१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

भाइबहिनीको चित्कार- ‘दाइ हाम्लाई निकाल्नुस्’

सिन्धुपाल्चोक-भुँई खोतल्दा कोदालो भुत्ते भैसक्यो। गलेका पाखुराले कोदालो धान्नै हम्मे छ। तैपनि चिरन गौतमले पुरिएका भाई र बहिनीको शव निकाल्न बचेको अन्तिम ताकत लगाएर भुँई खोतल्दै छन्। उनी थाकेर थचक्क बस्छन्।

आफूले टेकेको जमिनमुनी दबिएका भाईबहिनीको अनुहार सम्झन्छन् र धुरुक्कै रुन्छन्। फेरी सम्हालिन्छन् र खुत्रुकखुत्रुक भुँइ खोस्रन्छन्। हत्केला ठेला परेका छन्, पाखुरा थिलिएका छन्। ज्वरो, अनिद्रा र भोकले नराम्ररी गलेका छन्। सिन्धुपाल्चोक वाडेगाउँ–८ का चिरन गौतमलाई भुकम्पको महाप्रलयले निल्नमात्रै बाँकी छ।
‘हिजो एउटा भाईको शव निस्क्यो,' लामो सास छोड्दै चिरनले भने ‘अब दुईजना भाई र बैनीलाई निकाल्न छ।' उनले भुँइ खोतल्न थालेको एकसाता भैसक्यो। ‘राती निद्रा लाग्दैन आएर खोस्रन्छु,' भन्छन् ‘सपनामा पनि भाईबहिनीले चिच्याउँदै दाई हामीलाई निकाल्नुस् भन्छन्।' उनी साँच्चिकै ठानेर भत्केको ठाउँमा आएर उभिन्छन्।
भत्केको घरमा आँखा तन्काउँदै उनले भने ‘घरिघरी उनीहरु जिउँदै छन् कि जस्तो लाग्छ।' उनी अब थामिएनन्। भुँई खनेका मैला हातले आँखा पुछ्दै म देखि पर पुगे। मैले सोध्न र उनले उत्तर दिन अब संभव भएन। मैले झोलाबाट सेतो रुमाल झिकेँ र खोस्रन केही इन्च मत्रै बाँकी रहेको भुँईमा धमिला नजर गढाएँ। त्यहाँबाट न आवज न हलचल केही आएन।
चिरन टुक्रुक्क बस्दाबस्दै अर्धचेत हुन्छन्। झस्काउन उनै भाईबहिनी आउँछन्–‘दाई हामीलाई निकाल्नुस्।'

ज्यान बचाउन सिनो आहार

पेम्बा ग्याल्जो लामा खुकुरीको बिंड पैतलाले च्यापेर धारमा मासु रोट्दै ससाना टुक्रा पार्दैछन्। नजिकै अगेनाको मधुरो उज्यालोमा टाढैबाट गन्ध आउने त्यो मासुको थुप्रो कालोकालो देखिन्छ। ‘यो गोरुको सिनो हो बाबु,' उनकी पत्नीले सुनाइन् ‘हामी यही खाएर बाँचेको छ।'

लामा गाउँ–६ का सबैजनाले एउटै अस्थायी छाप्रोमा रातदिन काटेका छन्। १५ जनाको ज्यान गएको सिंगो गाउँका एउटै घर नबचेपछि छाप्रोमा बास छ। मरेका वस्तुभाउको मासु बाहेक खानेकुरा केही छैन। स्याउलाले छोपेर घाम त छेक्छ तर पानी छेक्ने छाना छैन। भुकम्पले धन्न बचेको जिउमा जे थियो उनै कपडा बाहेक लागाउने, ओढ्ने अर्को कुनै नाना छैन।
दिनहरु बित्दै साता पुग्यो। उनीहरुको आहार (मासु) गल्दै झनपछि झन गन्हाउने भएको छ। भत्केको गोठमा च्यापिएर मरेका बाख्रा, गोरु, भैंसी जे भेटिन्छ उनीहरु त्यही ताछेर ल्याउँछन् र भान्सा उतार्छन्। उही सिनो खान गाउँका कुकुर र स्यालहरुको तँछाड मँछाड छ। मान्छे, कुकुर र स्यालको आहारा अहिले एउटै छ–सिनो।
गाउँ गन्हाएको छ। लाग्छ यहाँ छिट्टै भोकमरीले महामारीलाई निम्तो दिदैछ।

सरकार भन्दा गिद्धको आश

टाकुरे गाउँका कृष्ण प्रसाद काफ्ले गाउँ छाडेर कतै विस्थापित हुने बिचारमा छन्। 'दुहुनो गाई र भैंसी च्यापिएर मरे ।' उनले भने, 'निकाल्न सकिएन गन्हाएर बसिखान भएन।' दुर्गन्ध फैलिएर नजिकै रहेको अस्थायी छाप्रो छाड्ने बिचार छ उनको।

'समय छउन्जेल मान्छेकै लाश निकाल्न परो,' उनले भने, 'मरेका पशु गोठमै गलेर गन्हाए, अब त खोतल्नै नसकिने भयो।' उनले सिंगो गाउँ छाडेर अन्त कतै गएर बस्नुपर्ने बाध्यता आएको बताए। 'कसरी यस्तोमा बस्ने?' उनले भने, 'एक महिना अब गिद्धलाई गाउँ छाडिदिनुपर्ने भयो।' गिद्ध र अरु जीवजन्तुले खाएर सिनोहरु सकिएपछि गाउँ फर्कने उनको जुक्ति रहेछ। तर उनलाई थाह हुनुपर्ने हो बाँचेका थोरै गिद्धले देशभर कहाँकहाँ गएर सिनो सफा गरुन्? उनले सरकारभन्दा गिद्धप्रति बढी आश देखाएको देखेर म भने तीनछक परेको छु।

ब्याथा एउटा उपचार अर्कै

रुबिक्यान संस्थाको टिसर्टमा बाहुनेपाटीमा अमेरिकाबाट आएका गोरा डाक्टरहरु घाईतेका घाउ पुछ्दै छन्। घाईतेको लाईन लामै छ। बोकाएर ल्याएका घाईते थपिदैछन्। गोरा डाक्टरले नसोध्दै घाईतेले भएभरको व्यथा एकैचोटी पोख्छन्। डाक्टर केही बुझ्दैनन्। बिरामी ब्यथा भनेकाभन्यै छन्। डाक्टर सोधेका सोध्यै छन्। सोधपुछ अनर्थ जस्तै छ। बेथा एकातिर उपचार अर्कोतिर हुने डर।

‘जेन्टलम्यान' सेता पञ्जा लगाएका हातले इशारा गर्दै एकजनाले मलाई पुकारे ‘क्यान यु आक्स हर, ह्वाइ सि इज क्राइङ्?' रोएकी महिलालाई अघिदेखि सोधिरहेका ति डाक्टरले किन रोएको पत्तो नपाएपछि मलाई गुहारेका थिए। डाक्टरले महिलाको काखमा रहेकी नातिनीलाई छामछुम गरिरहेका थिए। तर ति महिला भत्केको घरले च्यापिएर दोब्रिएको आफ्नै ढाड दुखेर अत्तालिएकी थिइन्।

खचाखच जुनतारा कटेजः

बाडेगाउँका पशुपति तिमिल्सिनाको जुनतारा कटेज यतिबेला खचाखच भरिएको छ। कटेजले ४० जनासम्मको आवासीय सुबिधा धानेको छ। ‘तपाँइ हाम्रो कटेजमा सुतेर माथि हेर्नुस् छ्याक्क जुनतारा देख्नुहुन्छ,' पशुपतिले कटेजको नाम अर्थ्याउँदै भने ‘घर भत्केपछि खुल्ला आकाशमा रात बिताउन बाध्य छौं हामी।' उनले थपे ‘पीडा भुल्न हामी हाँसो गर्छौं र सबैलाई भन्छौं जुनतारा कटेजमा स्वागत छ।'
पराल बिच्छ्याईको छ। राती हरेक दिन भुकम्पको औडाह चल्छ ओढ्न खासै पर्दैन। ‘आमा फोन आयो' एउटी बच्ची चिच्याइन्। सुन्नेले ‘आयो' मात्रै सुने र भागदौड चल्यो। ‘आयो त भन्नै हुन्न,' रमेश तिमिल्सिना भन्छन् ‘बच्चाहरुले दिशा आयो भन्दा पनि भुकम्प आयो भन्या झैँ लाग्छ र भाग्न मन लाग्छ।'

