१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

जेठल (सिन्धुपाल्चोक)- सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

'ब्रान्ड नामसहित ट्यागिङ र प्याकिङ भएर तीन महिनादेखि मुडे आलु राजधानी निर्यात भइरहेको छ,'  जेठदेखि ब्रान्ड नाममा आलु उत्पादन गरेर बिक्री गरिरहेको साना किसान तथा कृषि सहकारी संस्थाका अध्यक्ष मकरबहादुर तामाङले नागरिकसँग भने। उनका अनुसार जुटको बोरा र प्लास्टिकको झोलामा ३०, १० र ५ केजी दरमा मुडे आलु राजधानीका बजारमा उपलब्ध छ।

'योसँगै पसलेले मुडेको भनेर अन्यत्रकै आलु भिडाउँदा हैरान उपभोक्ता ठूलो राहत पुगेको विश्वास छ,' मुडे आलुलाई ब्रान्ड नाम दिन ठूलो प्रयास गरेको संस्थाका अध्यक्ष तामाङ भन्छन्, 'मुडेको आलु पारखीले विना झुक्यावट अर्गानिक उत्पादन खान थालेका छन्।' कृषि मन्त्रालयले दुई वर्षअघि नै मुडे आलुको ब्रान्ड स्थापित गर्न प्याकिङ र ट्यागिङ कार्यक्रम दिएको थियो। कार्यक्रम पाए पनि झोला बनाउन र ग्रेडिङ गर्ने मेसिन ल्याउन समय लाग्दा ब्रान्डमा लैजान ढिलाई भएको थियो। गत वर्ष नै २५ टन आलु प्याकिङ र ट्यागिङ गरेर ब्रान्डसहित राजधानी पुर्‍याउने कार्यक्रम रहे पनि सोही कारण हुन सकेको थिएन।

ब्रान्ड नाम पाएयता १ लाख केजी मुडे आलु कालीमाटी फलफूल तथा तरकारी संकलन केन्द्रमार्फत खपत भइसकेको जेठलकै अगुवा किसानसमेत रहेका तामाङ बताउँछन्। आकारअनुसार साना–ठूला छुट्याएर ग्रेडिङ गरिएको बोरा र झोलामा 'मुडे आलु' ब्रान्ड लेखिएको छ। त्यसमा उत्पादन गर्ने संस्थाको नाम, ठेगाना र परिमाण पनि उल्लेख हुँदै आएको छ। निकै स्वादिलो मानिने मुडे आलुको माग राजधानीमा उच्च छ। २२ सय मिटर उचाइको हिमाली हावावानीमा मुडे र आसपासको क्षेत्रमा उत्पादन हुने बर्खे आलु उपत्यका र छिमेकी जिल्लामा लोकप्रिय छ।

उपभोक्ताको माग र हितलाई ध्यानमा राखेर ब्रान्ड स्थापित गर्न सरकारले जिल्ला कृषि कार्यालयमार्फत ब्रान्डको कार्यक्रम दिएको थियो। 'ब्रान्डले मुडे आलुको नाममा उपभोक्तालाई ठगिनबाट रोक्छ,' तामाङ सुनाउँछन्। कार्यालयले चार वर्षअघि मुडे आलु ब्रान्ड स्थापित गर्न कार्यक्रम मागेको थियो। ब्रान्डिङका लागि झोला बनाउन सरकारले कृषि कार्यालय मार्फत गत वर्ष ७५ हजार रुपैयाँ अनुदानमा दिएको थियो। संस्थाले त्यसमा २५ हजार रुपैयाँ लगानी गरेर ३० केजीको जुटका बोरा तथा १० र ५ केजी क्षमताका प्लास्टिक झोला किनेर लोगो र ब्रान्ड नामसहितको सूचना छाप्ने कम गरेको थियो।

जिल्ला लघु उद्यमी संघमार्फत संयुक्त राष्ट्र संघीय कार्यक्रमले मेसिन खरिद गर्न २ लाख रुपैयाँ अनुदान दिएपछि  गे्रडिङ सम्भव भएको संस्थाले जनाएको छ। जिल्लाको मुडे आसपासका हिमाली जेठल, लिसंखु, अत्तरपुर, ठूलोधादिङ गाविसमा उत्पादित आलु बजारमा मुडे नामले चिनिन्छ। मुडेमा संकलन भइ बजार जाने भएकाले पनि मुडे आलु भनिएको हो। यसअघि उपभोक्ता माझ आलुको ब्रान्ड स्थापित भइसके पनि अरुले नै फाइदा लिइरहेका थिए।

