काठमाडौं– ‘अरु कालो रेलको धुवाँले, म त कालो छातालार्इ ओड्दै नओड्नाले’, लालबहादुर खातीले भारतमा कोइलाबाट चल्ने रेलको अवस्थालाई लिएर यो गीत गाउँदा नेपालकाे एक ठाउँमा रेल मार्ग सञ्चालनमा थियो। जनकपुरको त्यो रेलमार्ग अहिले बन्द छ। नेपालको इतिहासमै अहिले रेलमार्गको बहस सबैभन्दा तीव्र रुपमा भइरहेको छ।
ट्रान्स एशियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन। तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई 'मिसिङ लाइन'को रुपमा गणना गरेको छ। ‘अहिले हाम्रोमा रेल्वेमार्ग नभएका कारण नेपाल मिसिङ लाइनको रुपमा देखिन्छ’, उपाध्यायले नागरिकन्युजसँग भने, ‘भोलि सिंगापुर र युरोपका रेल नेपाल आउने स्थितिमा पनि त्यो गुड्न मिल्ने गरीको संरचना बनाउँदैछौं।’
यो बहसलाई चर्काइदिएका थिए तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले। उनले पूर्व–पश्चिम रेलमार्ग रसुवागढी–काठमाडौं—पोखरा रेलमार्ग तथा काठमाडौं—लुम्बिनी रेलमार्गको बहस राम्रैसँग चलाए। ‘ओलाचना गर्नेहरु कराउँदै गर्छन्, अलि पछाडि हामी सर्भे सक्छौं, काठमाडौं–पोखरा रेल हुँइकिन थाल्छ’, उनले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएका थिए, भलै उनको अभिव्यक्तिलाई हावादारी भनेर धेरैले उडाए।
राजनीतिक नेतृत्वले उच्च स्वरमा रेलमार्गको वकलात गर्न थालेपछि जनताले रेलको सपना देख्नु स्वभाविकै भयो। कलाकार राजनराज शिवाकोटीले चलचित्र ‘छक्का पञ्जा’का लागि गीत लेख्दै विपनामा नभई सपनामा रेल चढेको कुरा उल्लेख गरे : ‘पूर्व–पश्चिम रेल, छुकछुक गुडेको सपना देखेँ मायालु तिमीसँगै रिङरोड घुमेको...।’
के हुँदैछ मेची–काली रेल ?
रेल्वे विभागका अनुसार मेची–महाकाली रेलमार्गको लम्बाई करिब ९ सय ४५ किलोमिटरको हुनेछ। विभिन्न खण्डमा पूरा गरिने यस आयोजनाको बर्दिबास–सिमरा (१०८ किमी) खण्डको निर्माण कार्य २०७१ सालदेखि भइरहेको छ।
शिलान्यास गरिएको सर्लाहीको रानीगन्जदेखि महोत्तरीको बर्दिबाससम्म २४ किलोमिटरमा सिभिल इन्जिनियरिङ अन्तर्गतका काम भइरहेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए।
उनका अनुसार हाल बर्दिबास–सिमरा खण्डमा ९ वटा स्वदेशी निर्माण कम्पनीहरुले ९ प्याकेजमा सिभिल निर्माणको काम गरिहेका छन्। यस खण्डका लागि कुल ४ अर्ब रुपैयाँको लागतमा पुल, कल्भर्ट निर्माण, रेल ट्रयाकमा माटो उठाउने, लिकभन्दा तलकाे आधार तयार गर्नेजस्ता सिभिल निर्माणका कामहरु भइरहेका छन्। बहुवर्षे ठेक्का अन्तर्गत तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन। नाकाबन्दी, मधेस आन्दोलन, निर्माण सामग्रीको अभावलगायत कारणले काम समयमै नसकिएको उनले बताए।
