१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

खाडीको बगरमा जीवन चाल्दै

जति सजिलो छ स्त्री पुरुषको समागम हुन। जति सजिलो छ वीर्य स्खलन गरेर डिम्बसम्म पुर्‍याउन। जति सहज छ मर्द भएर बाउको बिल्ला भिर्न। कति असहज छ आमा बनेर गर्भमा खेलाउन। विष्टा, मूत्र, खकारमा गुडुल्किन। अझ गाह्रो छ जन्माउन, हुर्काउन। सहज होला छोरो भएर जन्मन। तर, त्यही छोरोलाई गाह्रो छ एउटा परदेशी भएर बाँच्न।भैरवस्थानको डाँडाबाट घाम लडेर मृत्यु भएजसरी जीवनमा कहिल्यै नफर्कने कतार बसाइको बीस महिना यहीको निष्प्राण बालुवामा पसिनाले मुछ्दै बिताएको छु। आफ्नै गाउँ ठाउँमा, देशमा केही गरौं भन्ने सपनाका शुक्रकीटलाई डिस्पोज गरेर खाडीको तातो हावा खान हुँइकिएको म, यतीबेला जीवनलाई हावा पनि अनावश्यक चीज रहेछ भन्ने लाग्दैछ। आफ्नो देशलाई भ्वाङ पारेर अरुको देश बनाउनकै लागि निर्माण कम्पनीमा श्रम गर्ने म जस्तै श्रमजीवी नेपाली दाजुभाइहरुलाई ललाटमा हातको पाली राखेर पछाडिको गर्दन दोब्रिने गरि निकै माथि माथिसम्म तङ्ग्रिएको देखेको छु , हेरेको छु। कतिले आफ्नो जीवन हिँड्ने बाटोमा काँडाको बार लगाएर अर्कैको रथ कुद्ने पथ निर्माणका लागि हातमा ठेलाका पहाडहरु बनेर नफुटुञ्जेल गैँची, बेल्चा र साबेल चलाएको हरेक दिन काममा आवज-जावत गर्दा गाडीका काला सिसाबाट पनि देखिन्छ नहेरुँ भन्दा भन्दै। त्यतिबेला मेरो मनमा सहानुभूतिका केही खल्ला शब्दहरुबाहेक कुनै सजीव तरङ्गहरु हुँदैनन्।
हरियाली बिहिन सुख्खा रेगिस्तानमा केही गर्ने आशाका झिना त्यान्द्राहरु पनि पञ्चर भएको टायर जसरी दिन–प्रतिदिन चाउरिँदै गइरहेका छन्। तरक्कीको नाउँमा खाडीमा आयुको भ्रुण हत्या गर्दै, पटक-पटक आँफैले आँफैलाई डस्दै, आरोप लगाउँदै अश्लील जीवन बाँचेका छन् म जस्ता लाखौँ नेपाली मनहरुले। र पनि धन्य हुन् तिनीहरु, जसले नेपालका काँचा कचिला सम्पूर्ण अवयवलाई पैतालामुनि राखेर नेपाली हौं भन्न सिकेका छन्। देशप्रेम देखाएका छन् अघोरै। प्रवासमा रहेरपनि प्रत्यक्ष नेपालसँग जोडिएका छन्। सरोकार राखेका छन्। लाग्छ सबैभन्दा बढि देश दुख्ने नै प्रवासीहरुलाई हो।
हरेक दिन समुन्द्रको एउटा फेरबाट निर्लज्ज उषाको किरण बोकेर पृथ्वीको मध्य—पूर्व खाडीमा पोखिने एक झुल्का घाम, दैनिक पसिना बगाउने श्रमको अर्को अध्याय जस्तै लाग्छ। नेपालतिर जस्तो यहाँ सूर्यको किञ्चित कदर हुँदैन। न कसैले सूर्यनारायणको फेदमा जल चढाउने चेष्टा गर्छन न कसैले हिँड्दा-हिँड्दै भएपनि दश ‌औंला साम्य पारेर नमस्कार नै गर्छन्। सबै बेलगाम घोडा जस्तै। जीवनको अन्तिम स्टेशनबाट छुटिसकेको रेल जस्तै। एक त इश्लामीक देश। त्यसमाथि धर्मलाई केन्द्रमा राखेर बनेका नीति नियमहरु छन्। अर्कोतर्फ सँधै कामकै चटारो चलिरहन्छ म जस्तै आप्रवासी मजदूरहरुलाई। यी त धेरै परका तात्विक कुरा हुन्। कतिसम्म भने रातलाई हजारौँ भोल्टका बिजुली बत्तिले जबर्रजस्ती तर्साएर उज्यालो छर्दै त्यसकै छाँयामा हराइजाने आफ्नै प्रतिबिम्वको बेवास्ता गर्दै सिलौटोमा लोरो बनेर घोटिरहनु पर्ने बाध्यता जीवनका धेरै आप्रवासी नेपाली अभियन्ताहरुको दैनिकी हो।
