४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि : कहीँ फलिफाप, कहीँ उहि हाल

बेनी (रासस)-  देशमा भएको राजनीतिक परिवर्तन र शान्ति स्थापनासँगै म्याग्दीका ग्रामीण भेगमा स्वःस्फुर्तरुपमा देखिएको कृषि क्रान्तिले सकारात्मक लक्षण देखाउन शुरु गरेको छ।

गाउँलेहरु व्यावसायिक कृषि, पशुपालन र घरेलु तथा साना उद्योगबाट आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेपछि म्याग्दीमा आर्थिक समृद्धिका संकेत देखिन थालेका सरोकारवालाले बताएका छन् ।

जिल्लाका ग्रामीण भेगका बासिन्दा व्यावसायिकरुपमा तरकारीखेती, पशुपालन र आयआर्जन हुने काममा लागेर ‘गाउँमा बसेर केही गर्न सकिँदैन’ भनी विदेश पलायन हुनेहरुको भन्दा बढी आम्दानी गर्न थालेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

बेनी नगरपालिकासहित मंगला, मालिका, धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा कृषि र पशुपालनमार्फत स्थानिय बासिन्दामा आएको सकारात्मक परिवर्तनलाई ‘स्वःतस्फुर्तरुपमा भएको कृषि क्रान्ति’ को संज्ञा दिँदा फरक नपर्ने कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउँछन्।

केही वर्षअघिसम्म परम्परागत कृषिलाई ‘निर्वाहामुखी खेतीपाती’ भनिने गरेकामा अहिले आधुनिक प्रविधि, बीउबिजन र व्यावसायिक उद्देश्यका साथ खेती गर्न थालिएपछि दोब्बर उत्पादन र पर्याप्त आम्दानी गर्न किसान सफल भएका छन् । प्रविधि र बजारीकरणमा पहुँच भएका तथा कृषिको व्यावहारिक ज्ञान पाएका कृषकले उल्लेख्य सफलता पाए पनि विकट गाउँका कृषक भने परम्परागत कृषि प्रणालीमै अल्झिएको पाइएको छ ।

जिल्लाका लुलाङ, मुदी, मुना, बिम, गुर्जालगायतका गाउँमा अहिलेसम्म पनि व्यावसायिक खेतीको शुरुआत हुनुसकेको छैन । यातायातका साधन सञ्चालन नहुँदा, स्थानीयवासीमा प्राविधिक चेतनाका साथै व्यावसायिक खेतीप्रतिको अनभिज्ञता, दुर्गम भौगोलिक धरातललगायतका कारण ती क्षेत्रमा अहिलेसम्म पनि निर्वाहमुखी खेतीकै भर पर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

भौगोलिक विकटताकै कारण आलु, स्याउलगायतका नगदे तरकारी तथा फलफूलको प्रचुर सम्भावना रहे पनि व्यावसायिक खेतीको आकार दिन नसकिएको गुर्जाका किसान रिद्धबहादुर छन्त्याल बताउँछन्।

सडक पुगेका शिख घारजस्ता केही गाउँमा पनि प्राविधिक तथा आधुनिक खेतीप्रतिको ज्ञान नहुँदा किसान आलुखेतीमा मात्र सीमित छन् । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला खेती भएको र माथिल्लो क्षेत्रका केही भागमा आलु उत्पादन पर्याप्त हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

आधुनिक प्रविधिको खेतीप्रतिको ज्ञान, सिँचाइ, दक्ष जनशक्ति लगायतको समस्याका कारण ग्रामीण भेगमा गहुँ, फापर र कोदोको खेती हुने गरेको छ । वर्षात्को समयमा लगाइने यस्ता खेतीले माटो सुहाउँदो खेतीको तुलनामा १० प्रतिशतभन्दा कम उत्पादन हुने गरेको छ।
 

 

प्रकाशित: ११ पुस २०७४ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App