१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल भित्रिने विदेशी पर्यटकको उमेरः ३१ देखि ४५ वर्षका सबैभन्दा बढी

अन्नपूर्ण आधारशिविरको पदयात्रामा रहेका पदयात्री। फाइल तस्बिरः नागरिक

नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ। नेपाल भित्रिएका मध्ये ३१.२५ प्रतिशत उमेर समूहका पर्यटक यो समूहका हुने गरेका छन्।  

मन्त्रालयका तथ्यांक अनुसार सन् २०२२ मा यो उमेर समूहको संख्या २ लाख ८ हजार २ सय ९९ थियो। सन् २०२२ मा नेपालमा सबैगरि ६ लाख १४ हजार ८ सय ६९ जना विदेशी पाहुना भित्रिएका थिए। २०२२ मा भित्रिएका ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकको हिस्सा झन्डै ३४ प्रतिशत थियो।  

नेपाल भित्रिने विदेशी पर्यटक मध्ये दोश्रो हिस्सामा ४६ देखि ६० वर्ष उमेर समूहका छन। सन् २०२३ मा नेपाल भित्रिएका यो उमेर समूहका विदेशी पर्यटकको संख्या २ लाख ७२ हजार ३ सय ४२ थियो। यो उमेर समूहका पर्यटकको हिस्सा २६.८४ प्रतिशत रहेको मन्त्रालयको भनाई छ। अघिल्लो वर्ष यो उमेर समूहका १ लाख ५५ हजार ९ सय ८५ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

तेश्रो स्थानमा रहेका विदेशीको उमेर समूह १६ देखि ३० वर्ष छ। २०२३ मा नेपाल भित्रिएका यो उमेर समूहका पर्यटकको संख्या १ लाख ८९ हजार ७ सय ९० रहेको छ। अघिल्लो वर्ष यो संख्या १ लाख २१ हजार ९६ रहेको थियो। सन् २०२३ मा ६० वर्ष माथिका १ लाख ६९ हजार ७ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। अघिल्लो वर्ष त्यो संख्या ७८ हजार ६ सय ६० रहेको थियो। त्यस्तै २०२३ मा नेपाल भित्रिनेमध्ये १५ वर्ष मूनिका विदेशी पर्यटकको समूह ६१ हजार ३ सय १६ रहेको छ। २०२२ मा यो संख्या ४८ हजार ६ सय ६४ थियो।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन, ‘नेपाल बाह्य बजारमा साहसिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भएकोले पनि ३१ देखि ४५ वर्ष उमेर समूहका बढी पर्यटक नेपाल भित्रिएका हुन्। पदयात्रामा जाने उमेर समूहका पर्यटक यसमा पर्छन।’ नेपालका साहसिक गन्तव्यमा रमाउने पर्यटकको संख्या यही उमेर समूहका हुने गरेको उनले बताए।

साहसिक गतिविधिका रुपमा पदयात्रा, माउन्टेनियरिङ लगायतका गतिविधिमा रमाउने उमेर समूह यसमा पर्ने उनले बताए। हुन त धार्मिक पर्यटकको आगमन पनि उच्च नै हुने गरेको छ। तरपनि धार्मिक पर्यटकको संख्या नेपालमा भित्रिएका विदेशी पर्यटक मध्ये जम्मा १३ प्रतिशत मात्र रहेको उनले बताए। उनका अनुसार नेपाल भित्रिएका मध्ये १५ प्रतिशत पर्यटक पदयात्रा र माउन्टेनियरिङ गतिविधिका पाहुना हुन्।  

त्यस्तै नेपाल भित्रिने विदेशी पर्यटक मध्ये दोश्रो हिस्सामा ४६ देखि ६० वर्ष उमेर समूहका छन। लामिछानेका अनुसार नेपाल भित्रिने विदेशी मध्ये यो उमेर समूहका पर्यटक अरुको तुलनामा बढी खर्चालु हुने गरेका छन्। तथ्यांक अनुसार यो समूहका ६२.५ प्रतिशत पर्यटक बिदा मनाउन नेपाल आउने गरेका छन।

 ‘यो उमेर समूहको पर्यटक सबैभन्दा बढी नेपाल आउँछन। उनीहरु बढी खर्चालु हुन्छन। नेपालका महंगा होटलमा बस्ने पर्यटक यही उमेर समूहका हुने गरेका छन्,’ लामिछानेले भने, ‘लक्जरीयस पर्यटकको रुपमा यो समूह पर्छ।’  

नेपालका राम्रा र महंगा होटलमा बस्ने पर्यटक यो समूहका हुने भएकोले यो उमेर समूहलाई ध्यान दिएर आकर्षण गर्ने हो भने नेपालको पर्यटनले लाभ लिने उनले बताए। ‘बढी खर्च गर्ने भएकोले यो उमेर समूहमा फोकस गर्न सकिन्छ,’ उनले भने, ‘उनीहरु बिदा मनाउन पनि आउने हुन्छन।’ नेपालका महंगा र सुविधासम्पन्न होटलमा यही समूहका पाहुनाको बसोबास बढी हुन्छ।’

पदयात्रा व्यावसायीले भने पोखरा भित्रिएका विदेशी पर्यटकमध्ये ४० प्रतिशत पाहुना पदयात्रामा जाने गरेको बताउँदै आएका छन। ‘हामीले पहिलेदेखि नै बताउँदै आएको आकँडा अनुसार पोखरा भित्रिएका मध्ये कम्तिमा ४० प्रतिशत पर्यटक पदयात्रामा जान्छन भन्ने हो,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘हामीले उमेर समूह भन्दा पनि पर्यटकको संख्या हेरेका थियौ। नेपाल भित्रिएका ३१ देखि ४५ वर्षभित्रका पर्यटक बढी भएपनि उनीहरु सबै पदयात्रामा जान्छन नै भन्ने निश्चित नभएको पनि उनले बताए।

छोटो दुरीको हाइकिङ जाने पर्यटक त झनै बढी हुने गरेको उनले बताए। छोटो दूरीको हाइकिङलाई पदयात्रामा गणना नगरिएको हुनसक्ने उनले बताए। ‘लामो दूरीको पदयात्राका लागि समय र खर्चको अतिरिक्त व्यवस्थापन गर्नुपर्छ। त्यसैले लामो दूरीको पदयात्रा कम हुन्छ। तर, छोटो दूरीको पदयात्रामा जानेको संख्या त राम्रो छ,’ उनले भने। उनले पनि युवापुस्ताका बढी पर्यटक पदयात्रामा जान रुचाउने गरेको बताए। ‘आगमनको हिसाबले ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक बढी हुने भएपनि उनीहरु सबै पदयात्रामा जान्छन भन्ने होइन। तर, पदयात्रामा जाने उपयुक्त उमेर समूह भने यही भित्र पर्छ,’ उनले भने।  

प्रकाशित: ३० वैशाख २०८१ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App