१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेटप्रति सत्तापक्षकै सांसदहरुको असन्तुष्टी

आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटमाथि आइतबार प्रदेश सभाको बैठकमा सहभागी प्रदेश सांसदहरु ।तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर- प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शुक्रबार प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै सत्तापक्षका सांसदहरुले बजेट जनतामैत्री र विकासमैत्री नभएको गुनासो गरे।

प्रदेशसभाको आइतबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र पाण्डेले बजेटले विकास र समृद्धिको प्राथमिकता तोक्न नसकेको भन्दै गुनासो गरे । प्रदेशको बजेट अलमलमा परेको र अस्पष्ट रहेको भन्दै उनले बजेटले प्रदेशको प्रभावकारी विकास गर्नेमा आशंका व्यक्त गरे । ‘सत्ता पक्ष र विपक्षको समेत राम्रा सुझाव समेटेर मात्र बजेट पारित गरिनुपर्छ,’ उनले भने ।

नेकपाका अर्का सांसद बुद्धिमान माझीले प्रदेश ३ को बजेटमा धेरै कुरा अमूर्त रहेको बताउँदै सरकार सचेत हुनुपर्ने बताए । आर्थिक समृद्धिका लागि महत्वपूर्ण क्षेत्र उद्योग लगायत धेरै क्षेत्रलाई बजेटले नसमेटेको भन्दै उनले परिमार्जन गरी बजेटलाई पूर्ण बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

नेकपाकै सांसद प्रेमबहादुर पुलामीले खानी अनुसन्धान, चुरे क्षेत्र संरक्षण लगायत विषय बजेटमा छुटेकाले समेट्नुपर्नेमा जोड दिए । प्रदेशको बजेटबारे समय मागेर प्रदेशसभा बैठकमा बोल्ने सत्तारुढ नेकपाका प्रदेश सांसदहरु लालकुमारी पुन, नारायणबहादुर सिलवाल, हिरानाथ खतिवडा, मणिराम फुयाल लगायतले बजेट पूर्ण नभएको भन्दै परिमार्जन गर्न सके विकास र समृद्धिमा उल्लेख्य योगदान पुग्ने बताएका थिए।

बजेट समृद्धिको लागि देखावटी मात्र : प्रतिपक्ष

प्रदेश नम्बर ३ को सरकारले ल्याएको बजेटबारे प्रतिपक्षी दलका सांसदहरुले सुन्दर जस्तो भए पनि खास नभएको प्रतिक्रिया दिएका छन् । प्रदेश नम्बर ३ की प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रेसकी सचेतक राधा घलेले बजेट ‘सुन्दर नाराभित्रको परिबन्द’ भएको भन्दै रोष प्रकट गरिन् ।सार्वजनिक–निजी–साझेदारी कार्य र कृषि क्षेत्रमा प्रदेश सरकारले कर हटाउनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न कठिन हुने दाबी गरिन् ।

कांग्रेसका सांसद तथा लेखा समितिका संयोजक न्हुच्छेनारायण श्रेष्ठले बजेट रातो किताबमा प्रकाशन नगरेर सरकारले भ्रममा राखेको प्रतिक्रिया दिए । स्वास्थ्य उपचार खर्च अत्यन्त महँगो भएकाले प्रदेश सरकारले ‘जनता स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरी जनतालाई राहत दिनुपर्नेमा उनले जोड दिए ।कांग्रेसकै अर्का सांसद प्रभात तामाङले बजेट विकास निर्माण गर्नेभन्दा पनि सरकारले खर्च मात्र गर्ने उदेश्यले ल्याएको आरोप लगाए ।

विवेकशील साझा पार्टीका सांसद रमेश पौडेलले सत्तारुढ नेकपा (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र)को चुनावी घोषणापत्र अनुसार बजेट नल्याइएको दाबी गरे । बजेट उदारवाद र समाजवादको बाटोमा अल्मलिएको तर्क गर्दै उनले नीति तथा कार्यक्रममा उल्लेख गरेका कुराहरु पनि बजेटमा नसमेटेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले सरकारले जनतालाई ढाँटेर युवा स्वरोजगार कार्यक्रम लगायत बजेट नल्याएको भन्दै आत्मआलोचना गर्नुपर्ने बताइन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद सुरेन्द्र गोसाँईले प्रदेशको बजेटमा पञ्चायती र कांग्रेसी सरकारको झल्को आएको जिकिर गरे ।
 

प्रकाशित: ४ असार २०७५ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App