७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अक्टोबरमा भारतीयकै हाराहारी अमेरिकी पाहुनाको आगमन

सन् २०२४ अक्टोवरमा नेपालमा हवाई माध्यमबाट मात्र झन्डै सवा एक लाख विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भए पनि यो आगमनबाट पर्यटन क्षेत्र उत्तिसारो खुसी छैन। किनभने यो सिजनसँग पर्यटन क्षेत्रले निकै ठूलो अपेक्षा गरेको थियो तर अघिल्लो पिक सिजनभन्दा यो सिजनमा पाहुना आगमन घटेको छ।

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नेपालमा यो वर्षको १० महिनाको अवधिमा सबै गरी नौ लाख ४१ हजार ३२ जना विदेशी पाहुना भित्रिएका छन्। अघिल्लो पिक सिजन मानिने गत मार्चमा मात्र नेपालमा एक लाख २८ हजार एक सय ६७ जना पाहुना आएका थिए। मार्चको त्यो आगमन नै नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको महिना हो।  

‘अघिल्लो मार्चको त्यो आगमनको रेकर्ड यो वर्षकै बढी थियो। यो सिजनमा पनि अपेक्षा त थियो तर त्यो आगमन अहिलेको सिजनमा केही घटेकै हो,’ उनले भने, ‘नेपालमा घटेका केही प्राकृतिक विपद्का कारण यो सिजनमा आगमनमा केही गिरावट आएको हो।’ नेपालमा पछिल्लो समय बाढी पहिरोसहित सडक दुर्घटना भएका थिए । त्यस्तै केही महिनाअघि भएको हवाई दुर्घटनाले पनि नेपालमा पर्यटक आउन हच्किन थालेका थिए।  

यो वर्षकै सर्वाधिक आगमन मार्च महिनाकै हुने पनि उनको अनुमान छ। किनभने नोभेम्बरमा अहिलेको आगमन अझै ओरालो लाग्ने सम्भावना रहेको उनले बताए। ‘अक्टोवरको आगमन सर्वाधिक बढी हुने अपेक्षा हो तर त्यो हुन सकेन। मार्चको आगमन उछिन्ने हैसियत हुन सकेन। नोभेम्बरको आगमन अहिलेभन्दा पनि अझै कमजोर हुनसक्छ। हवाई उडानका केही समस्याले आगमन प्रभावित हुने पक्का जस्तै छ,’ उनले भने।  

बोर्डका अनुसार नेपालमा यो अक्टोवरमा मात्र एक लाख २४ हजार तीन सय ९३ जना विदेशी पाहुना आएका छन्। यो आगमन गत अक्टोवरको भन्दा ६ प्रतिशत बढी हो। नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएका वर्ष २०१९ को अक्टोवरमा भने एक लाख ३४ हजार ९६ जना विदेशी पाहुना भित्रिएका थिए। सन् २०१९ को अक्टोवरको तुलनामा भने यो महिना झन्डै ९३ प्रतिशत मात्र पाहुना आएका छन्। त्यसपछि सुरु भएको कोरोना भाइरस संक्रमणले गर्दा आगमन खस्कन थालेको थियो। त्यो आगमन खस्केर २०२० को अक्टोवरमा नेपालमा जम्मा दुई हजार २५ जना विदेशी आएका थिए। सन् २०२१ को अक्टोवरमा भने २३ हजार तीन सय ३८ जना पाहुना आएका थिए। सन् २०२२ को अक्टोवरको आगमन ८८ हजार पाँच सय ८२ थियो। सन् २०२३ को अक्टोवरमा भने एक लाख १७ हजार तीन सय ६ जना विदेशी पाहुना नेपाल आएका थिए ।  

नेपालमा यो वर्ष अहिलेसम्म (जनवरी–अक्टोवर) मा नौ लाख ४१ हजार ३२ जना विदेशी पर्यटक भित्रिएका छन्। १० महिना अवधिमा नेपालमा नौ लाख ४१ हजार ३२ जना विदेशी भित्रिएका छन्। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार एक सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार चार सय २६ थियो।  

