१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक साताको विदापछि चीनबाट सामग्री आयात सुरु

रसुवा – सोनाम ल्होसारको अवसरमा दिइएको एक साता लामो विदा सकिएसँगै चीनबाट सामग्री आयात सुरु भएको छ।

ल्होसारको कारण चिनियाँ भन्सार बन्द भएसँगै माघ १ गतेदेखि सामग्री आयात रोकिएको थियो। माघ १ गतेदेखि ७ गतेसम्म सार्वजनिक विदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो।

सामग्री आयात ठप्प भएपछि व्यापारी, कामदार र सवारी चालक नेपाल फर्किएका थिए। चिनियाँ भन्सार खुलेसँगै आज ६५ ओटा कन्टेनरमा शिल लगाइएको छ।

आज शिल लगाइए पनि समय अभावका कारण सोमबार नेपाल प्रवेश गर्न नसकेका रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। मंगलबार बिहान नाका खुलेपछि कन्टेनरको आगमन सुरु हुने उनको भनाई थियो।

सामग्री लिन गएका कन्टेनरले चिनियाँ भन्सारको पार्किङ क्षेत्र भरिएको नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन।

रसुवागढी भन्सार कार्यालयले माघ महिनामा करिब ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । माघ महिनामा चिनतर्फ लामो अबधीको बिदा हुने र हिउँ पर्ने सिजन पनि यहि भएकाले लक्ष्य अनुसारको राजश्व उठाउन कठिन हुने प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ ।

प्रकाशित: ८ माघ २०७४ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App