किसानद्वारा उत्पादित आलु शिलढुंगामा संकलन गरेर प्याकिङ र ट्यागिङ गरी काठमाडौं पुर्‍याइन्छ। छ। यसका लागि कृषि कार्यालयको ९ लाख रुपैयाँ अनुदानमा चार वर्षअघि नै जेठलको शिलढुंगामा संकलन तथा भण्डारण केन्द्र निर्माण गरिएको थियो। जेठल र आसपासमा उत्पादित सबै खाले तरकारी यसै संकलन केन्द्रमा जम्मा भएर राजधानीको कालीमाटी तरकारी बजार पुग्दै आएको छ।

मुडे आलु बर्खामा मात्र उत्पादन हुन्छ। यो सिजनमा अन्यत्र आलु फल्दैन तर, मुडेमा भने उत्पादन हुन्छ। चिसो हावापानीमा फलेका कारण मुडेको आलु स्वादिलो मानिन्छ।। मुडे आलुको जात 'क्विन रोजिता' हो। कृषि कार्यालयका अनुसार यो जातको बीउ अन्यत्र नलाग्ने भएकाले पनि मुडे आलुले ख्याति कमाउन सक्यो। यो जातको आलु स्वीस सरकारले भिœयाएको मानिन्छ। लामोसाँघु–जिरी सडक बनाउने क्रममा आलु बीउ स्वीस सरकारले बाँडेपछि खेती सुरु भएको पाइन्छ।

यो सडक स्वीस सरकारकै सहयोगमा खोलिएको हो। मुडे बजारका स्थानीय व्यापारीबाट यो जातको आलु प्रतिकेजी २५–२७ रुपैयाँमा खुद्रा बिक्री हुन्छ। संस्थाले ब्रान्डेड आलु प्रतिकेजी ३४ रुपैयाँका दरले कालीमाटी फलफूल तथा तरकारी केन्द्रलाई बेच्दै आएको छ। बजारबाट ४३–४५ केजी दरले उपभोक्ता मुडे आलु किन्न पाउँछन्। कृषि विज्ञहरुका अनुसार यो जातको आलु उत्पादनका लागि जेठल अझ अब्बल छ। व्यावसायिक तरकारी खेतीमा होमिएका यहाँका किसानले आलु बिक्रीबाट मात्र वार्षिक ४ करोड रुपैयाँ गाउँ भिœयाउँदै आएका छन्।

वार्षिक झण्डै २० लाख केजी आलु उत्पादन हुने अनुमान छ। संकलन केन्द्रमा कम्तिमा १० लाख केजी आलु संकलन हुने अध्यक्ष तामाङ बताउँछन्। यही सहकारी संस्थाले संकलन केन्द्र पनि चलाउँदै आएको छ। सहकारी संस्थामा व्यवसायिक खेती गर्न ३ सय १० किसान सदस्य छन्। मुडेको आलु किन्न यसका पारखी राजधानीबाट यहींसम्म आइपुग्छन्। कृषि अधिकारी मुडेको आलु भारतसम्म निर्यात हुन सक्ने बताउँछन्। तर आलुको आकार अनुसार ग्रेडिङ भने गर्नुपर्छ।

मेसिनले तीन आकारमा आलु गे्रडिङ गरिरहेको छ। पहिलो गे्रडिङ हुने सबैभन्दा सानो आकारको आलु बीउको रुपमा प्रयोगमा ल्याइन्छ। संस्थासँग १० टन क्षमताको बीउ भण्डारण छ। दोस्रो पटक ग्रेडिङ हुने मझौला र अन्तिम पटक छानिने सबैभन्दा ठूलो आकारको आलु झोला र बोरामा प्याकिङ भएर उपभोक्ता माझ पुग्ने अध्यक्ष तामाङले बताए।

प्रकाशित: १० भाद्र २०७३ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App