सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आवको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ । यो वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिदर सार्वजनिक गरिएको प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए। अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा यो वर्ष सुधार भएको छ।
अर्थतन्त्रको आकार भने करिब चार खर्बले बढेर ५७ खर्ब ४८ अर्ब रूपैयाँको पुग्ने प्रक्षेपण गरिएको छ। गत वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको थियो। विश्व बैंकले चालु अवमा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले, मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए। यस्तै नेपालको निजी क्षेत्रका तर्फबाट नेपाल व्यवस्थापन संघले आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरेको थियो।
नेपालीको प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुगेको विभागले जनाएको छ। गत आवमा यस्तो आय एक हजार चार सय पाँच अमेरिकी डलर थियो। नेपालका १८ आर्थिक क्रियाकलापको अध्ययन गरी यो विवरण तयार गरिएको हो। यसमा ६ देखि
८ महिनाको तथ्यांक समावेश गरिएको छ। अर्थतन्त्रको आकार प्रचलित मूल्यलाई आधार मानेर निर्धारण गरिन्छ। निर्माण, व्यापार र उद्योग क्षेत्र हुँदा लक्ष्य प्राप्त गर्न नसकिएको तथ्यांक कार्यालयले जनाएको छ। आवास तथा भोजन सेवा २१.८४ प्रतिशतले वृद्धि हुँदा विद्युत् र ग्यास क्षेत्रमा १७.४४ प्रतिशतको वृद्धि देखिएको छ।
यसैगरी, उद्योग १.६ प्रतिशतले ऋणात्मक हुँदा निर्माण क्षेत्र दुई प्रतिशतले ऋणात्मक छ। गत वर्ष उद्योग, निर्माणसँगै थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा पनि ऋणात्मक रहेकोमा चालु वर्ष भने दुईटा क्षेत्र मात्रै ऋणात्मक थियो।
प्रकाशित: १९ वैशाख २०८१ ०९:४९ बुधबार