नेपालका चोक गल्लिहरुमा जस्तो चिया गफहरु सुन्न पाउने अखडाहरु बनिदिएका छैनन् परदेशमा। छातीमा देश दुखाएर, पिठ्युँमा देश बोकेर, आँखामा घर गाउँ बिझाएर बह पोख्ने फुर्सद छ न कसैलाई। मरिहाले सहानुभूति देखाउने, मलामी जाने, छुन पाउने अधिकारसम्म छैन कसैको। केही यहाँको धर्मसङ्गत छैनन् भने केही कानुनको सिमित दायराभन्दा सुदूर छन्। न मन लाग्दा घर फिर्ने सुविधा छ यहाँ। जाँतो जस्तो कम्पनीको बिँड बनेर जता घुमायो उतै घुम्नुपर्ने नियती प्रवासी जीवनको अर्को दुःखद पक्ष हो। थाहा छैन युरोपको हकमा के कस्तो प्रावधान छ कुन्नि।
उतातिर चुरोटको कोशिकामा पनि देश-देश सल्बलाउँछ। धुँवामा देशको सुगन्ध उड्छ माथिसम्म। तर यताभने गर्मीको करदब्द कहरले तात् तातो बाफ उड्छ। जाडोमा हुस्सले कठ्याङ्ग्रिन्छ नेपाली स्वावलम्बी मन। श्रमसँग पौँठेजोरी खेल्ने हातहरु हिउँजस्तै जमेर निहुँ खोजिदिन्छन्। नेपालमा कोइलीको कुहुकुहु, चराचुरुङ्गीको कामुक कलरव अभिगुञ्जित भइरहँदा खाडीमा भने कामको साइरन बज्छ कानै छेड्नेगरि।
साचेजस्तो र चाहेजस्तो गरि बग्दैन जीवनको नदी। खाडीको अशेष दुःखको बगरमा ठोक्किँदा-ठोक्किँदै मूल जीवनकै परिभाषा उत्तानो पर्न जान्छ खाडीमा। घर देश त टाढाको कुरा हो, यहाँ आफ्नै स्व–पहिचान मेटेर कामको मेलोमा खट्नुपर्ने स्थिति छ।
सडक छेउमा प्रकृतिलाई चुनौति दिएर लगाइएका फाटफुट्ट बोट बिरुवाहरु, केही कतारको राष्ट्रिय खानामा प्रयोग हुने खजुरका बोटहरु कहिल्यै ढुक्कको सास फेर्ने सियाल बन्न सक्दैनन्। वर्षमा एक पटक उग्र घामको उत्तेजनाले पाक्ने खजुरका दानाहरु जीवनका अण्डकोष झैँ लाग्छन्। एकदमै संवेदनशील। कुनै कुलीन कुमारीका बक्षस्थल जस्ता। छुन, लाछ्न र भाँच्न नमिल्ने। तर, घर देशमा बस्नेहरुले भन्ठान्छन्—पैसाको बोट छ खाडीमा। कहाँ, यहाँ त खजुरको बोटका पात तोड्नु पनि अवैधानिक साबित हुन्छ हाम्रो लागि।
विदेशिनु रहर कम र बाध्यता धेरै हो म जस्तै आम नेपालीको। जीवन निर्वाहको एउटा विकल्प खोज्दै यसरी राज्यबाट उपेक्षित भएर पलायन हुनुपर्ने संस्कारमा सबैभन्दा गुनहागार राज्य र राज्यप्रणाली हो। चरम वामपन्थी र अस्थिर राजनीति, हिंस्रक राज्यसत्ताले गर्दा गोजीमा डिग्री वा सो सरहका प्रमाणपत्र गुटमुट्याएर कतारले आयोजना गर्न लागेको विश्वकप २०२२ का लागि धमाधम नेपाली श्रमिकहरु आँखा चिम्लँदै दैनिक हजारौंको संख्यामा देशलाई घाटमा पोलेर मलामी झैँ उडिरहेका छन् एक एक।
परदेशी मान्छेको भीडमा एक्लै हुँदाहुँदै पनि एक्लो हुँदैन कहिल्यै। उसलाई तार नतार झक्झक्याउने अनगिन्ती घर गाउँका स्मृतिहरु हुन्छन्। पदचापहरु हुन्छन्। ऊ सबैकुरा बिर्सिएर पनि हरेक कुरा सक्झिरहेकै हुन्छ। कहिलेकाहीँ त लाग्छ, जीवनमा सबैकुरा बन्नु परोस् तर नपरोस् परदेशी बन्न। त्यो पनि खाडी मुलुकको।
यहाँ आएदेखि आँखाका परेलीहरु अधकल्चो निद्राले जहिल्यै काँचाको काँचै छन्। तिखो सुई खोपिए जस्तै दर्दमय बन्छन् आँखाहरु। नेपाल फर्किएलगत्तैको योजना यति तुच्छ छ कि– मात्रै टन्न धित मरुञ्जेल सुतिदिने खाका कोर्छन् ।
अरुको जस्तै मेरो पनि ड्युटि जाने आउने सेड्युल तोकिदिएको छ कम्पनीले। समयभन्दा पहिले उठेर गाडीमा नपुगेको खण्डमा छोडेर हिँडिदिन्छ लैजानुको सट्टा। त्यसैको क्षतिपूर्ति स्वरुप तोकिएको स्यालरीबाट पैसा काटिदिन्छ कम्पनीले। अहिले सोच्दैछु यो बञ्जरभूमिबाट– कि यसरी नेपालमै खट्ने हो भने ऐशको जीवन जिउँन सक्छौँ हामी। तर अहिलेको पुस्ताको मानसिकता पढाइभन्दा ज्यादा अरबको सपनामा भुनभुनिरहन्छ। तर, अरबका सपना केबल दिवास्वप्न जस्तै हुन्। प्रायः कम परिपूर्ति हुने। तिनै सपनाको फेर समातेर म पनि खाडीको बगरमा जीवन चालिरहेको छु केही वर्षदेखि।

प्रकाशित: ९ पुस २०७१ ००:३८ बुधबार