१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

उदयपुरको राजश्व ६ करोड घट्यो

करदाता सेवा कार्यालय गाईघाट भवन । तस्विरः महेश्वर

अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।

आर्थिक वर्ष ०७९/८० मा भन्दा ०८०/८१ को राजश्व संकलन लक्ष्य चुम्न १५ प्रतिशत कम भएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ । कार्यालय प्रमुख कर अधिकृत रामबहादुर राईका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा कुल राजश्व रकम ५६ करोड ४४ लाख ४ हजार संकलन भएको छ । जब कि अघिल्लो आर्थिक वर्ष ०७९/८० मा झन्डै ६ करोड बढी अर्थात ६१ करोड ८३ लाख ३२ हजार उठेको थियो।

पछिल्लो आर्थिक वर्षको राजश्व संकलन लक्ष्यको ७१.६४ प्रतिशतमा सीमित भएको राईले बताए । जब कि अघिल्लो आर्थिक वर्ष ०७९/८० मा लक्ष्यको ८६.७२ प्रतिशत संकलन भएको थियो । आव ०८०/८१ मा सबभन्दा ठुलो आकारको राजश्व आयकर, दोस्रो ठुलो हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) र तेस्रो अन्तःशुल्क उठेको छ ।

कार्यालयले आयकर ३० करोड २४ लाख १५ हजार संकलन गर्दै ३७ करोड ८६ लाख २३ हजार उठाउने लक्ष्यमा ७९.८७ प्रतिशत प्रगति गरेको हो । त्यस्तै भ्याटबापतको कर २३ करोड ३५ लाख ८० हजार अर्थात दोस्रो ठुलो हिस्सा राजश्व उठेको छ । भ्याटमा ३६ करोड ४९ लाख १ हजार उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यको ६४.०९ प्रतिशतमै सीमित हुन पुगेको प्रमुख  राईले बताए।

त्यसै गरी बहाल कर बापत ८९ लाख ५७ हजार उठाएको कार्यालयले ज्याज कर बापत ४४ लाख ९९ हजार उठाएको छ । प्रतिशतका हिसाबले भन्ने हो भने बहाल कर ५९.३० प्रतिशत र व्याज कर धेरै कम अर्थात ४०.५५ प्रतिशत संकलन गरेको छ । शिक्षा सेवा कर १ हजार उठ्दा अन्य कर ६६ हजार संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष ३५ करोड ५० लाख ५६ हजार आयकर उठाउने लक्ष्य लिएको कार्यालयले ८५.०६ प्रतिशत प्रगति गर्दै ३० करोड २० लाख २३ हजार संकलन गरेको थियो । त्यस्तै भ्याटबापत २८ करोड ६५ लाख ३७ हजार संकलन गर्ने लक्ष्य लिएकोमा ९९.८० प्रतिशत प्रगति गर्दै २८ करोड ५९ लाख ९४ हजार उठाएको थियो।

०७९/८० मा ५ करोड १३ लाख ७० हजार अन्तःशुल्क उठाउने लक्ष्य लिँदा २५.२२ प्रतिशत प्रगति गर्दै १ करोड २९ लाख ५४ हजार संकलन गरेको थियो । कार्यालयले बहाल कर ८२.७७ प्रतिशत अर्थात १ करोड १५ लाख ५४ हजार र व्याज करमा ९५.६९ प्रतिशत प्रगति गर्दै ६१ लाख ७ हजार संकलन गरेको थियो।

पछिल्लो वर्ष अन्य शीर्षकको राजश्व सन्तोषजनक भए पनि भ्याटमा फराकिलो कमी आउँदा लक्ष्य चुम्न निकै टाढा पुगेको हो । अघिल्लो वर्ष भ्याटमा ९९.८० प्रतिशत प्रगति भएर लक्ष्यनिकट राजश्व संकलन भए पनि पछिल्लो वर्ष ६४.०९ प्रतिशतमै खुम्चिदा लक्ष्य भेट्न फराकिलो दूरी कायम भएको प्रमुख राईले बताए ।

त्यसै गरी आयकर पनि अघिल्लो वर्षभन्दा निकै कम अर्थात ७९.८७ प्रतिशत मात्र संकलन भयो । जब कि अघिल्लो वर्ष ८५.०६ प्रतिशत संकलन भएको थियो । ‘ठुलो आकारमा राजश्व उठ्ने भनेकै आयकर र भ्याट हो, यही दुई शीर्षक लक्ष्यभन्दा निकै तल रहे’ कर अधिकृत राईले भने ‘अर्थतन्त्र सुधार नहुनु र स्थानीय बजारमा मन्दी आउनुले पनि यस्तो भएको हुनसक्छ ।’

प्रकाशित: २५ श्रावण २०८१ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App