१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

वर्षौंदेखि डुंगाको भर

सुनकोसीको बंशिलाघाटमा डुंगा तर्दै स्थानीय । तस्बिर : विशाल भट्टराईको फेसबुक

खोटाङ – पुलका कारण धेरैजसो नदीमा डुंगा विस्थापित भइसकेको छ । स्थानीयको बाक्लो ओहोरदोहोर हुने अधिकांश नदीको घाटमा हाल पुल बनिसकेको छ । तर, खोटाङ र उदयपुरको सीमामा पर्ने सुनकोसीस्थित बंशिलाघाटमा भने नदी तर्नका लागि सदियौंदेखि डुंगा प्रयोग हुँदै आएको छ । 

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डी जोड्ने बंशिलाघाटबाट अहिले पनि दैनिक स्थानीयको बाक्लो ओहोर–दोहोर भइरहन्छ । बंशिलाघाट पौवासेरा, देविस्थान, मौवाबोटे, चिसापानी, दिप्लुङ, डम्बर्खुशिवालय, काहुले लगायतका स्थानीयको तराई आउजाउ गर्ने मुख्य नाका हो । उनीहरु पुल अभावमा यही घाटमा चल्ने डुंगा चढेर सुनकोसी तरेर उदयपुरको बेलटार हुँदै धरान, विराटनगर र काठमाडौंसम्म पुग्ने गरेको स्थानीय दिपक राईले बताए । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको तराईबाट नुनदेखि सुन भिœयाउने बाटो पनि यही हो । 

स्थानीयले तिनै डुंगाबाट नदी तारेर सुन्तला, सिन्कौली, अम्रिसोसम्मका कृषि उपज बिक्री गर्न सहर लैजाने गरेका छन् । ‘सहर जाने आउने बाटो यही हो,’ कांग्रेस नेता रहेका राईले भने, ‘यस क्षेत्रका सर्वसाधारणले त्यही डुंगाबाट नुनतेल, लुगाफाटो, चामल लगायत उपभोग्य सामग्री तारेर ल्याउने गरेका छन् ।’ बंशिलाघाटमा नदी तर्ने एकमात्र साधन डुंगा मात्र हो । हालसम्म पुल नबन्दा खोटाङका सावाखोला पारिका १३ गाविसका सर्वसाधारण बंशिलाघाटमा डुंगा प्रयोग गर्न बाध्य छन् । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बने पनि मोटरेबल पुल बन्न नसकेको स्थानीयको गुनासो छ । 

बंशिलाघाट सदरमुकाम दिक्तेलबाट सबैभन्दा टाढा पर्ने ठाउँमध्ये एक हो । सो ठाउँमा परम्परागत डुंगा कहिलेदेखि सञ्चालनमा आएको भन्ने यकिन छैन । मानवबस्ती बस्न सुरु भएदेखि नै बंशिलाघाटमा डुंगाको प्रयोग सुरु भएको स्थानीयको अनुमान छ । बंशिलाघाट भौगोलिक रुपमा पनि विकट क्षेत्रमा पर्छ । पुलको एकमात्र विकल्पका रुपमा डुंगा चल्ने बंशिलाघाटमा नदी तर्ने क्रममा स्थानीयले शुल्क तिर्नुपर्ने व्यवस्था छ । शुल्क संकलन र डुंगा सञ्चालनका लागि सो स्थानमा हरेक वर्ष ठेक्का लगाउने गरिएको छ । द्वन्द्वकालपछि सुरक्षाका कारण ठेक्का हाल्न छाडेको जिल्ला समन्वय समितिले पुनः दुई वर्ष अघिदेखि आफैं ठेक्का लगाउँदै आएको छ । 

द्वन्द्वकालदेखि दुई वर्ष अघिसम्म भने स्थानीयले बनाएको समितिले विद्यालयका लागि स्रोत जुटाउने गरी वार्षिक रुपमा डुंगा चलाउने ठेक्का लगाउँदै आएको थियो । डुंगा चलाउन ठेक्का लिने व्यक्तिले माझी नियुक्ति गरेर घाट चलाउने गरेको राईले बताए । डुंगा चलाउने ठेक्का पौवासेरा र उदयपुर चौदण्डीका स्थानीयले लिने गरेका छन् । नदी वारिपारिका ठेकेदारले संयुक्त रुपमा डुंगा चलाउने माझीलाई तलब दिने गरेका छन् । नदीमा बाढी आउन थालेपछि हरेक वर्षायाममा घाट बन्द हुन्छ । डुंगा बन्द भएपछि स्थानीय घन्टौं हिँडेर पौवासेराकै पश्चिमी क्षेत्रमा रहेको चमेरेस्थित झोलुंगो पुल प्रयोग गर्न बाध्य हुन्छन् । 

उदयपुर जाने बाटोमा पर्ने फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्नुअघि टेम्मा, रतन्छा, मात्तिम लगायत किसान पनि बंशिलाघाटकै डुंगा तरेर सुन्तला बिक्री गर्न बेलटार लगायत सहर पुग्ने गरेका थिए । पछिल्लो समय दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिङटारबाट उदयपुरको गाईघाट जाने आउने बाटो खुलेपछि भने टेम्मा, रतन्छा, मात्तिम लगायत स्थानीयले बंशिलाघाटको बाटो प्रयोग गर्न छाडेका छन् । 

डुंगा विस्थापित गर्न झोलुंगे पुल बन्दै
खोटाङ र उदयपुरको सीमामा पर्ने सुनकोसीस्थित बंशिलाघाटमा ढिलागरी झोलुंगे पुल निर्माण सुरु गरिएको छ । एक करोड ४३ लाख लागतमा १५ महिनामा पूरा गर्ने गरी २०७२ असार ८ गते झोलुंगे पुल शिलान्यास गरिएको थियो । दुई सय ३० मिटर लम्बाइ भएको पुल निर्माणको ठेक्का जगदम्बा र शंकरमाली जेभीले लिएको छ । पुल बनेपछि डुंगा विस्थापित हुने सांसद विशाल भट्टराईले बताए । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०६:०८ शुक्रबार

वर्षौंदेखि डुंगाको भर