डोटी– तत्कालीन नेकपा माओवादीका लडाकु गैरागाउँ–२, का भरत बोहरा (२८) अहिले व्यावसायिक तरकारी खेती गर्छन् । सानै उमेरमै राजनीति नै सबैथोक हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन पनि महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन् । ‘उतिबेला बन्दुक बोकेर परिवर्तनका लागि हिँडियो,’ उनी भन्छन्, ‘अब कुटो–कोदालो बोकेर आर्थिक क्रान्तिमा जुटेको छु ।’
राजनीतिमात्र गर्दा थुप्रै आर्थिक समस्या भोग्नुपरेको उनी सुनाउँछन् । ‘१० वर्षको संघर्षका क्रममा त सबै सँगसँगै थियौं । त्यतिबेला अभाव कमै महसुस हुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘शान्ति सम्झौतापछि भने पार्टीका साथीहरू आ–आफ्नै घर फर्किए । जीवन फेरि एक्लै सुरु भयो । त्यसपछि आर्थिक अभाव हुन थाल्यो । आफ्नो र परिवारको खर्च धान्न नसकिने भयो ।’
आर्थिक अभाव भएपछि मात्र आफूले आयआर्जन गर्नुपर्दो रहेछ भन्ने कुरा बुझेको उनी बताउँछन् । ‘योजना राजनीति नै गर्ने भएकाले जागिर खोजेर कतै जान पनि मन लागेन । अरु कुनै कमाउने माध्यम पनि थिएन । त्यसैले तरकारी खेती गर्न थालेको हुँ,’ उनी भन्छन् ।
उनले सदरमुकाम सिलगढीमा २० रोपनी जमिन भाँडामा लिएर तरकारी खेती गरिरहेका छन् । तरकारी खेतीबाट मासिक ४०–५० हजार रुपैयाँ कमाइ हुने गरेको उनले सुनाए । ‘धेरै राम्रो भएको छ,’ उनी भन्छन्, ‘फुर्सदमा राजनीति पनि गरिरहेकै छु । आफूलाई पुग्ने गरी आम्दानी भरहेको छ । अरुका लागि पनि नमुना बन्न सकेको छु ।’
आम्दानीका बाटा छाडेर गरिने राजनीति विशुद्ध हुन नसक्ने उनको बुझाइ छ । ‘हरेक मान्छेलाई पैसा चाहिन्छ । पैसा कमाउने बाटो बनाउनुपर्छ,’ उनी भन्छन्, ‘राजनीति विशुद्ध समाज सेवा हो,जहाँ आम्दानी हुन सक्दैन । आम्दानीको स्रोत नभएको राजनीतिकर्मीलाई गलत तवरबाट कमाउनुपर्ने बाध्यता आइलाग्छ ।’
विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस (साउन २८) मनाइरहँदा दिपायलका युवक समिर विष्ट (२५) आफ्नै ब्रोइलर कुखुरा फार्ममा थिए । तर, फार्ममा रहेर पनि आफूले युवा दिवस मनाएको उनले बताए । ‘मान्छेको आ–आफ्नै सोच हो । त्यसैले दिवस पनि आ–आफ्नै सोच अनुसार मनाइन्छ,’ उनले भने, ‘मैले आज (साउन २८ गते) अन्य दिनभन्दा फार्ममा झन् बढी मेहनत गरेर युवा दिवस मनाएँ ।’
आफ्नो यही सोचले नै आफू स्वरोजगार बनेको विष्ट बताउँछन् । ‘अरु साथी १८ वर्ष नलाग्दै विदेशको चक्कर सुरु गर्छन्, अलि पढेलेखेका जागिरको चक्करमा पर्छन्,’ उनले भने, ‘मैले आइएस्सी एजी (कृषि) गरेर कुखुरा फार्म सुरु गरे । यसले गर्दा मैले जागिरका लागि न कसैको खुट्टा ढोग्नुपरेको छ । न विदेश गएर दर्दनाक दःुख भोग्नुपरेको छ ।’
बोहरा र विष्ट दुवैको संघर्ष र कथा फरक भए पनि सोच एउटै छ– स्वरोजगार बन्नुपर्छ । यही सोचले आफूहरू स्वरोजगार बन्न सकेकोमा दुवै गर्व गर्छन् । दुवै आ–आफ्नो काम र त्यसबाट प्राप्त प्रतिफलप्रति सन्तुष्ट छन् । ‘एकदम सन्तुष्ट छु । सानै उमेरमा बुबा मारिए । घरपरिवार तितरबितर हुन पुगे,’ विष्ट भन्छन्, ‘जेनतेन थोरबहुत पढेको पनि छु । अहिले आफैं व्यवसाय थाल्दा र त्यसको आम्दानीबाट अत्याधिक सन्तुष्ट छु ।’
बोहरा भन्छन्, ‘राजनीतिमार्फत समाज सेवा गर्ने मेरो उद्देश्य हो । राजनीति शुद्ध हुनुपर्छ भन्ने मान्यता राख्छु । बदमासी गर्न सकिनँ । नेतालाई रोजगारीका लागि गुहार्न पनि मन मानेने । अनि तरकारी खेती सुरु गरेको हुँ । कमाइबाट पूर्ण सन्तुष्ट छु ।’
युवाले शिक्षा प्रणालीलाई दिने दोष त्यति उपयुक्त नभएको उनको तर्क छ । ‘होला, केही कमजोरी अवश्य छन्, सुधार गर्दै जानुपर्छ, शिक्षा भनेको आफैं सोच बदल्न सक्नु हो । सोच बदल्न सके स्वरोजगार बनिन्छ,’ उनले अनुभव सुनाए ।
प्रकाशित: १ भाद्र २०७३ ०२:२० बुधबार