२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय भैरहवाको गोदाममा मल थन्क्याउँदै मजदुर । तस्बिर : रेखा/नागरिक

बुटवल - पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

भैरहवास्थित क्षेत्रीय कार्यालयले प्रदेश नं. ५, ६ र ७ मा अनुदानको मल आपूर्ति गर्दै आएको छ । जिल्लास्थित डिपो तथा अन्य क्षेत्रीय कार्यालयमा माग अनुरुप जेठ दोस्रोखि भैरहवाबाट मल पठाइसकिएको र बाँकी स्थानमा सोमबारबाट वितरण सुरु गरिने कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार अहिले कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय भैरहवामा साढे ११ हजार मेट्रिक टन युरिया मौज्दात छ।

यसअघि डिएपीको सकिए पनि सोमबार बिहानसम्म साढे सात हजार मेट्रिक टन भारतबाट आउँदैछ । सोमबार बिहानसम्म कम्पनीको गोदाममा डिएपी आइसक्ने भएकाले मंगलबारबाट वितरण गरिने क्षेत्रीय प्रमुख कार्कीले बताए । ‘कम्पनीले यसअघि ल्याएको मल क्षेत्रीय तथा शाखा कार्यालयमा पठाइसकेका छौं । डिपोमार्फत धेरै किसानले मल लगिसकेका छन् । नपुगेको ठाँउमा पनि छिटै पु¥याउने छौं,’ कार्कीले भने । रोपाइँ छिटो हुने जिल्लामा जेठमै मल पठाइसकेको र ढिलो रोपाइँ हुने जिल्लामा थप मल मंगलबार पठाइने उनले बताए । गत वर्षको तुलनामा यो वर्ष मलको आयात केही बढेकाले अभाव नहुने कार्यालयले जनाएको छ ।

आयातमा करिब दुई साता ढिलाइ हुँदा केही जिल्लामा यसअघि डिएपीको अभाव देखिएको थियो । भारतको कोलकाताबाट सुनौली–बेलहिया नाका हुँदै कृषि सामग्री कम्पनीले साढे सात हजार र साल्ट ट्रेडिङले सात हजार टन डिएपी नेपाल भिœयाउँदै छन् ।

कृषि सामग्री कम्पनीले झन्डै ७० प्रतिशत र साल्ट ट्रेडिङले करिब ३० प्रतिशत अनुदानको मल वितरण गर्छन् । धानबालीकै लागि साउन दोस्रो सातासम्म नेपाल आइपुग्ने गरी साढे १२ हजार मेट्रिक टन युरिया पाइपलाइनमा रहेको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ ।अघिल्ला वर्षहरुमा अनुदानको मल अभाव हुँदा किसानहरुले महंगो मूल्य तिरेर भारतबाट कमसल मल ल्याउनु पर्ने बाध्यता थियो । यो वर्ष कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले धानबालीका लागि जेठ दोस्रो सातादेखि नै मल वितरण सुरु गरेको जनाएका हुन् ।

कम्पनीका अनुसार वर्षे बालीका लागि झन्डै ५० हजार मेट्रिक टन मल खपत हुन्छ । क्षेत्रीय प्रबन्धक कार्कीका अनुसार त्यसमध्ये आधाभन्दा धेरै मल सम्बन्धित डिपो र क्षेत्रीय कार्यालयमा पठाइसकिएको छ । आफनो कार्यालय अन्तर्गत मल वितरण हुने पश्चिम नेपालका तीनवटा प्रदेशमा मलको अभाव हुन नदिने उनले दाबी गरे । भैरहवास्थित क्षेत्रीय कार्यालयले प्रदेश न ५, ६ र ७ मा मलको आपूर्ति गर्छ । प्रदेशका विभिन्न जिल्लामा रहेका कम्पनीका क्षेत्रीय र शाखा कार्यालयले कृषि सहकारीलाई मल वितरण गर्छन् । कम्पनीको नेपालगञ्ज र धनगढीमा क्षेत्रीय कार्यालय छ ।

महेन्द्रनगर, गुलेरीया, सुर्खेत, डोटी, लमही, घोराही, तुलसीपुर, तौलीहवा, परासी, बहादुरगञ्ज, पाल्पा र स्याङ्जामा शाखा कार्यालय छन् । ती क्षेत्रीय र शाखा कार्यालमा भैरहवाबाटै मल आपूर्ति हुन्छ । रुपन्देही, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची जिल्लाका सहकारीलाई कम्पनीको क्षेत्रीय कार्यालय भैरहवाबाटै मल वितरण गरिन्छ । अन्य जिल्लाका किसानलाई सहकारीमार्फत सम्बन्धी जिल्लाको डिपोबाट मल उपलब्ध गराइन्छ । पछिल्लो समय काठमाडौं, धुलीखेल, गजुरी र त्रिसुली शाखामा पनि भैरहवाबाट मल आपूर्ति हुन्छ।

यो क्षेत्रमा वार्षिक सबा लाख टन मलको माग भए पनि कार्यालयले वार्षिक ८० हजार मेट्रिक टन हाराहारीमा आपूर्ति गर्दै आएको छ । समग्रमा माग अनुरुप आपूर्ति कम देखिए पनि अघिल्ला वर्षहरुमा जस्तो यो वर्ष मल अभाव भने नहुने कार्कीले बताए । देशको कुल माग सात लाख टन भए पनि सरकारले तीन लाख टनमा मात्रै अनुदान उपलब्ध गराएको कार्कीले बताए । तराइका जिल्लामा सामान्यतया जेठको दोस्रो वा तेस्रो सातासम्ममा किसानहरुले धानको ब्याड राखिसक्छन् ।

साउन पहिलो सातासम्म रोपाइँ सकिन्छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट आयात गरिने रासायनिक मल विरगन्ज र भैरहवा नाकाबाट नेपाल भित्रिन्छ । जिटुजीमार्फत भारतबाट आयात हुने मल भैरहवास्थित बेलहिया नाकाबाट भित्रन्छ भने ग्लोबल टेन्डरमार्फत चीन वा तेस्रो मुलुकबाट आयात हुने मल विरगन्ज स्थित रक्सौल नाका र सिर्सिया सुक्खा बन्दरगाहबाट भिœयाइन्छ । सरकारले उपलब्ध गराएको अनुदानमा युरिया ५० केजीको प्रतिबोरा सात सय, डिएपी ५० केजीको प्रतिबोरा दुई हजार एक सय ५० र पोटास एक हजार पाँच सय ५० रुपैयाँमा कम्पनीले वितरण गर्छ।


 

प्रकाशित: २० असार २०७५ ०१:२३ बुधबार

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने