इतिहासका विभिन्न कालखण्डमा नेपाली कम्युनिस्ट आन्दोलन एउटा आकार बनाएर उचाइ लिँदा नलिँदै गुट फुट र बिभाजनको शिकार हुँदै आएको छ। २०५२ सालदेखि भएको जनयुद्धको सुरुवातदेखि नै चर्को अन्तर संघर्ष ब्यहोरेको तात्कालीन नेकपा माओवादी दस वर्षे जनयुद्ध १२ बुँदे विस्तृत शान्ति सम्झौता ०६२-६३ को जनआन्दोलन हुँदै संविधानसभामा आइपुग्दासम्म मणि मातृका टुक्रिँदै एमाओवादीसम्मको यात्रा गर्यो।
पहिलो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दल भएको एनेकपा माओवादी विभिन्न वैचारिक मतभेद विद्रोह या शान्ति र संविधान निर्माणको कार्यदिशा लिने भन्ने प्रमुख विवादकै बीच मोहन वैद्यको नेतृत्वमा फुट ब्यहोर्दै दोस्रो संविधानसभाको चुनावसम्म आइपुग्दा तेस्रो स्थानमा धकिलियो।
भारतीय बिस्तारवादसामु आत्मसमर्पण गरेको, पार्टी दक्षिणपन्थी भासमा डुब्दै गएको तथा जनसेना विघटन गरिएको जस्ता कारण देखाउँदै मोहन वैद्यको नेतृत्वमा अलग्गिएको नेकपा-माओवादी जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा तय गरी दोस्रो संविधानसभाको चुनाव बहिस्कार गरेको थियो। यद्यपि बिभाजनपछि पनि फुटको औचित्य पुष्टि गर्न नसकिरहेकै अवस्थामा नेत्र बिक्रमचन्द बिप्लवको नेतृत्वमा नेकपा माओवादीको जन्म भयो। ब्यक्तिवादी प्रवृत्ति, पदलोलुपता, विभिन्न गुट-उपगुट तथा लामो समयसम्म नेतृत्व हस्तान्तरण नहुनुजस्ता कुराहरुले कम्युनिस्ट आन्दोलन स्खलित हुँदै आएको छ।
दस वर्षे युद्धले लगाएका घाउका खाटाहरु सुक्न नपाउँदै बिप्लब नामको एउटा महत्वाकांक्षी दिमागमा बन्दुक बोकेर जनविद्रोह र क्रान्तीको उद्घोटष गर्छ। १७औं शताब्दीका बासी आदर्श र सिद्धान्त काँधमा बोकेर बन्दुकको नालबाट विकासका मूल फुटाउने सपना देख्छ। माओलाई आदर्श मानेर उनको पदचिन्ह पछ्याउनेहरु प्रधान अन्तर्विरोध कोसँग र प्रधान शत्रुको भन्ने विषयमा विवाद भएर पनि टुक्रिएका छन्। शत्रु घोषणाको यो होडबाजीमा बिप्लब पनि अगाडि नै रहे।
जङ्गल पस्ने युद्धमा जाने या शान्तिपूर्ण वार्ताबाट अगाडि बढ्ने शंका उपशंकाका बीच माओ जयन्तीको अवसर पारेर खुलामाञ्चमा आमसभा आयोजना भयो, शक्ति प्रदर्शन गरियो। सेलाउँदै गएको कम्युनिस्ट आन्दोलन र चरम निराशा भोगिरहेका कार्यकर्ताहरुको मनमा केही हदसम्म ऊर्जा थप्ने काम गर्योा। वैद्य, प्रचण्ड र विभिन्न नाम नारा र झुन्डहरुमा बिभक्त समर्थकलाई एकै ठाउँमा जोड्ने काम पनि उनको आमसभाले गर्योु। तर क्रान्तिकारी बनिरहने नाममा युद्ध र आन्दोलनबाट प्राप्त उपलब्धिलाई अलपत्र छोडेर माओवादीहरु सिलसिलेबार रुपमा टुक्रिरहे।
आजको तरल राजनीतिक यथार्थ हिजोको माओवादी युद्ध हो, माओवादीका एजेन्डा हुन्। संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापनाका लागि भन्दै हजारौं मारिने गरी युद्ध गरेर अर्थतन्त्रका विभिन्न भौतिक संरचना ध्वस्त बनाएर यो अवस्थासम्म आइपुग्दा फेरि कुन क्रान्ति र परिवर्तनको नारा बोकेर विद्रोहको बाटोमा हिँड्न चाहन्छन् बिप्लव? संविधान सभाको माग गर्दै हजारौंलाई बलि चढाएका बिप्लबहरु फेरि कुन परिवर्तनका लागि आज त्यही संविधानसभाको विघटनको माग गर्छन्?