मार्चको आगमन संख्या एक लाख २८ हजार एक सय ६७ थियो। अप्रिलको पर्यटक आगमन भने एक लाख ११ हजार तीन सय ७६ रहेकोमा मे महिनामा ९० हजार दुई सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार सात सय ३६ थियो। जुलाईको आगमन ६४ हजार पाँच सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार सात सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच जना विदेशी नेपाल भित्रिए। अक्टोवरमा भने एक लाख २४ हजार तीन सय ९३ जना। सरकारले यो आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

पर्यटन व्यावसायीहरू भने यो सिजनमा विदेशीको आगमन सन्तोषजनक रहे पनि आन्तरिक पाहुना चलायमान हुन नसकेको बताउँछन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘विदेशीको आगमन पनि उत्साहजनक होइन तर सन्तोष मान्नुपर्ने अवस्था छ।’

तेस्रोमा बेलायती, चौथोमा चिनियाँ

पछिल्लो तीन महिनाको तथ्यांक अनुसार भारतीय पाहुनाको आगमन महिनैपिच्छे ओरालो लाग्दै आएको छ। अमेरिकी पाहुनाको आगमनमा भने हरेक महिना वृद्धि भइरहेको छ। बोर्डको तथ्यांक अनुसार गत अगष्टमा नेपालमा २५ हजार आठ सय ३२ जना भारतीय पाहुना भित्रिएका थिए । त्यो आगमन सेप्टेम्बरमा केही घटेर २२ हजार नौ सय ८४ मा झरेको थियो। अक्टोवरमा त झन् घटेर १६ हजार तीन सय १३ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए।

अमेरिकी पाहुनाको आगमन भने पछिल्लो तीन महिना लगातार बढिरहेको छ। गत अगष्टमा नेपालमा ६ हजार तीन सय ६७ जना अमेरिकी पाहुना भित्रिएका थिए। त्यो आगमन सेप्टेम्बरमा बढेर ११ हजार पाँच सय ४९ मा उक्लेको थियो। यो अक्टोवरमा भारतीयकै हाराहारीमा पुग्दै १६ हजार २३ जना अमेरिकी पाहुना नेपाल भित्रिएको बोर्डको भनाइ छ।

‘भारतीय पाहुनाको आगमन पछिल्लो प्राकृतिक विपद्ले बढी प्रभावित भएको छ। भारतीय बस नेपालमा दुर्घटना हुनुका साथै स्थलमार्गमा भएका अरू घटनाले पनि प्रभावित भएको हो,’ लामिछानेले भने, ‘भारतीय पाहुना सानातिना घटनाबाट पनि छिटो प्रभावित हुन्छन्।’ अमेरिकी आगमन बढ्नु सुखद् पक्ष रहेको भए पनि भारतीय आगमन घट्दा भने पर्यटन क्षेत्र थप प्रभावित हुने उनले बताए। ‘अमेरिकीको आगमन बढेको हो तर भारतीय पाहुना बढी प्रभावित भए। भारतीय पाहुना केही चाडबाडले पनि प्रभावित हुन्छन्,’ उनले भने।

भारतीय र अमेरिकन पनि अक्टोवरमा नेपाल भित्रिने विदेशीमा बेलायतका पाहुनाको आकार तेस्रो नम्बरमा छ। अक्टोवरमा बेलायतबाट आठ हजार १९ जना पाहुना नेपाल भित्रिएका छन्। चिनियाँ पाहुनाको आगमन खस्किँदै जाँदा चौथो नम्बरमा परेको छ। अक्टोवरमा नेपाल भित्रिने चिनियाँको संख्या सात हजार सात सय ५० मात्र रहेको छ। अस्टे«लियाबाट ६ हजार नौ सय २९, जर्मनबाट ६ हजार १८ जना पाहुना भित्रिएका छन्।  

संघका अध्यक्ष सुवेदी पनि भारतीय पाहुना नेपालमा पछिल्ला घटनाक्रमबाट बढी प्रभावित भएको बताउँछन्। ‘नेपालमा भारतीय पाहुनाको आगमन यो सिजनमा सोचेजति भएन। त्यसको पछाडिका कारण भने प्राकृतिक विपद् नै मुख्य हो। भारतीयको आगमन कमजोर बन्दै गएको छ,’ सुवेदीले भने, ‘बरु अमेरिकी मूलका पाहुनाको आगमनमा वृद्धि छ। यो राम्रो हो।’

प्रकाशित: २१ कार्तिक २०८१ ०९:०२ बुधबार

#Tourism