२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गाउँपालिका परिसरमै स्याउ बगैँचा

जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा निर्माण गरेको छ। कार्यालय वरिपरि खाली रहेको झन्डै तीन हजार वर्गमिटर जग्गामा स्याउ लगाएर बगैंचा निर्माण गरेको हो।

पहिलो चरणमा स्याउका ६५ वटा विरुवा रोपिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनले भने किसानहरूको स्याउ नर्सरीबाटै विरुवा खरिद गरेर बगैंचा स्थापना गरिएको हो। हरेक शनिबार अनिवार्य जनश्रमदान गर्ने पालिकाको नीति अनुसार स्याउ रोपिएको गाउँपालिकाले जनाएको छ।

स्याउका विरुवा रोप्न उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश जगदिश घिमिरे र जिल्ला अदालतका न्यायाधीश कैलाश गुरुङसमेत पुगेका थिए। कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा स्याउका विरुवा रोपिएको अध्यक्ष चौलागाईंले बताए।

यो बगैंचालाई पालिका भित्रको नमुना बगैंचा बनाएर किसानहरूलाई हौसला प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ। बगैंचामा स्याउका विरुवा रोप्न जनप्रतिनिधिहरू, कर्मचारीहरू, सर्वसाधारण नागरिक र कृषिक्षेत्रसँग सरोकार राख्ने निकायहरूको उपस्थिति रहेको थियो। पालिका वरिपरि धेरै जमिन बाँझो रहेकाले स्याउका विरुवा रोपेर बगैंचा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

गाउँपालिका कार्यालय परिसरमै स्याउको बगैंचा स्थापना हुँदा जुम्ली स्याउको व्यापक प्रचार प्रसार हुने र बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ। बगैंचाको संरक्षण पालिकाले गर्ने भएकाले घेरबार गर्ने र मलको पनि उचित प्रबन्ध हुने छ।

अध्यक्ष चौलागाईले भने, ‘यो बगैंचा आन्तरिक आम्दानीको स्रोत बन्नेछ। केही व्यक्तिले रोजगारी पाउनेछन्। पालिका वरपरको वातावरण निकै सुन्दर हुने अपेक्षा राखिएको छ।’

यो बगैंचालाई पालिकाभित्रका स्याउ किसानहरूको तालिम केन्द्रको रूपमा विकास गर्ने तयारी पालिकाले गरेको छ। स्याउ सम्बन्धी हरेक कार्यक्रम यही बगैंचामा हुनेछन्। स्याउका विरुवासँगै राखेर मलखाद व्यवस्थापन, स्याउ काँटछाँट र माटो परीक्षणका कामहरू हुने कृषि शाखाले जनाएको छ।

बगैंचामा रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउ रोपिएको छ। भौगोलिक रूपमा विकट र स्याउ उत्पादनको उच्च संभावना भएको पालिका भएकाले स्याउ खेतीलाई प्राथमिकता राखिएको तातोपानीले जनाएको छ।

आगामी वर्षहरूमा ओखरका बिरुवा समेत रोपिने गाउँपालिकाको भनाइ रहेको छ। अहिले किसानहरूको बगैंचामै कृषि प्राविधिकहरू खटाएर स्याउ बगैंचा व्यवस्थापनको कक्ष चलिरहेको छ। अब पालिकाको बगैंचामै किसानहरू बोलाएर प्रशिक्षण दिइने छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App