३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्यमी बनाउने शिक्षा आवश्यक छ:अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावहारिक सीपको विकास गरी उद्यमी बनाउने शिक्षा आजको आवश्यकता रहेको बताएका छन्।

बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यामिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए। सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो।

अध्यक्ष ढकालले भने ‘यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ।’ 

प्रकाशित: १ माघ २०८० १४:५४ सोमबार

नेपाल उद्योग वाणिज्य महासङ्घ उद्यमी बनाउने शिक्षा आवश्यक छ:अध्यक्ष ढकाल त्रिभुवन माध्यामिक विद्यालय