३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

वर्षायामले रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु

वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ। पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन।  

हट एयर बेलुन संचालक बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेका अनुसार विहीबारबाट पोखरामा बेलुन उडान सुरु भएको छ। ‘साहसिक पर्यटकले रुचाएको प्रडक्ट हो। वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकियो, अब फेरि सुरु भएको छ,’ बाडेले भने। 

बेलुन नेपालले अब पोखरामा दुइवटा बेलुनमार्फत पर्यटकलाई आकाशमा सयर गराउने उनले बताए। ‘८ र ६ जना पर्यटक अट्ने बेलुन हामीसँग छन, तिनै बेलुनमा राखेर पाहुनालाई पोखराको आकाशमा सयर गराउँछौं,’ उनले भने, ‘पाहुना बढ्नासाथ उडानमा समस्या हुँदैन।’ साहसिक पर्यटकको आगमन बढ्दै जाने र पर्यटकीय सिजन सुरु भएकोले पनि दुइवटा बेलुन प्रयोग गर्ने उनले बताए ।

हट एयर बेलुनमा उड्ने पर्यटकले पोखराको दृश्यावलोकन गर्छन। फेवातालको सिरानक्षेत्रको पामेमा सञ्चालित बेलुनमा एकपटकको उडानमा आन्तरिक पर्यटकले नौ हजार पाँचसय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एकसय अमेरिकी डलर र विदेशी पर्यटकका लागि १ सय ३० अमेरिकी डलर शुल्क लिने उनले बताए।  

करिब ६ हजार फिट माथिसम्म बेलुन सयर गर्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव मन्दिर, सराङकोट मान्द्रेढुंगाबाट उडेका प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए। कम्पनीले बेलुन उडानका लागि अमेरिकी र भियतनामी गरी दुईजना पाइलट पनि राखेको छ।  

बाडेका अनुसार बिहान र बेलुका गरी दुई पटक उडान गरिन्छ। बिहान पाँचदेखि ८ र बेलुकी ४ देखि ६ बजेसम्म उडान गरिने उनले बताए। ‘सनराईज र सनसेट’ देखाउने गरि अहिले उडानको तालिका बनाएको पनि उनले बताए।  

प्रकाशित: २९ भाद्र २०८० १०:१६ शुक्रबार

हट एयर बेलुन पोखरा