१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘थेरानोज’को सपना पछ्याउँदै नयाँ कम्पनी

सुन्दरता र प्रतिभा दुर्लभ हुन्छ भन्थे तर उनी अपवाद थिइन्। ‘म स्टिभ जब्सजस्तै बन्न चाहन्छु’ उनी भन्ने गर्थिन्। त्यसैले उनलाई धेरैले ‘लेडी स्टिभ जब्स’ समेत भन्थे।

उनी सानैदेखि पढ्नमा तेज थिइन्। भन्थिन्, ‘म संसार बदल्छु’ र धेरैले पत्याए पनि! उनको सपनामाथि लाखौं डलर खन्याए पनि ! फलतः खडा भयो एउटा कम्पनी ‘थेरानोज’। कम्पनीले एक थोपा रगतबाट तपाईंको शरीरमा भएका सयौं रोग पत्ता लगाउन सकिन्छ भन्ने दाबी गर्थ्याे। भन्थ्यो, ‘एउटा यस्तो भाँडो तयार छ, जसले स्वास्थ्य उद्योगमा कायापलट गर्नेछ। यो स्वास्थ्य क्षेत्रको नयाँ ‘आइफोन’ बन्नेछ।’

यस्ता गफ गरेर आधा दशक बित्यो तर भनेजस्तो भाँडो तयार भएन। समय लम्बिँदै जाँदा र वाल स्ट्रिल जर्नलले एलिजाबेथको भाँडोमा दम नभएको लेखेपछि केहीले मुद्दा हाले। उनी ठगी अभियोगमा जेल परिन्। उनी थिइन्, एलिजाबेथ होम्स।

एलिजाबेथको उत्थान र पतनमाथि बेस्टसेलर किताब लेखियो, गज्जबको टेलिभिजन शृङ्खला पनि बन्यो। भविष्यमा अझै बन्लान् पनि। नबनुन् पनि कसरी? आखिर ‘थेरानोज्’ शताब्दीकै सबैभन्दा खराब ‘बिजनेस स्टोरी’मध्ये एक प्रमाणित जो भयो!

डेभिड स्टेइनले एलिजाबेथको अधुरो सपना पूरा गरिरहेको दाबी गर्दै केहीले बजारमा यतिबेला नयाँ कथा सुनाइरहेका छन्। मेडिकल कम्पनी सिमेन्समा इन्जिनियरका रूपमा काम गरेका डेभिडले ‘बाबसन डायग्नोस्टिक्स’ कम्पनी स्थापना गरेर एउटा यस्तो मेडिकल डिभाइस बनाएको दाबी गरिरहेका छन्, जसले ५० खर्ब डलर बराबरको मेडिकल डिभाइसको व्यापारमा हस्तक्षेप गर्ने छ।

एक थोपा रगत जाँच गरेर ७० प्रतिशत रोग पत्ता लाग्छन् तर संसारका ४० प्रतिशत रोगीहरू सुई घोपाउनबाट डराउँछन्। यस्तोमा सानो सुईले चुस्स घोची थोरै रगत निकालेर मानव शरीरका ७० प्रतिशत रोग थाहा पाउन सकिन्छ भने त्यो त मानव जातिकै लागि बरदान भइहाल्यो नि!

सबैले यही सोच्छन्। एलिजाबेथले पनि यही सोचेकी थिइन् तर सफल भइनन्। अहिले डेभिडले गरेको दाबी पनि त्यही हो। कम्पनीको दाबी अनुसार अहिलेसम्ममा सात लाख परीक्षण गरिसकिएको छ र तीन हजार मानिसको स्वास्थ्यका लागि यो भाँडो उपयोग भइसकेको छ।

डेभिड भन्छन्, ‘थेरानोजले सही समयमा सही कुरा उठाएको थियो तर प्रविधिले तिनीहरूलाई असफल बनायो।’ ‘थेरानोज’को मूल्य कुनै बेला १० खर्ब डलर बराबर थियो। जब सन् २०१६ मा द वाल स्ट्रिट जर्नलले कम्पनीको उत्पादनमाथि प्रश्न गर्न थाल्यो र आर्थिक अनियमितताको काण्डमा फस्यो, त्यसपछि डेभिडले नयाँ कम्पनी स्थापना गरे किनभने सही समय यही हो भन्ने उनलाई लाग्यो।

पाँच करोड डलर खर्च र सात वर्ष लामो संघर्ष गरेपछि बबसन कम्पनीले बल्ल एउटा सहारा पायो, जुन ‘थेरानोज’ले सपना पूरा होस् भन्ने कामना मात्र गरिरहेको थियो।

यत्तिका लामो समयदेखि यो कम्पनी अरूको नजरबाट जोगिन खोजिरहेको थियो किनभने धेरैले थेरानोजजस्तै ठग्न आएको कम्पनीका रूपमा बबसनलाई नलिऊन् भन्ने डेभिड चाहन्थे।

यतिबेला एलिजाबेथको सपना साकार बनाउन अर्का व्यक्ति डेभिड मेडिकल बजारमा आइपुगेका छन्। ‘डेभिडको कथा एलिजाबेथको जस्तो रोचक छैन,’ द टाइम्स पत्रिकाले लेखेको छ,’ झ्याउलाग्दो कथाको अन्त्य पनि कहिलेकाहीँ उचित तवरले हुन्छ भन्ने उदाहरण यो एउटा कम्पनी बनेको छ।’

प्रकाशित: १६ आश्विन २०८० ०४:२२ मंगलबार

एलिजाबेथको उत्थान र पतनमाथि बेस्टसेलर किताब ‘थेरानोज’को सपना पछ्याउँदै नयाँ कम्पनी