बर्दिवासदेखि सिमरासम्मको १ सय ८ किमी रेलमार्गको कोरियाली र नेपाली कन्सल्टेण्ट कम्पनीले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरेका थिए। बर्दिबासदेखि पूर्व काँकडभिट्टासम्म डीपीआर तयार गर्नका लागि २ कन्सल्ट्यान्ट कम्पनी छनोटमा परेका छन्। सिमरादेखि–तम्सरियासम्मको खण्डमा राष्ट्रिय निकुञ्ज भएर रेलमार्ग खोल्नु पर्ने भएको र निकुञ्जले जमीन उपलब्ध नगराउँदा हाल निजगढ–हेटौंडा–नारायणगढ हुँदै तमसरिया खण्डको डिपिआर तयार गर्नेबारे विभागले तयारी थालेको छ। बुटबल–कोहलपुर र कोहलपुर–महाकाली खण्डका लागि पनि डिपिआर तयार गर्ने कन्सल्ट्यान्ट कम्पनी छनोट गर्न विभागले बोलपत्र आह्वान गरेको छ।
सिंगापुरबाट आएको रेल नेपाल हुँदै युरोप पुग्न सम्भव छ
ट्रान्स एशियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन। तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई 'मिसिङ लाइन'को रुपमा गणना गरेको छ। ‘अहिले हाम्रोमा रेल्वेमार्ग नभएका कारण नेपाल मिसिङ लाइनको रुपमा देखिन्छ’, उपाध्यायले नागरिकन्युजसँग भने, ‘भोलि सिंगापुर र युरोपका रेल नेपाल आउने स्थितिमा पनि त्यो गुड्न मिल्ने गरीको संरचना बनाउँदैछौं।’
ट्रान्स एशियन रेल्वे लाइनको नक्सा
रेलमार्गको पछिल्लो ट्रेन्ड अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोड्ने रहँदै आएको छ। ट्रान्स एशिया रेल्वेमार्गलाई सिंगापुर—कम्बोडियो—थाइल्याण्ड–म्यानमार–बंगलादेश–भारत–नेपाल–भारत–पाकिस्तान—अफगानिस्तान–इरान हुँदै युरोपसँग जोड्न सकिने उनको भनाइ छ।
सिंगापुरबाट युरापेली मुलुकमा समुद्री मार्गबाट वस्तु आयात–निर्यातमा करिब २ महिना समय लाग्ने गरेको छ। सिंगापुरदेखि नेपालको बाटो हुँदै युरोप पुग्न मालबाहक रेललाई करिब ७ दिनमै सम्भव हुने अध्ययनहरुले देखाएका छन्। ‘दुई सय किलोमिटर प्रतिघन्टा कुद्ने रेलका लागि हामीले संरचना बनाउनुको कारण पनि त्यही हो’, उनी भन्छन्।
यो बाहेक नेपालको मेची–निजगढ–हेटौंडा–काठमाडौं–केरुङ–मंगोलिया–रसिया रेलमार्गमा जोडेर ट्रान्स साइवेरियन रेलमार्गसँग जोड्न पनि सकिने देखिएको छ। करिब ४ हजार किलोमिटर दूरीको ट्रान्स साइबेरियन रेल्वे संसारकै सबैभन्दा लामो दूरीको रेल लाइन हो। युरोपसँगको व्यापारका कारण पछिल्लो समय विश्वका हरेक रेलमार्गहरु ट्रान्स साइवेरियन रेलमार्गसँग जोडिने गरी डिजाइन गर्न थालिएका छन्। एशियाको उदाउँदो अर्थतन्त्र मानिएको दक्षिण कोरियाले पनि व्यापार प्रवर्द्धनका लागि पछिल्लो समय आफ्नो रेलमार्गलाई यही ट्रान्स साइवेरियन सञ्जालसँग जोड्ने प्रयास गर्दै आएको छ। रेल विभागले यही तथ्यलाई ध्यानमा राखेर अहिले अन्तराष्ट्रिय मापदण्डमा मेची–महाकाली रेलमार्गको डिजाइन गरिहेको हो।
कति समयमा पूरा हुन्छ ?
कुटनीतिक अवारणमा हुने चलखेल र अस्थिर राजनीतिको भुँवरीमा हराइरहेको नेपालमा कुनै पनि ठूला योजना समयमै पूरा हुन सकेका छैनन्। यति ठूलो परियोजना पूरा गर्न कति समय लाग्छ त ? उपाध्याय भन्छन्, ‘सबै परिस्थिति सहज भए ८ वर्षभन्दा बढी लाग्दैन। विश्वका धेरैजसाे मेगा परियोजनाहरु बढीमा ५ वर्षभित्रमा निर्माण पूरा भएका छन्।’
फाेटाे–भिडियाेः प्रबिन काेइराला
प्रकाशित: ६ पुस २०७३ १०:३९ बुधबार