११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोलकातामा १७ करोडको लागतमा ‘नेपाल हाउस’ बन्दै

बन्न लागेको नेपाल भवनको जग्गा अगाडि नेपाली अधिकारी र कोलकातामा बस्ने नेपालीहरुको संस्थाका अगुवा। तस्बिर : रितेश/नागरिक

कोलकाता (भारत) – ऐतिहासिक पृष्टभूमिले नेपालसँग सबैभन्दा बढी जोडिएको र तेस्रो मुलकसँगको व्यापारका लागि मुख्य पारवहन मार्ग भारतको कोलकातामा १७ करोड रुपैयाँ लागतमा ‘नेपाल हाउस’ बन्दैछ । त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था संयुक्त नेपाली वेलफेयर ट्रस्टको अगुवाइमा ‘नेपाल हाउस’ निर्माण गर्न लागिएको हो।

आइतबार भारत–नेपाल जनमैत्री साँस्कृतिक मञ्चले आयोजन गरेको एक समारोहमा प्रमुख अतिथि रहेका नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राई र भारतका लागि नेपालका महावाणिज्यदूत एक नारायण अर्याललाई ट्रस्टले ‘नेपाल भवन’ अवधारणापत्र हस्तान्तरण गरेको हो।

काम विशेषले कोलकाता आउने नेपालीहरुलाई आवश्यक सहयोग र आश्रय दिने उद्देश्यले नेपाली भवन बनाउन लागिएको ट्रस्टको भनाइ

ट्रस्टले सहयोगका लागि सरकारलाई विस्तृत योजना प्रस्ताव कोलकातास्थित नेपाली महावणिज्यदूत एकनारायण अर्याललाई बुझाउने र नेपाल पुगेर सरकारका विभिन्न सरोकारवालालाई दिने तयारी गरेको ट्रस्टका अध्यक्ष खिमराज बरालले बताए । सचिव राईले भवन निर्माणका लागि सरकारसमक्ष औपचारिक रुपमा पहल गर्ने बताए । महावाणिज्यदूत अर्यालले भवनका लागि जग्गा खरीदमा सरकारले ६ लाख भारु सहयोग गरेको बताउँदै यसलाई पुरा गराउन पनि सरकारी सहयोग जुटाउन आफु सहायक बन्ने बताए।

कोलकातामा बसोबास गरिरहेका नेपालीहरुको आफ्नो साझा थलो बन्ने नेपाल भवन काम विशेषले यहाँ आउने नेपालीहरुलाई आवश्यक सहयोग र आश्रय दिने उद्देश्यले नेपाली भवन बनाउन लागिएको ट्रस्टले बताएको छ । नेपालीहरूको हित र नेपालका संस्कृतिलाई संरक्षण गर्ने थलो हुने भवन बनाउने योजना बनाएको बताए।

उक्त प्रयोजनका लागि करिब एक करोड भारतीय रुपैयाँमा आठ हजार दुई सय वर्ग फिटको जग्गा खरिद भइसकेको जानकारी बरालले दिए । सो जग्गामा चारतले भवन निर्माणको योजना रहेको र यसका लागि ११ करोड भारतीय रुपैयाँ आवश्यक पर्ने उनले बताए । कोलकातामा करिब तीन लाख रुपैयाँ नेपाली बासोबास गर्दै आएको अर्यालले जानकारी गराए।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:५२ मंगलबार

कोलकातामा १७ करोडको लागतमा नेपाल हाउस बन्दै