२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाथीभरा केबलकार निर्माणमा सबै दलको सहमति

पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा (मुकुलुङ) मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलले आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित जिल्लास्तरीय बैठकले केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन्।

केवलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो।

बैठकमा उपस्थित सबै राजनीतिक दलका प्रतिनिधिहरूले आआफ्नो धारणा सार्वजनिक गर्दै केवलकार निर्माणमा सहजीकरण गर्न सहमत भएका हुन्।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केवलकार जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्नेे बताएका थिए।

आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना रहेको छ। ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो।

प्रकाशित: २७ फाल्गुन २०८० ०९:३९ आइतबार

पाथीभरा केबलकार निर्माण सबै दलको सहमति