व्यावसायिक साझेदारी गर्ने उद्देश्य सहित नेपाल, चीन र भारतका पर्यटन व्यावसायी पोखरामा भेला हुँदैछन्। तीनवटा मुलुकका पर्यटन व्यावसायीको यो भेलाले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न सघाउने व्यावसायीको अपेक्षा छ। पोखराको पर्यटन क्षेत्रका लागि यो भेला अझै बढी महत्वपूर्ण रहेको उनीहरुको भनाई छ।
पोखरामा आगामि सोमबारदेखि तीनदिनसम्म यो भेला हुँदैछ। व्यावसायीले यसलाई नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) एक्स्पो नाम दिएका छन्। तीनदिने भेलामा व्यावसायीले पर्यटन अनुभव साट्नेछन भने व्यावसायिक साझेदारीको अवसर पनि जुटाउनेछन। पर्यटन क्षेत्रका क्रेता र बिक्रेताको यो भेलाले पर्यटन प्रर्वद्धन हुने उनीहरुको भनाई छ।
पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् लगायतका निकायको सहयोगमा पोखरामा यो भेला हुँदैछ। परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार नेपालका १ सय ४०, भारतका ३० र चीनका ५५ व्यावसायिक घराना पोखराको यो एक्स्पोमा सहभागि हुनेछन। नेपालबाट विभिन्न सहरबाट सहभागि रहेको उनले बताए। ‘अगुवा पर्यटन व्यावसायीको यो भेलाले पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं। गण्डकी प्रदेशको पर्यटनमा यो भेलाले विशेष अर्थ राख्नेछ,’ उनले भने।
‘नेपाल, भारत र चीनका व्यावसायीबीच पोखरामा व्यावसायिक जमघट (बिटुबी) हुनेछ। यसले पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेछ,’ पहारीले भने, ‘पोखरामा हुने यो जमघटमार्फत पर्यटन प्रर्वद्धनमा सघाउ पुग्नेछ।
’ एउटै देशबाट २ सयको हाराहारीमा व्यावसायी सहभागि हुन चाहेका थिए। तर, ती मध्ये उत्कृष्ट व्यवासायी छानेर सहभागि गराइएको उनले बताए। यो छलफल कार्यक्रममा व्यावसायी मात्र नभई विभिन्न मुलुकका पर्यटन क्षेत्रका विज्ञहरु पनि जुट्नेछन्।
पहारीका अनुसार एक्स्पोका सहभागि विदेशीको पोखरा आउने क्रम सुरु भएको छ। चिनियाँ व्यावसायीको टोली शनिबार दिउँसो पोखरा आएको उनले बताए। भारतीय व्यावसायी पनि शनिबार नै आउनेछन। स्वदेशी व्यावसायी पनि पोखरा आउने क्रममा रहेको उनले बताए। ‘पोखरा आएका पाहुना आइतबार पोखरा क्षेत्र घुमफिर गर्नेछन। सनराइज टु सनसेट प्याकेज बनाएर घुमाउने योजना छ,’ पहारीले भने, ‘घुमफिर बाहेक पोखरा क्षेत्रका साहसिक पर्यटकीय प्रडक्डको पनि अनुभव लिनेछन।’
व्यावसायीबीचको भेटघाटले सम्बन्ध पनि बिस्तार हुने उनले बताए। ‘भविश्यमा पोखरामा पाहुना पठाउन सहज हुनेछ। यो भेला पर्यटन व्यावसायीको बजारीकरणको माध्यम पनि हो। यस्तो एक्स्पो नेपालमा पहिलो पटक हुँदैछ,’ उनले भने। पाटा नेपालले पोखराको यो एक्स्पोका लागि व्यावसायी छानेको हो।
.jpg)
‘एक्स्पोका सहभागि कुनै एउटा व्यावसायीक संस्थाले कम्तिमा ७० वटा अरु कम्पनिसँग भेटघाट गर्नुपर्नेछ। भारत र चीनलाई नेपालको पर्यटन बेच्ने गतिलो अवसर जुटेको छ,’ उनले भने, ‘व्यावसायीसँग भेट्नैपर्ने बाध्यताले गर्दा यो भेटघाटको विशेष अर्थ रहन्छ।’ नेपालका लागि भारत र चीन पर्यटनका गतिला श्रोत बजार हुन्। दुवै श्रोतबजारका उच्चस्तरका व्यावसायिक कम्पनिमार्फत बजारीकरण गर्न पाउँदा त्यसको बढी लाभ नेपालले पाउने उनले बताए।
पाटा नेपालका सदस्य दिनेश महर्जनले पनि पोखरा क्षेत्रका साहसिक प्रडक्ट बेच्न र पोखरालाई सभा सम्मेलन(माइस) पर्यटकको गन्तव्य बनाउन यस्तो एक्स्पोले सघाउने बताए। ‘पोखरा साहसिक पर्यटकीय गन्तव्यको रुपमा परिचित त छँदैछ। अब पोखरालाई माइस पर्यटनको गन्तव्य पनि बनाउनुपर्छ,’ उनले भने, ‘पोखराको पहिचान अब फरक तरिकाले गराउनका लागि यस्ता कार्यक्रम जरुरी छ।’ व्यावसायीबीच व्यवासायिक भेटघाट (बिटूबी) पनि हुने भएकोले यस्ता कार्यक्रम बढी प्रभावकारी हुने महर्जनले बताए। ‘क्रेता र बिक्रेता एकैठाउँ भेला हुँदा त्यसले व्यवासायीबीच अनुभव र प्रडक्ड साटासाट तथा बजारीकरण गर्न सहयोग पुग्नेछ,’ उनले भने।
पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ मा ३ लाख १७ हजार ७ सय ७२ जना भारतीय पर्यटक आएका थिए। त्यस्तै १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना सन् २०२४ मा नेपाल भित्रिएका थिए। ‘तीनवटा मुलुकका पर्यटन क्षेत्रका अगुवा व्यावसायीको पोखरामा भेला हुँदा त्यसले पर्यटन क्षेत्रमा ठूलो अर्थ राख्छ। नेपालले भारत र चीनको बजारमा प्रवद्र्धन गर्ने अवसर पाउनेछन। एक्स्पोमा सहभागि हुने व्यावसायीमार्फत बजारीकरण गर्दै भविश्यमा थप पर्यटक भित्र्याउन सहज हुनेछ,’ उनले भने। उनका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन क्षेत्रका व्यावसायी यो व्यावसायीक मेलामा सहभागि हुनेछन्।
दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ। कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने पनि व्यावसायीले बताएका छन्।
प्रकाशित: १० फाल्गुन २०८१ १७:१३ शनिबार