२ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

२० लाख पर्यटक लक्ष्य भेट्नेमा सन्देह

पोखरा – सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१७ मा नेपालमा १० लाख ६० हजार विदेशी पाहुना आएको पर्यटन बोर्डको अनुमान छ । अबको दुई वर्षमा अहिलेको आगमन दोब्बर पुर्याउन सके मात्र सरकारी लक्ष्य पूरा हुनेछ ।

पोखराका पर्यटन व्यवसायीले अहिलेकै पूर्वाधारको भरमा सरकारी लक्ष्य पूरा नहुने दाबी गरिरहँदा सरकारी पदाधिकारी भने लक्ष्य पूरा गर्न कुनै कठिन नभएको बताउँछन् । सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउनुलाई ठूलो लक्ष्य मान्न नहुने सरकारी अधिकारीको भनाइ छ ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भिœयाउने सरकारी लक्ष्य ठूलो नभएको बताउँछन् । ‘अहिलेको आगमन आगामी वर्ष बढाएर बढीमा १५ लाखसम्म पुर्याउने लक्ष्य छ,’ पर्यटन बोर्डले पोखराका सञ्चारमाध्यमसँग गरेको छलफलमा न्यौपानेले भने, ‘त्यसपछि अर्काे वर्ष चार लाख त जसोतसो बढाउँछौं ।’सरकारी लक्ष्य पूरा गर्न यसपटक भारत र चीनमा आक्रामक मार्केटिङ गर्ने सरकारी योजना रहेको उनले बताए । त्यसका लागि सरकारले ठूलो बजेट पनि खर्च गर्न थालेको उनले बताए ।

‘भारत र चीनबाट मात्र पाहुना भित्र्याउन सकियो भने त्यसले सरकारी लक्ष्य पूरा गर्न गाह्रो हुँदैन । त्यसका लागि यसपटक सरकारले ठूलो बजेट दुई मुलुक (चीन र भारत) मा खर्च गर्दैछ,’ उनले भने, ‘भारतीय र चिनियाँको आगमन अहिले बढिरहेको छ । आगामी वर्ष यो आगमन झनै बढ्नेछ ।’
पूर्वाधार वृद्धि भइरहेको, विमानस्थल निर्माणले गति लिइरहेको, सडक सञ्जाल बढिरहेकाले सरकारी लक्ष्य भेट्न उतिसारो समस्या नभएको उनले बताए ।

‘अहिले बनिरहेका दुईवटा विमानस्थल (भैरहवाको गौतम बुद्ध र पोखरा क्षेत्रीय) बाट सन् २०२० सम्म उडान गर्न नभ्याए पनि पूर्वाधार तयारी हुँदा सकारात्मक सन्देश जानेछ,’ उनले भने, ‘यो बेलासम्म अरू सडक सञ्जाल पनि बिस्तार हुनेछ ।’ आक्रामक मार्केटिङ नै पर्यटक आगमन बढाउने पहिलो आधार भएको न्यौपानेले बताए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भूकम्पपछिको आगमन बढ्दा सरकारी लक्ष्य पूरा गर्न सकिनेमा आशावादी भएको बताउँछन् । भूकम्पका कारण खस्केको आगमन निकै नै कम समयमा अकासिएको जोशीले बताए ।

‘भूकम्पपछि व्यवसायी र सरकारी क्षेत्रबाट निकै नै काम भएको छ । त्यसले गर्दा छोटो समयमा पनि आगमन सोचेभन्दा बढेको छ,’ जोशीले भने, ‘पर्यटक भिœयाउने पूर्वाधार खासै नयाँ बनिसकेका छैनन् । तर त्यही अवस्थामा पनि बढेको आगमनलाई सकारात्मक मान्नुपर्छ ।’ अन्तर्राष्ट्रियस्तरमा भएका प्रवद्र्धनात्मक गतिविधिले पाहुनाको आगमन सोचेभन्दा बढी गतिमा बढेको जोशीले बताए ।
उनका अनुसार पछिल्लो चार–पाँच वर्षयता विश्वव्यापी नै पर्यटकको घुमघामको ट्रेन्ड बढेको छ । ‘पहिलाको गति निकै नै सुस्त थियो । तर, पछिल्लो चार–पाँच वर्ष यताको विश्वव्यापी पर्यटकको घुम्ने ट्रेन्ड बढेकाले पनि नेपालमा सुधार देखिएको हो,’ जोशीले भने ।

