२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

बेमौसमी वर्षाले गहुँबाली नष्ट, बाँकेका किसान चिन्तित

आइतबार साँझ परेको बेमौसमी वर्षा र हुरीले बाँकेका किसानको गहुँबालीमा ठूलो क्षति पुगेपछि उनीहरू चिन्तित भएका छन्। 

डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले काटेर भित्र्याउन तयार गहुँबाली वर्षा र हुरीले भिजाएर नष्ट भएको बताए। उनले भने, ‘खेतमा काटेर स्याहार्ने बेलाको गहुँ वर्षाले भिजेर ठूलो क्षति भयो।’ 

उनले नकाटिएको ठाडो गहुँमा पनि हुरी र असिनाले क्षति पुर्‍याएको बताए। उनले थपे, ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायो।’

नेपालगञ्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले पनि असिना र हुरीले गहुँबालीमा ठूलो नोक्सान गरेको बताए। उनले भने, ‘काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ।’

गहुँ पाकेर भित्र्याउने तयारीमा रहेका किसानलाई असिना र हुरीले चिन्तित बनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटिएको गहुँमा बढी क्षति पुगेको बताए। उनले भने, ‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको गहुँलाई क्षति पुगेको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ।’ 

उनले बाँकेमा गहुँ भित्र्याउने बेला क्षति पुगेको र जिल्लाभरको नोक्सान अनुगमन भइरहेको जानकारी दिए। आठवटै पालिकाका कृषि शाखालाई विवरण सङ्कलन गरी पठाउन आग्रह गरिएको उनको भनाइ छ। गत बुधबार अपराह्नदेखि रातभरको हुरी र वर्षाले गहुँबालीमा क्षति पुगेकोमा आइतबारको वर्षाले भित्र्याउन समस्या भएको श्रेष्ठले बताए।

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँ वर्षको पूर्वसन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुखी बनाएको बताए। उनले भने, ‘वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमा समेत क्षति पुगेको छ।’ रासस

प्रकाशित: १ वैशाख २०८२ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App