२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको छ। प्रदेशसभामा शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रूपैयाँको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

चालुतर्फ ४० दशमलव ४४, पुँजीगततर्फ ५७ दशमलव २३ र वित्तीयतर्फ २ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको हो। कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख तथा सञ्चितकोष र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोर्ने अनुमान गरिएको मन्त्री थपलियाले उल्लेख गरे। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रूपैयाँ बढीको बजेट ल्याएको हो। चालु आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड रूपैयाँको बजेट प्रस्तुत गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री थपलियाले प्रदेश राजधानी हेटौंडालाई बृहत् बनाउन बजेटको व्यवस्था गरिएको बताए। यस्तै बागमती प्रदेशको जोखिमयुक्त बस्ती स्थानान्तरण गरी सामूहिक बस्ती बनाउने, प्रदेशसभाको निर्माणाधीन भवनलाई प्रविधिमैत्री बनाउने र यसै वर्ष सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ।

बागमती प्रदेशलाई पूर्ण उज्यालो बनाइने भएको छ। प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ६ अर्ब ९३ करोड, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड रूपैयाँ विनियोजन गरिएको छ।

प्रदेशमा सहिदहरूका नाममा शान्ति पार्क स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने मन्त्री थपलियाले बताए। प्रदेशमा थप रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सहुलियत ऋण कार्यक्रमका लागि १ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई प्लास्टिकरहित बनाउन १ करोड ६१ लाख रूपैयाँ विनियोजन गरेको छ।

प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न उक्त रकम विनियोजन गरेको हो। वातावरण सम्मेलन, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षरोपण लगायत योजना अघि सारिएको छ। बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।

प्रकाशित: २ असार २०८१ ०६:४३ आइतबार

#Budget #Bagmati-Province #State-Assembly