गन्हाउदै अबिरल इन्द्राबती

जिरो किलोमा चर्को घाममा उभिएर एक घण्टा भयो मैले चौतारा जाने गाडी कुरेको। कसैले रोक्दैन। राजधानी छाड्ने यात्रुको चापले बसका छत भरिएका छन्। धन्न एउटा बसले रोक्यो। तर छतमा जान कर गर्यो – ‘तपाँइजस्तो हट्टाकट्टा मान्छे त छतमा हो।' म खुरुक्क उक्लिएँ।
कोदारी राजमार्गको तल बग्ने इन्द्राबती धमिलो छ। एकसाता भयो पानीको सतह अस्वाभाविक बढेको छ, सायद हिम पहिरोले होला। सडक किनारामा भत्केका घरहरुमा तानिएको मेरो ध्यान अचानक इन्द्राबतीमा ढाडिएको भुँडीले उक्सेका बडेमानका भैंसी, गोरु र गाईको जिउमा पर्योे। अघि देखि गन्हाएको यही पो रहेछ। मैले झोलाबाट ठूलो लेन्स निकालेर जुमइन गर्दा फोटोमा मरेका बाख्रा पनि थपिए।

मेरो साथी ध्रुब, करुणा र उनका साथी

चौताराको टुडिखेलमा एउटा अबोध बालकले ध्यान ताने। ‘अंकल मेरो फोटो खिच्नु न।' नेपाली सेनाका एक जवान उनलाई काखमा खेलाउँदै थिए। मैले क्यामेरा भिडियो मोडमा बदलेँ र सोधेँ ‘तिम्रो नाम के हो?' ‘करुणा  थापा' करुण स्वरमा उनले नाम भने। टाउको सोतो ब्याण्डेजले छोपिएको छ। बाहुला नभएको भोटो लगाएका उनका हातभरी दर्फर्यानएका घाउ छन्। हातको बेलुन फुक्दै उनले भने ‘घर बतासे हो।' आमाको घाउ अप्रेसन गरिएको छ। नेपाली सेनाका जवानहरु उनका खेल्ने साथी हुन्।
‘अंकल फोन आयो,' उनी कराए। नागरिक सहकर्मी ध्रुब दंगालको फोन थियो। अरुका समाचार लेख्ने ध्रबु आफै पीडित छन्। घरगोठ स्वाहा भयो। छाप्रोमा परिवारलाई सारेर उनी अरुका दुःख र पीडा कापीमा सार्न दौडिएका छन्। ‘गाउँबाट फर्कदैछु आधा घण्टा लाग्छ,' उनले फोनमा भने।


हात मात्रै मिलाएर पुगेन मैले ध्रुबसंग अंकमाल गरेँ। अवस्था सोधेँ। उनी आफ्नो पीडा भुलेर अरुको पीडा उप्काउन हिम्मत हारेका छैनन्। ‘मैले सोँचेको थिइन् पाल्पाको मान्छे हाम्रो दुःख बुझ्न यहाँसम्म आउनुहोला भनेर,' ध्रुबले मुहारमा थोरै खुसीको भाव उतार्दै भने। ‘म र पाल्पामा मेरो परिवार सबै ठिक छौं,' मैले जवाफ फर्काएँ ‘सायद अरुको दुःखमा सहभागी हुन उपरवालाले मलाई खटाएको छ।'
म सिन्धुपाल्चोक जाने भनेपछि सम्पादक प्रतिक प्रधान र हाम्रो ब्यूरो (जिल्ला) प्रमुख छत्र कार्की दाईले हतारमा ध्रुबका लागि सहयोग पठाउने व्यवस्था गर्नुभएको थियो। मैले त्यो सहयोग ध्रुबलाई सुम्पिएँ।
म उनीहरुको पीडाको गहिराइ अनुभुत गर्दै चौताराबाट राजधानी फर्कें। अहिले करुणाको अनुहार सम्झदा मैले भुल्नै नसक्ने अर्को एउटा आकृति सँगसँगै आउँछ। त्यो आकृति हो–बर्दी लगाएका उनै करुणाका साथी। यतिबेला हजारौं करुणाहरुको आशाको किरण बनेका ति साथीलाई मेरो पनि सलाम।

भिडियो हेर्नुस्

प्रकाशित: १९ वैशाख २०७२ ०३:२९ शनिबार