स्पष्ट छ, बिप्लवको विद्रोह क्रान्ति हिजो मारिएका हजारौं शहिदका सपनाहरुको निम्ति होइन। शोषण र उत्पीडनमा परेकाहरुको वर्गीय उत्थानको लागि होइन, मजदुर र किसानहरुको अधिकारका निम्ति होइन बरु आफ्नै समकक्षीहरुको ब्यवहारका कारण हो पद र पैसा प्राप्तिसँगै साशक बन्ने उत्कट महत्वाकांक्षाका कारण हो। युद्ध र बन्दुकको कठोर यात्रामात्रै क्रान्ति होइन, हत्या र हिंसाको बाटो अपनाएर जंगली बन्नुमात्रै पनि क्रान्ति होइन। राजनीती समाजका लागि गरिने हो, देश र जनताका लागि गरिने हो। त्यसैले नौलो जनवादी क्रान्तिको सपनामा डुबेर हतियारको राजनीति गर्ने अब्यक्त चाहाना बोकेका बिप्लवले आजको नेपाली समाज, नेपाली जनता के चाहन्छन् बुझ्न जरुरी छ।
दीगो शान्ति र स्थायित्वले मात्रै देश विकास सम्भव हुन्छ। राजनीतिज्ञले उचित नीति, नियम तर्जुमा र कार्यन्वयन गर्दै कुशल नेतृत्व दिने हो। विकासका लागि कठोर परिश्रम गर्नुपर्छ जनताले। बिप्लव र बिप्लवहरुले दैनिक हजारौंको संख्यामा विदेशिने युवाहरुसँग सोध्नुपर्छ, राजनीतिक अस्थिरताले आक्रान्त भइ गरिखाने मेसो नपाएर परदेशमा पसिना बगाइरहेकासँग बुझ्नुपर्छ कि उनीहरु के चाहन्छन? बिप्लवको सत्तामा शेर बन्ने लालसाले हो भने अहिले हरेकलाई राजनीति गर्ने स्वतन्त्रता छ। आफ्नो महत्वाकांक्षाका लागि निर्दोश जनताहरुलाई बलिको बोको बनाइनु हुँदैन। कुन निरंकुशताका लागि आवश्यक छ विद्रोह? न हिजोको युद्धको औचित्य पुष्टि गर्न सके न अब गरिने हतियारको राजनीतिले देशलाई सहि मार्गमै लैजान्छ।
अब सबैले बुझ्नुपर्छ संविधान घोषणाको मिति नजिकिँदै गर्दा प्रचण्ड र बिप्लवहरुले लिएको बाटो देश र जनताको पक्षमा छैन। जहाँसम्म बिप्लवले हतियारको राजनीति गर्ने सबाल छ, सधैं शोषित भएरमात्रै बोकिँदैन। बन्दुक शोषण गर्ने महत्वाकांक्षाको दास भएर पनि बोकिन्छ। उदाहरण हिजो थुप्रै हिटलर र बोनापार्टहरु थिए। आज इस्लामिक स्टेटका अभियन्ता र बिप्लवहरु बन्दैछन्। आज नेपाली जनता दीगो शान्ति, समृद्धि र विकासका लागि संविधान चाहन्छन्। संविधान घोषणाको इतिहासमा विश्वको कुनै पनि देशमा सर्वसम्मतिले संविधान जारी भएको छैन। अघिल्लो संविधान सभाबाट पाठ सिकेर दलहरुले विवादित विषयमा प्रक्रियामा गएरै भए पनि संविधान जारी गर्नुपर्छ।
प्रकाशित: २१ पुस २०७१ ०२:०१ सोमबार