२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला-२०७९ गर्ने भएको छ। महासंघले कोभिड १९ को कारणले तीन वर्षपछि मात्रै मेला गर्न लागेको हो।

विगतमा महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको भए पनि कोभिड १९ को कारणले आगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा आयोजना गर्न लागिएको हो। महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताएका छन्।

‘नेपालका घरेलु उद्योगले उत्पादन गरेका वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरेका हौं,’ उनले भने, ‘तुलनात्मक लाभका क्षेत्रमा रहेका हाम्रा उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन्।’

महासंघले ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने प्रदर्शनीको मुख्य नारासहित आयोजना गरेको हो। अध्यक्ष सिंहले प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरूको सहभागिता रहने जानकारी दिए।

प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने, दुई लाखभन्दा बढीले मेला अवलोकन गर्ने र सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ। अध्यक्ष सिंहले नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई मेलाले प्रोत्साहन गर्ने दाबी गरे।

‘नेपालका यस्ता उत्पादन उपभोग गर्न उपभोक्ताहरू समेत जागरुक रहेको र नेपाल सरकारले समेत प्रोत्साहित गरिरहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरूबारे आम नागरिकलाई सचेत गराउने र सहज रूपमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्‍याउनेछ’ उनले भने।

प्रकाशित: २२ पुस २०७९ ०२:४६ शुक्रबार

नेपाल घरेलु तथा साना उद्योग महासंघ स्वदेशी उत्पादनको प्रवर्द्धन