८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

सम्झना सरकारी रेडियोको

‘यति सानो रेडियोभित्र बसेर यस्तो मीठो गीत गाउने मान्छे कत्रा होलान् ? कहाँबाट पसे ? अब कसरी निस्कलान् ? खाजा, खाना कसले देला ?’– आँगनछेउको खाँबोमा झुण्डिएको रेडियो बज्दै गर्दा रेडियो सुनेर बसेकाहरू यस्तै रोचक जिज्ञासा व्यक्त गर्दै थिए।  बालबालिकाले  बूढापाकाले गरेको कुराकानी ध्यान दिएर सुनिरहे।  मैले पनि उनीहरूका कुरा निकै घत मानेर सुनेँ।  त्यसपछि मेरो मनमा पनि खुल्दुली पैदा भयो– यो सानो रेडियोभित्र बसेर मानिसले कसरी समाचार भन्छन्, कसरी गीत गाउँछन् ? यी कुरामा मलाई विश्वास थिएन तैपनि मनमा प्रश्न उठ्न थाले।  कहाँबाट कसरी यो आवाज आएको होला त ? आवाज टिप्न र सुनाउन मिल्ने केले बनाएको होला ? आदि इत्यादि।  यी र यस्ता अनेक जिज्ञासा पहिलो पटक रेडियो देख्दा र सुन्दा पैदा हुनु स्वाभाविकै थियो।  

त्यतिबेला एउटा गाउँमा एउटा मात्र रेडियो हुन्थ्यो।  शायद किन्न पनि पाइँदैनथ्यो।  पाइए पनि किन्न सम्भव थिएन।  सरकारी समाचार सुन्न र गाउँलेलाई सुनाउन पञ्चायती सरकारले एउटा गाउँको प्रधानपञ्चलाई एउटा रेडियो दिन्थ्यो।  प्रधानपञ्च हुँदासम्म रेडियो बजाउन पाइन्थ्यो।  चुनावमा आफू उठिएन वा उठेर पनि हारियो भने त्यो रेडियो चुनिएर आएको नयाँ प्रधानपञ्चलाई बुझाउनुपथ्र्यो।  २०३०/०३२ सालसम्म यो अवस्था कायमै रह्यो।  त्यतिबेला पाल्चोक गाउँ पञ्चायतको प्रधानपञ्च कृष्णबहादुर खड्का हुनुहुन्थ्यो।  उहाँहरू मेरो बूढो मावली भएकाले दसैँमा टीका थाप्न मावली गएको थिएँ।  त्यसैबेला मैले पहिलो पटक रेडियो देख्ने र सुन्ने मौका पाएको थिएँ।    

दसैँमा हजुरआमाले मलाई टीका लगाउँदै आशीष दिनुभयो– ‘धेरै पढ्न आओस्, ठूलो मान्छे भएस्, अनि काँधमा रेडियो र हातमा घडी बाँधेको देख्न पाउँ। ’ त्यति सानो मान्छेलाई आशीषको यति ठूलो भारी बोकाएकामा मलाई आश्चर्य लाग्यो।  म आफ्नो जीवनकालमा नै काँधमा रेडियो र नाडीमा घडी बाँध्ने अवस्थामा पुग्छु भन्ने लागेकै थिएन त्यतिबेला।  

त्यतिबेला एउटा गाउँमा एउटा मात्र रेडियो हुन्थ्यो।  शायद किन्न पनि पाइँदैनथ्यो।  पाइए पनि किन्न सम्भव थिएन।  सरकारी समाचार सुन्न र गाउँलेलाई सुनाउन पञ्चायती सरकारले एउटा गाउँको प्रधानपञ्चलाई एउटा रेडियो दिन्थ्यो।  प्रधानपञ्च हुँदासम्म रेडियो बजाउन पाइन्थ्यो।  चुनावमा आफू उठिएन वा उठेर पनि हारियो भने त्यो रेडियो चुनिएर आएको नयाँ प्रधानपञ्चलाई बुझाउनुपथ्र्यो।

