१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

चिनियाँ दुतावासलाई पर्यटन व्यवसायीको पत्रः पर्यटकका लागि नेपाल खुलाइदिनुस्

पोखरामा चिनियाँ पर्यटक। फाइल तस्बिर/ नागरिक

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिनेर र आन्तरिक सहित अरु मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाई हुने हुँदा व्यवसायी केहीवर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झनै खुसी थिए।

तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुइ अकंमा झरेको थियो। तर, संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने अझै पनि भित्रिन पाएका छैनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन।  

व्यवसायीका अनुसार चिनियाँ पोखराको पर्यटनमा चिनियाँ पाहुनाको हिस्सा निकै नै राम्रो थियो। भारतीय पनि थपिँदा व्यवसाय सहज बनेको थियो। भारत र चीन बाहेक तेश्रो मुलुक र आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटक क्षेत्रले वर्षेनी आकार बढाईरहेको थियो। तर, कोरोना संक्रमण सुरु भएपछि भने चिनियाँ पर्यटक आउन पाएका छैनन। भारतीय र आन्तरिकको भरमा व्यवसाय धान्न सकस भईरहेको व्यवसायीको गुनासो छ।

चिनियाँ पाहुनालाई नेपाल घुम्ने बाटो खुलाइदिनु भन्दै पोखरेली व्यवसायीले अहिले कुटनीतिक निकाय गुहार्न थालेका छन्। होटल संघले नेपालस्थित चिनियाँ राजदुतलाई पत्र पठाउँदै चिनियाँ पाहुनाको पर्खाइमा व्यवसायी रहेको उल्लेख गरेका छन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले पत्रमा भनेका छन, ‘कोभिड–१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको छ। सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएकै वखत चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निरास भएको छ।

अध्यक्ष सुवेदीका अनुसार कोभिडसँगै आफ्ना नागरिकको बाह्य भ्रमण रोकेको चीनले करिब तीन बर्षपछि २० वटा मुलुकमा घुम्न जान पाउने गरि नाम सार्वजनिक गरेको थियो। तर, त्यसमा नेपाल समेटिएको थिएन। दुतावासलाई लेखेको पत्रमा चिनियाँ पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई घुम्न जानका लागि २० वटा देशलाई सुचीकृत भएपनि नेपाल नसमेटिएको अध्यक्ष सुवेदीले बताएका छन्। ‘सार्वजनिक गरिएको देशको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गरिएको छ। उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न सघाउ पुग्ने थियो,’ सुवेदीले भनेका छन।  

पाहुना घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी चिनियाँ पर्यटकको लागि उपयुक्त रहेको पनि पत्रमा उल्लेख छ। चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरु सरिक हुने गरेको उल्लेख पनि गरिएको छ। ‘चिनियाँ पर्यटक आउन पाउने हो भने नेपालको पर्यटन क्षेत्रले अझै गति लिने थियो, तर, पाहुना आउनै पाएनन,’ उनले भने।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, २०१९ मा १ लाख ६९ हजार ५४३, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९८ र २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को पहिलो महिना जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१ छ।  

‘चिनियाँ पर्यटकलाई चीनले नै नेपाल घुम्नका लागि प्रतिबन्ध लगाएको छ। यसले गर्दा चाहेर पनि चिनियाँ पर्यटक नेपाल आउन पाएनन,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘चिनियाँ पर्यटक भिœयाउनका लागि सरकारले पहल नगर्ने हो भने पर्यटन क्षेत्र अझै नोक्सानमा पर्नेछ।’ चिनियाँ पाहुना भिœयाउने पहल गर्नका लागि चिनियाँ सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्ने श्रेष्ठले बताए। कोरोना त्रासै कारण पाहुना आउन नसकेका हुन् भनेपनि सावधानी अपनाउन सकिने उनले बताए।

व्यवसायीका अनुसार चिनियाँ पाहुनाले पोखरा घुमघामलाई निकै नै रुचाउँछन्। पोखराको आकाशमा प्याराग्लाईडिङ गर्नकै लागि पनि चिनियाँ पर्यटक पोखरा आउने गरेको व्यवसायीले बताउँदै आएका छन्। व्यवसायीका अनुसार पोखरा भित्रिएकामध्ये करिब ९० प्रतिशत चिनियाँ पाहुना यहाँको आकाशमा प्याराग्लाइडिङमा उड्ने गरेका थिए तर, अहिले चिनियाँ नहुँदा पर्यटन क्षेत्र नोक्सानमा रहेको अध्यक्ष श्रेष्ठले बताए।  

सन् २०१४ मा एकलाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। त्यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झरेकोमा सन् २०१६ र २०१७ मा आगमन बढेर एकलाख चार हजारमा उक्लिएको थियो। चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। उनीहरु समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट झन्डै डेढदर्जन छन्।

चीनले आफ्ना नागरिक घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडिएस)’ मा नेपाल पनि छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिरहेको बेला चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’मा राखेको थियो। एडिएस मुलुकमा घुम्न चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्।

सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।

प्रकाशित: २२ माघ २०७९ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App