१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा १८ करोड ७२ लाख राजस्व सङ्कलन

ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७२ लाख १६ हजार सात सय ९३ राजस्व सङ्कलन भएको हो। जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार सङ्घतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो। 

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कूल बजेट ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रहेको थियो। त्यसमा पुँजीगततर्फ  २० करोड ९० लाख दुई हजार र चालुतर्फ ४२ करोड ९७ लाख ५१ हजार रहेको थियो। 

पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताए। प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन्।

सङ्घतर्फको बजेट चार अर्ब ९९ करोड ६३ लाख २३ हजार रहेको थियो। त्यसमा पुँजीगततर्फ ६० करोड ११ लाख ३० हजार र चालुतर्फ चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रहेको थियो। पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए।

सङ्घतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन्। जिल्लामा सङ्घ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन्।

प्रकाशित: ६ श्रावण २०८१ १३:२६ आइतबार

#Taplejung #Fruit-plants