२०३२ सालतिर होला, मेरो बुबा तालामाराङ गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो।  हाम्रो बुबा भन्दा अगाडि हस्तबहादुर देउजा प्रधानपञ्च हुनुहुन्थ्यो, नाताले उहाँ मेरो हजुरबुबा पर्नुहुन्थ्यो।  प्रधानपञ्च भएकाले उहाँलाई सरकारले रेडियो दिएको थियो।  हाम्रो र उहाँहरूको घर नजिक–नजिकै भएकाले सँधैँजसो आउ–जाउ भइरहन्थ्यो।  हामी उहाँको घर पुग्दा जहिले पनि रेडियो बझिरहेको सुन्थ्यिो।  प्रधानपञ्चलाई दिने ती रेडियो सबै फिलिप्स कम्पनीका हुन्थे।  जतिसुकै पुरानो भए पनि प्रष्ट र ठूलो आवाजमा बझ्थे ती रेडियो।  उहाँको घरमा भएको त्यो रेडियो पनि फुटेर टुक्रा–टुक्रा भएको थियो तैपनि निकै राम्रो आवाज आउँथ्यो।  

मेरो बुबा गाउँको प्रधानपञ्च भइसकेपछि नियमानुसार नै त्यो रेडियो बुबालाई बुझाउनुपर्ने थियो।  रेडियो पाउने निश्चित भएकाले म निकै हर्षित थिएँ।  बुबा प्रधानपञ्च भएकामा मलाई खासै चासो थिएन बरु आफ्नो घरमा रेडियो आउने पक्का भएकामा भने निकै खुसी लागेको थियो।  तर पनि खोइ के भएर हो ? हाम्रो बुबालाई उहाँले रेडियो बुझाउनुभएन।  त्यसपछि घरको पिँडीको खाँबोमा झुण्ड्याएर गाउँ टोल नै थर्किने गरी रेडियो  घन्काउने रहर पनि अधुरै रह्यो।  

केही समयपछि जापानिज रेडियो नेसनल प्यानासोनिक प्रयोगमा आयो।  त्यतिबेला नै तीन चार हजार पर्ने त्यो रेडियो किन्ने हैसियत गाउँमा थोरै मानिससँग मात्र थियो।  त्यसपछि फेरि  प्यानासोनिक क्यासेट आयो।  त्यसमा रेडियो र क्यासेट दुवै बझाउन मिल्थ्यो।  त्यतिबेला त्यस्तो क्यासेट बोक्ने हैसियत प्रायः विदेश बसेर फर्किएका लाहुरेको मात्र हुन्थ्यो।  यति लामो इरेल तानेर क्यासेटमा गीत बझाएर हिँडनेहरूको समाजमा इज्जत नै बेग्लै थियो।  विवाह÷व्रतबन्धमा उनीहरूलाई विशेष निम्ता दिइन्थ्यो।  छ सात हजार पर्ने त्यो क्यासेट बोक्ने रहर धेरैको थियो तर पैसाको अभावमा अधुरै रह्यो।  

केही समयपछि ब्लाक एन्ड ह्वाइट टिभी आयो।  त्यो टिभीले तहल्का नै मच्चायो।  घरको छत वा निकै अग्लो ठाउँमा टावर राखेपछि मात्र टिप्ने ति टिभीहरूको टावर हल्लिएपछि झिर झिर गरिहाल्थ्यो।  टिभी लगाउन एक जना छतमा बसेर टावर मिलाउँदैमा ठीक्क हुन्थ्यो।  त्यसबेला टिभीको महिमा यति बढ्यो कि टिभी किन्न नसके पनि इज्जत धान्नका लागि घरको छत वा अलि अग्लो ठाउँमा टावरचाहिँ राख्नैपर्ला जस्तो भयो ।  ससुराली जाँदा टिभी भएका र नभएका ज्वाइँ छोरीलाइ गर्ने व्यवहार पनि फरक हुन थाल्यो।  उतिबेला गाउँटोलमा टिभी हुँदैनथ्यो।  रामायण र महाभारतको सिरियल हेर्न गाउँभरका मानिस जम्मा हुन्थे र राँको बालेर बजार झर्थे अनि महाभारतको सिरियलको समीक्षा गर्दै घर फर्कन्थे ।  गाउँबाट बजार झर्ने र फर्कनेहरूले बोकेका राँकोको लर्को हेर्नलायक हुन्थ्यो।  

