मनकामना केबलकारले करिब ४५ करोड रुपैयाँ खर्चिएर स्तरोन्नति गर्ने भएको छ। केबुलकारको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले केबलकारलाई डिजिटललाइज गर्नका लागि ४५ करोड खर्चिने जानकारी दिएको हो।
केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए। अस्ट्रियाको डोपलमेयरकम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने केही काम भएको र बाँकी काम आगामी सन् २०२४ को भदौ/असोजमा सम्पन्न गर्ने योजना रहेको उनले बताए। अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरूपमा सञ्चालन हुने श्रेष्ठले बताए।
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ। मनकामना केबुलकारले सुरुआति वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई दिँदै आएको छ। यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ।
प्रकाशित: ८ मंसिर २०८० ०८:४८ शुक्रबार