यात्रु थिए । निगम व्यवस्थापनले एयरबस ३३० का आफ्ना कोपाइलटलाई क्याप्टेनमा ‘क्लियर’ गराउन दिल्ली उडान गरेको जनाएको थियो । तर, यात्रु चाप हेर्दा १ सय ९० सिटकै बोइङ ७५७ पठाउँदा हुनेमा कसको लापरबाहीका कारण २ सय ७४ सिटे वाइड बडी पठाइयो भन्ने अझै खुल्न सकेको छैन।

‘हामीले १ सय ९० सिटे बोइङ जहाज दिल्ली पठाउने तालिका बनाएका थियौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘तर, जाने बेलामा कसरी २ सय ७४ सिटे एयरबस ३३० गयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं।’

हेर्दा सामान्य लागे पनि निगम व्यवस्थापनको चरम लापरबाही र हेल्चेक्र्याइँको यो एउटा गतिलो उदाहरण भएको निगमकै एक वरिष्ठ क्याप्टेनले बताए । ‘हामी यस्तै लापरबाही गर्छौं अनि त्यसलाई ढाकछोप गर्दै हिँड्छौं,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘सही जानकारी दिएर केही बिग्रिँदैन, सुधार गर्दै जान सजिलो हुन्छ तर, ढाकछोप गर्नु भनेको निगमको प्रतिष्ठामा आँच पु-याउँदै जानु हो।’

निगमले दिल्ली विमानस्थलमा आफ्ना जहाजका ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न तथा  उडान अनुमतिमा हस्ताक्षर गर्ने लगायत अन्य प्राविधिक सहायताका लागि भारतकै छुट्टाछुट्टै निजी कम्पनीलाई जिम्मा दिएको छ । निगमले सार्वजनिक बोलपत्र आह्वान गर्दा सबैभन्दा सस्तो प्रस्ताव राखेको एक भारतीय कम्पनीले निगमका जहाज दिल्लीबाट ‘रिलिज’ गर्ने जिम्मा लिएको छ।

निगमले दिल्लीका लागि बिहान ८ बजेको उडान तालिका बनाएको छ । यो रुटमा १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाज उडाउँदै आएको निगमले बुधबार भने पहिलो पटक २ सय ७४ सिटे वाइड बडी जहाज लगेको थियो । नियमित उडान समय पर सारेर मध्याह्नसाढे १२ बजे ठूलो जहाज दिल्ली उडेको थियो।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसका प्रशिक्षक पाइलटको नेतृत्वमा गएको जहाजमा निगमका कोपाइलटहरू रमण घिमिरे र सजल कुइँकेल थिए । जाँदा एक र फर्कंदा अर्का कोपाइलटले जहाज उडाएका थिए । दिल्ली छोटो दुरीमा भए पनि आफ्ना को–पाइलटलाई क्याप्टेनमा ‘क्लियर’ गराउन निगमले पहिलो वाइड बडीलाई सकेसम्म धेरै उडान गराउने उद्देश्यले दिल्ली लगेको जनाएको छ।

निगमसँग एयरबसमा निर्मित दुईथान वाइड बडी जहाज छन् । तीमध्ये पहिलोले साउन १६ गते कतारको दोहाका लागि पहिलो व्यापारिक उडान गरेको थियो । दोस्रो वाइड बडी भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा उडान अनुमतिपत्र (एओसी) लिने प्रक्रियामा छ । दोस्रो वाइड बडीलाई प्राधिकरणले ‘९एन–एएलजेड’ कलसाइन दिएको छ भने निगमले ‘मकालु’ नाम दिएको छ । प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट छन् । निगमले पहिलो वाइड बडी गत असार १४ र दोस्रो साउन १० मा काठमाडौं ल्याएको थियो।

प्रकाशित: २५ श्रावण २०७५ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App