१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

लन्डन - नेपालको संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत भइरहँदा लन्डनस्थित नेपाली दूतावासको रौनक छुट्टै थियो। सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावासमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।

गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिमा नेपाल सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताए।

नेपाल डेभलेपमेन्ट कन्फरेन्स नाम दिएको कार्यक्रममा राजदूत डा. सुवेदीले गणतन्त्र दिवसको उपलक्ष्यमा देश, विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्र निमार्णका अग्रसर हुन आग्रह गरे।

राजदूत सुवेदीले आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा सफल बनाउन सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धताका साथै सार्थक पहल सुरु भएको बताए।

बेलायतका पूर्वमन्त्री टोनी बाल्डरीको प्रमुख आतिथ्य भएको कार्यक्रममा नेपालको विकाससँग सम्बन्धित विभिन्न विषयमा आधा दर्जन बढी कार्यपत्र प्रस्तुत गरिएका थिए।

समारोहका प्रमुख अतिथी बेलायती पूर्वमन्त्री बाल्डरीले बेलायत र नेपालबीच सदियौंदेखि रहँदै आएको द्विपक्षीय सम्बन्ध बहुआयमिक रहेको बताए। उनले नेपालमा नयाँ संविधान कार्यान्वयन, संघीय शासन व्यवस्थाको सुरुवातसँगै आर्थिक विकासको युग सुरु हुंदै गरेको प्रसँग उल्लेख गर्दै बाल्डरीले भने, नेपालमा लगानी गर्नका लागि सबैभन्दा उत्तम समय अहिले नै हो।

बेलायती विदेश मन्त्रालयअन्तर्गत दक्षिण एशिया विभागकी उपनिर्देशक लेस्ली क्रेगले समारोहलाई सम्बोधन गर्दै बेलायत नेपाल द्विपक्षीय सम्बन्धलाई थप उचाई दिन बेलायत सदैव ईच्छुक र प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोर्टर र सोसाइटीको नयाँ अध्यक्ष नियुक्त भएका नेपालका लागि बेलायतका पूर्वराजदूत एन्ड्रु स्पार्कस्ले बेलायत नेपाल सम्बन्ध र सोसाइटीको विगत तथा भावी कार्यक्रमहरुबारे बोलेका थिए।

कार्यक्रममा बेलायती च्यारिटी संस्थाका साझा नेटवर्क ब्रान्गो (ब्रिटेन एण्ड नेपाल एनजिओ) को औपचारिक उद्घाटन गरियो । कार्यक्रममा अ–ट्राभल गाइड टु धौलागिरी नामक पुस्तक विमोचन गरियो । सोही अवसरमा चित्रकार सम्झना राजभण्डारीको नेपालसम्बन्धी चित्रकला प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा रेजिएस किपर रोयल बोटानिकल गार्डेन्स, इडिनबराका साइमन मिल्नेले नेपाल तथा बेलायतबीच बोटानिकल (बनस्पति) संग सम्बन्धित क्षेत्रमा रहेको सम्बन्धबारे  कार्यपत्र प्रस्तुत गरिएको थियो ।

त्यस्तै, एलिसन मास्र्टनले ब्रिटेन नेपाल सोसाइटी र नेपालमा यसको सहभागिताबारे तथा युनिभर्सिटी अफ लण्डनका नेपलिज तथा हिमालयन स्टडिज विभागका प्राध्यापक डा माइकल हटले नेपालको राजनीतिक विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

लिभरपुल जोन मुर युनिभर्सिटीका डा सारा पार्कर र सिर्जना योञ्जन सिंहले रोल अफ वुमन इन नेपाल शीर्षकको प्रिजेन्टेसन प्रस्तुत गरे भने ग्रेट अर्मेण्ड स्ट्रिट अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन विलियम हार्कनेसले टेलिमेडिसिन एण्ड वर्किंग इन ग्रुप शीर्षकमा कार्यपत्र प्रस्तुत गरे।

पाहुनाकाको स्वागतमा सपनकुमार राई, बीबी अनुरागी र सितु खरेलले यो नेपाली शिर उचाली बोलको गीत प्रस्तुत गरेका थिए । समारोहको दोस्रो चरणमा प्रिजेन्टेसनहरु सुरु हुनुअघि संगीता गैरे, लिसा सुनार, एलिसा गौचन, कल्पना लिम्बू, श्रेया महर्जन, विभिया श्रेष्ठ, ग्रीष्मा भुषाल र सुस्मिता थापासहितका कलाकारले विभिन्न मौलिक नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए।

प्रा.डा. सुवेदी सम्मानित

कार्यक्रममा बेलायतस्थित प्रा. डा. सुर्यप्रसाद सुवेदीलाई नेपाल सरकारको तर्फबाट सम्मान गरियो । गत वर्ष बेलायती महारानी एलिजावेथबाट प्रतिष्ठित क्युसी (क्विन्स् काउन्सेल) मा नियुक्त हुनुका साथै बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएवापत सुवेदी सम्मानित भएका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्राध्यापक डा सुवेदीले बेलायती महारानीबाट क्युसीमा नियुक्त गरेर आफुलाई गरिएको सम्मानलाई आफुले बेलायतबासी सम्पूर्ण नेपालीलाई बेलायतका तर्फबाट गरिएको सम्मानका रुपमा लिएको बताए।

प्रकाशित: १६ जेष्ठ २०७५ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App