१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

तस्विर साैजन्य : घनश्याम अाचार्य

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सवा ८ बजे अवतरण गरेको यो जहाजका लागि निगमले १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) तिरेको छ । पहिलो वाइड बडीका लागि २०७४ असार ३ गते पहिलो किस्ताबापत ८ अर्ब रुपैयाँ पठाएको निगमले गत मंगलबार (असार १२ गते) दोस्रो तथा अन्तिम किस्ताबापत तीन अर्ब ३१ करोड ८४ लाख रुपैयाँ (तीन करोड सात लाख २५ हजार नौ सय २५ अमेरिकी डलर) पठाएको थियो।

‘निगम इतिहासमै पहिलोपटक वाइड बडी जहाज ल्याएका छौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, ‘यो जहाजबाट सुरुमा तीन महिनाजति छोटो दुरी (सर्ट हल) र त्यसपछि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्नेछौं ।’

निगमको पहिलो वाइड बडीलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ । निगमले उक्त जहाजको नाम ‘अन्नपूर्ण’ राखेको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित दुई सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाज ल्याएको हो । यसमा १८ बिजनेस क्लास र दुई सय ५६ इकोनोमी क्लास सिट छन्।

 ११ अर्ब ३१ करोड रुपैयाँमा खरिद गरिएको २ सय ७४ सिटे ए३३०–२०० जहाजको पहिलो उडान गन्तव्य दुबई, यस्तै दोस्रो जहाज डेढ महिनापछि आउने

पहिलो वाइड बडी जहाज लिन निगमका महाप्रबन्धक कंसाकार, कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ, इन्जिनियरिङ डाइरेक्टर केबी थापा, एयर वर्दिनेस डाइरेक्टर प्रभाष कर्माचार्य, क्वालिटी एस्योरेन्स तथा फ्लाइट सेफ्टी डाइेक्टर विक्रम केसी, क्याप्टेनहरू महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजाल, उड्डयन प्राधिकरणका प्रतिनिधि लगायतको टोली फ्रान्स गएको थियो । फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट निगमको यो जहाजलाई हाइफ्लाई एक्सका पाइलटले उडाएर ल्याएका हुन् । त्यहाँबाट उडेको जहाज यहाँ आइपुग्न नौ घन्टा लागेको थियो ।

अमेरिकाको एएआर कर्पोरेसनले निगमलाई वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ । सोहीअनुसार पहिलो जहाज आएको हो । दोस्रो वाइड बडी डेढ महिनापछि आउने निगमले जनाएको छ ।निगमले न्युरोड विशालबजारस्थित हिमालयन बैंकमा रहेको आफ्नो डलर खाताबाट आयरल्यान्डको हाइफ्लाई एक्स नामको कम्पनीलाई गत मंगलबार तीन करोड सात लाख २५ हजार नौ सय २५ डलर पठाएको हो ।

निगमले पैसा पठाएको हाइफ्लाई त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । अहिले निगमले पठाएको रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको छ।

सरकारले २०७४ वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुई थान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो । त्यसपछि निगमले दुईथान वाइ बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट आधाआधा लिन ऋण सम्झौता गरेको थियो।

नयाँ वाइड बडीबाट दुई सातादेखि अधिकतम एक महिनाभित्र नियमित व्यापारिक उडान गर्ने निगमको योजना छ । ‘पहिलो वाइड बडीको पहिलो उडान युएईको दुबईका लागि गर्ने लगभग पक्का छ,’ महाप्रबन्धक कंसाकारले भने।

निगमका एक अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’को नाममा पहिलो किस्ताबापत आठ अर्ब रुपैयाँ पठाइएको थियो । हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए३३० खरिद अर्डर गरेको थियो।

निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख डलर (त्यसबेलाको २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्ने थियो । यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर परेको छ ।

निगमले २०७३ फागुन ४ मा दुइटा बडी किन्न एएआरलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको थियो । प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने एएआर कर्पोरेसनको प्रस्ताव निगम सञ्चालक समितिले २०७३ माघ २ गते अनुमोदन गरेको थियो । त्यसपछि माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा ‘जहाज नलिए प्रतिबद्धता रकम फिर्ता हुने’ उल्लेख छ ।

निगमलाई एयरबसमा उत्पादित दुई सय ५० देखि दुई सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान वाइड बडी जहाज बिक्री गर्न २०७३ कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दिने प्रस्ताव गरेको थियो।

उसले ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको थियो । निगमले दुई थान वाइड बडीबाट चीन, जापान, कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिका जस्ता लङ हल गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।

प्रकाशित: १४ असार २०७५ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App