गाउँमा मात्र होइन, शहरमा पनि यस्तै हालत थियो।  २०४३ सालमा म भक्तपुरस्थित सानोठिमी क्याम्पसमा पढ्दै थिएँ।  त्यतिबेला त्यहाँ पनि टिभी सबैतिर थिएन।  सानोठिमी बजारको बीचमा प्रहरी चौकी थियो।  विशेष कार्यक्रम हुँदा चौकी भवनको प्रांगणमा टिभी राखेर सबैलाई कार्यक्रम हेर्न दिइन्थ्यो।  एक दिन हामी पनि ठिमी नजिकैको छात्रावासमा बस्ने विद्यार्थी जम्मा भएर बेलुका महाभारतको सिरियल हेर्न  गयौँ।  त्यो दिन असाध्यै धेरै मानिस जम्मा भएका रहेछन्।  भिड बढ्दै गयो।  ठेलमठेल हुँदा प्रहरीले लाठी चार्ज नै गर्नुप¥यो।  प्रहरीको कुटाइ छलेर भाग्न खोज्दा टाउकोमा नराम्रोसँग पुलिसले मलाई लाठोले बजायो।  टिभीहरू सामान्य जनताको पहँुचमा पुग्नुअगावै रेडियो भने सबैका लागि सर्वसुलभ हुँदै गयो।  जब चिनियाँहरूले बजारमा ससाना रेडियोहरू ल्याए, त्यसपछि सबैका साथमा रेडियो हुन थाल्यो।  घाँसपात जाँदा पनि सबैले हातमा रेडियो बोकेर जान थाले।  गीत सुन्ने, गीत फर्माइस गर्ने, समाचार सुन्ने चलन खुबै बढ्यो।  ती एफएम रेडियोले नेपालीलाई मनोरञ्जन दिनुका साथै सुसूचित पनि बनायो।  

पछिल्लो समय, ती एफएम रेडियोको ठाउँ मोबाइलले लिन थाल्यो।  मोबाइबाट नै रेडियो बझ्ने भएपछि रेडियोमा भन्दा मोबाइलमा मानिसको आकर्षण बढ्दै गयो।  मोबाइल प्रयोगमा आउनु भन्दा अघि नेपालमा पेजर प्रयोगमा आएको थियो।  मेसेजको सुविधा मात्र भएको पेजर लामो समय चलेन।  पेजरसँगै मोबाइलहरू प्रयोगमा आउन थाले।  सुरु सुरुमा प्रहरीहरूले प्रयोग गर्ने इरेलवाला वाके ट्वाके जस्तो देखिने मोबाइलहरूको प्रयोग हुन्थ्यो।  त्यतिबेला ती मोबाइलको मूल्य झण्डै २५ हजार जति पर्थ्यो।  यति ठूलो लगानी गरेर मोबाइल बोक्ने कुरा सर्वसाधारणका लागि सम्भव थिएन।  कुनैबेला नेसनल प्यानासोनिक टेप बोक्नेहरूको समाजमा जुन प्रतिष्ठा थियो, त्यो भन्दा कैयौँ गुणा प्रतिष्ठा ती मोबाइल बोक्नेको हुन थाल्यो।  

हाम्रो सन्दर्भमा सबैले मोबाइलको प्रयोग गर्ने कुरा यति चाँडै सम्भव हुन्छ भन्ने हामीलाई लागेकै थिएन।  २०६१ सालतिर म अध्ययन भ्रमणका क्रममा इन्डिया गएको थिएँ।  त्यसबेला सडक र चोकहरूमा मोबाइलको विज्ञापन गरेको बोर्डहरू देखेँ।  ती विज्ञापनमा धान/गहुँ काटिरहेका, मकै भाँचिरहेका महिलाले नोकिया मोबाइलबाट फोन गरेका दृष्य राखिएको थियो।  त्यो दृष्य देखेर मलाई सम्भव नहुने कुराको पनि केको विज्ञापन गरेको होला भनेर अचम्म लाग्यो।  अर्थात खेतबारीमा काम गर्ने कृषकका हातमा अहिल्यै मोबाइल हुन सक्छ जस्तो लाग्दैनथ्यो।  

करिब तीन दशकका बीचमा सूचना र सञ्चारले यति फड्को मा¥यो कि जुन कुरा प्रयोगमा नआउँदासम्म पत्याउन सकिने अवस्था थिएन।  अहिले हामी ठूला ठूला सेमिनारदेखि अध्ययन, अध्यापन र वार्षिक परीक्षाहरूसमेत इलेक्ट्रोनिक माध्यमबाट नै गर्ने ठाउँसम्म आइपुग्यौँ।  तीन दशक पार गर्दा सूचना र सञ्चारमा धेरै ठूलो परिवर्तन भयो।  हाम्रो देशले यही गतिमा अरू क्षेत्रको विकास गर्ने हो भने हामी संसारका कुनै पनि देशका अगाडि उँचो शिर बनाउने ठाउँमा छिट्टै पुग्न सक्छौँ भन्ने कुरा सूचना र सञ्चारको विकासले प्रमाणित गरिदिएको छ।  

(सामाजिक अभियन्ता)

 

प्रकाशित: २१ आश्विन २०७७ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App