सिइओ जोशीले पनि सरकारले पूर्वाधार बनाउन ध्यान दिने हो भने नेपालमा पर्यटक भिœयाउन कुनै समसस्या नभएको बताए । ‘भूकम्पका कारण पछिल्लो एक–दुई वर्ष व्यवसायीलाई मुस्किलले व्यवसाय धान्ने अवस्था आइपर्यो । अब पूर्वाधार बनाएर आगमन बढाउन सके राहत मिल्नेछ,’ उनले भने । सिइओ जेशीले अब संख्यात्मक रूपमा मात्र नभई गुणस्तरीय पर्यटक भिœयाएर पनि व्यवसायीलाई राहत दिनुपर्ने बताए ।

सन् २०१२ को विदेशी पाहुना आगमनको रेकर्ड सन् २०१७ मा तोडिएको बोर्डको भनाइ छ । पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा सन् २०११ मा सात लाख ३६ हजार विदेशी पाहुना आएका थिए । त्यो संख्या २०१२ मा आठ लाख तीन हजार पुगेको थियो ।

सन् २०१३ मा सात लाख ९७ हजार विदेशी पाहुना भित्रिएकोमा २०१४ मा सात लाख ९० हजारमा झरेका थिए । भूकम्पका कारण २०१५ मा झनै घटेर पाँच लाख ३९ हजार विदेशी पाहुना नेपाल भित्रिएका थिए । त्यो संख्या बढेर सन् २०१६ मा सात लाख ५३ हजार पुगेको थियो ।
विगत १० वर्षको तथ्यांक आँकलन गर्दा नेपाल भित्रिएका पाहुनामध्ये करिब ३५ प्रतिशत पोखरा भित्रिने अनुमान छ । त्यसअनुसार पोखरामा तीन लाखभन्दा बढी पाहुना भित्रिने बोर्डका पोखरास्थित प्रबन्धक सूर्य थपलिया बताउँछन् । ‘भारतीय र चिनियाँको आगमन बढाउन पहल गनुपर्छ, त्यसो भयो भने सहज हुन्छ,’ थपलियाले भने ।

पर्यटन व्यवसायी सन् २०१७ मा विदेशी पाहुनाको आगमन उकालो लागेको तथ्यांकले देखाए पनि व्यावसायीको गोजी भने भरिन नसकेको बताउँछन् । त्यसका लागि खर्च गर्न सक्ने पाहुना भिœयाउनुपर्ने उनीहरूले बताए । साहसिक गतिविधिमा रम्ने पाहुना भित्र्याउने हो भने व्यवसायीलाई राहत मिल्ने उनीहरूको भनाइ छ । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष दीपकराज अधिकारीले तथ्यांकगत रूपमा विदेशी पाहुनाको आगमन बढेको देखिए पनि त्यसबाट व्यवसायीले सोचेजति कमाउन नसकेको बताए ।

‘अब साहसिक पर्यटक भित्र्याउने गरी पर्याप्त रकम खर्चेर प्रवद्र्धन गर्नुपर्छ । अनि बल्ल सरकारी लक्ष्य पूरा हुन्छ,’ उनले भने, ‘भनेजति पाहुना आउन नसक्नुमा प्रवद्र्धनमा कमजोरी भएको छ ।’
पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष केदारनाथ शर्मा पनि अहिलेकै संरचनाको आधारमा सरकारी लक्ष्य पूरा नहुने बताउँछन् । ‘संख्यात्मक रूपमा केही आगमन बढेको त छ तर पूर्वाधार बनाउन निकै नै कम पहल भएको छ,’ उनले भने ।सिन्डिकेट खारेज गर्न नसक्नु, राजधानी र अरू पर्यटकीय पूर्वाधार जोड्ने सडकको अवस्था पनि कमजोर हुँदा सरकारी लक्ष्य भेट्न मुस्किल रहेको शर्माले बताए ।


 

प्रकाशित: १६ माघ २०७४ ०४:०६ मंगलबार

२० पर्यटक लक्ष्य भेट्नेमा सन्देह