भरतपुर महानगरपालिका ६ का नरेन्द्रप्रसाद कन्दङ्वाले २०५५ सालदेखि बंगुर पालन गर्दै आएका छन्। देशकै ठूलो फार्म मानिएको कन्दङ्वाको खोरमा १ हजार ३ सयको हाराहारीमा बंगुर हुन्थे। आजभोलि भने उनको खोर खाली छ। अफ्रिकन स्वाइन फिभरका कारण सबै बंगुर एकैपटक मरे। ‘भरतपुर ६ मा पाथिभरा पशुपालन तथा दाना उद्योग थियो। त्यहाँ १ हजार २ सय ३० बंगुर थिए,’ कन्दङ्वाले भने, ‘साउनको पहिलो हप्तादेखि भदौ १५ सम्मको अवधिमा सबै बंगुर मरे।’ उनको फर्ममा ९ सय ६५ बयस्क र २ सय ६५ पाठापाठी थिए। जसबाट ३ करोड २ लाख ७५ हजार रूपैयाँ घाटा भएको उनको भनाइ छ।
पहिलोपटक चितवनमा साउन ४ गते उनको फर्ममा देखिएको स्वाइन फिभर विस्तारै अन्य फर्ममा देखा पर्यो। भदौ ९ गते इच्छाकामना गाउँपालिका ७ मा गोपी मल्ली डोमले पालेको बंगुरमा पनि देखियो। त्यहाँका ५ सय १ बंगुर मरे। त्यसपछि असोज २४ गते वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालन गर्दै आएका वसन्त रानाका फर्ममा पनि देखियो। खैरहनी नगरपालिका ४ मा गौशला कृषि तथा पशु फर्म खोलेर बंगुर व्यवसाय गरिरहेका रानाका ८३ वटा बंगुर यही कारणले मरे। अहिले उनको खोर खाली छ। ‘९ वर्ष कतारमा परिश्रम गरेर कमाएको पैसा बंगुरमा लगानी गरेको थिँए’ उनले भने, ‘वर्षदिन नपुग्दै अफ्रिकन स्वाइन फिभर आएर सकिए।’ उनले ६० लाख लगानी गरेको बताए। एउटा बंगुरलाई २४ हजारसम्म पर्ने भइसकेको उनले बताए।
चितवनमा अफ्रिकन स्वाइन फिभरका कारण ठूलो संख्यामा बंगुर मरेका छन्। ‘साउन महिनादेखि हालसम्म १२ वटा फर्ममा अफ्रिकन स्वाइन फिभर देखिएको छ। जसबाट ३ हजार ४१ बंगुर मरेका छन्,’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले भने, ‘चितवनमा ५ करोड ९० लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको छ।’ पछिल्लो समय माघ १२ गते रत्ननगर नगरपालिकाको अस्मिता बंगुर फर्ममा पनि अफ्रिकन स्वाइन फिभर देखिएको छ। त्यहाँ ५८ वटा बंगुर मरेको विज्ञ सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
इच्छाकामना गाउँपालिकाका ३, भरतपुर महानगरपालिकाका ३, रत्ननगर नगरपालिकाका ४ र खैरहनी नगरपालिकाका २ वटा फर्ममा रोग देखिएको छ। सबैभन्दा धेरै पाथिभरा पशु पालन तथा दाना उद्योगका १ हजार २ सय ३० वटा बंगुर मरेका छन्।
अघिल्ला वर्षहरूमा नेपालमा अफ्रिकन स्वाइन फिभर देखिएको थिएन। यस वर्षको बैशाखमा काठमाडौंमा देखिएको थियो। त्यसपछि चितवन भित्रिएको न्यौपानेले बताए। यो रोग सन् १९२१ मा पहिलोपटक अफ्रिकाको केन्यामा देखिएकाले यसलाई अफ्रिकन स्वाइन फिभर नाम दिइएको हो। अहिले भने युरोपियन मुलुक हुँदै एसियन मुलुकका नेपालसहित विभिन्न देशमा फैलिसकेको उनले बताए। उनका अनुसार छिमेकी मुलुक चीनमा सन् २०१८ मा देखा परेको थियो। त्यसपछि भारतको आसामतिर देखा पर्दै गत बैशाखमा काठमाडौंमा देखिएको थियो।
क्लासिकल स्वाइन फिभरले सताइरहेकै अवस्थामा अफ्रिकन स्वाइन फिभर देखा परेपछि यसले बंगुरपालक किसानमा थप त्रास पैदा गराएको छ। यसबाट बच्न सकिने उपाय पनि केही छैन। यो रोगको सङ्क्रमण लामो समयसम्म रहन सक्ने हुँदा यसबाट बच्न सजिलो पनि छैन। यो रोग लागिसकेपछि उच्च ज्वरो आउने, झोक्राउने, दानापानी खान मन नगर्ने, शरीरमा नीला तथा राता धब्बा आउने आदि लक्षण देखा पर्ने न्यौपानेले बताए। जैविक सुरक्षा अपनाएर केही सचेत हुनुपर्ने उनले बताए।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले क्षतिपूर्तिका लागि विवरण प्रदेश मन्त्रालयमा पठाएको छ। ‘प्रदेश सरकारको कार्यविधिमा दैविक प्रकोप तथा विपत्तिबाट भएको क्षतिको राहत दिने व्यवस्था छ। जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको समितिले कार्यविधि अनुसार, किसानले बुझाएको विवरण मन्त्रालयमा पठाएका छौं,’ कार्यालयका प्रमुख डा.सुरेन्द्र केसीले भने, ‘अहिलेसम्म १२ वटा फर्ममध्ये ९ वटाको फाइल मन्त्रालय गएको छ।’ कार्यविधिले दैविक विपत्ति तथा प्रकोपबाट क्षति भएमा एउटा फर्मलाई बढीमा १० लाख रूपैयाँ क्षतिपूर्ति दिन मिल्ने व्यवस्था गरेको छ तर चितवनमा धेरै नोक्सान भएको छ। सानो बंगुरको ५ र ठूला बंगुरको १० हजारसम्म क्षतिपूर्ति दिन मिल्ने व्यवस्था भएको उनले बताए। चितवनका अधिकांश किसानले बिमा नगरेका कारण समस्यामा परेका छन्। क्षति भएका ३ हजार ४१ बंगुरमध्ये ३८२ वटाको मात्र बिमा भएको छ।
यो रोगको विषयमा चितवनका किसानलाई भेला गराएर सचेत गराएको थियो। यो समस्या चितवनमा भित्रिन नदिन विभिन्न उपाय अपनाए पनि देखा परेपछि अब अन्य फार्ममा प्रवेश हुनबाट जोगाउनुपर्ने चुनौती थपिएको डा. केसीले बताए। ‘चितवनमा बड्फ्लु गत वर्ष ३७ पटकदेखिएको थियो। त्यति खेर नै हामीले बंगुर पालक किसानलाई पनि जैविक सुरक्षा अपनाउन अनुरोध गरेका थियौं’ उनले भने। चितवनमा १६ हजार ८ सय ७६ वटा बंगुर रहेको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित: १४ फाल्गुन २०७९ ०१:४१ आइतबार