८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

बुबा मेरा लागि खुल्ला विश्वविद्यालय

संस्मरण

डा. रेणुका सोलु 

ठुलोआमाको स्वर्गे भैसकेपछि मेरो आमासँग बुबाको दोस्रो वैवाहिक सम्बन्ध जोडियो र मसहित हामी ५ जना सन्तान जन्मियौँ । एकजना बाँच्न सफल नहुँदा हामी चार सन्तान मात्र छौँ अहिले । ठुलोआमापट्टिका दिदीहरूको बिहे भैसकेको दाजु विदेसिनु भएको हुनाले घरको जेठो सन्तान म आफैँ भएँ ।

मैले जान्दादेखि नै बुबा समाजसेवामा समर्पित हुनुहुन्थ्यो । लगभग तीन दशकभन्दा लामो समय वडाअध्यक्ष भएर समजकै काममा व्यस्त हुनुभयो । गाउँमा स्कुल नभएर पूरै गाउँ नै शिक्षाबाट वञ्चित भएको हुनाले आफ्नै पहलमा स्कुल दर्ता गराउनुभयो र दरबन्दी ल्याउन नसकेसम्म गाउँबाट स्वेच्छिक चन्दा सङ्कलन गरेर शिक्षकलाई पारिश्रमिक दिएर पढाइ चलाउनुभयो भने निकै लडाइँ गरेर दरबन्दी पनि स्वीकृत गरेर ल्याउन सफल हुनुभयो । त्यसपछि आधा सोताङ र पूरै महाकुलुङ पूरै भुगोलको शिक्षा आर्जन गर्ने थलो बन्यो बखपलम प्रावि। अहिले त मावि भैसक्यो त्यहाँ । यसरी आफैंले सुरु गरेको स्कूलमा व्यवस्थापन समितिको संस्थापक अध्यक्ष हुँदै लामो समयसम्म अध्यक्ष रहेर शिक्षा क्षेत्रमा सेवा गर्नुभयो । बुबाको यही योगादानका कारण हामीले पनि अक्षर चिन्ने अवसर पायौं ।

बिहानको मिर्मिरेदेखि झमक्कै साँझ परेसम्म समाजसेवामा नै व्यस्त बुबा । खेतीपाती धेरै, वस्तुभाउ, बुबा राजनीतिज्ञ हुनाले आउनेजाने बाक्लै हुने, एकजना आमाले के गर्ने के नगर्ने धेरै समस्या थियो घरमा । भाइबहिनी हेर्ने काम मेरो जिम्मामा थियो । भाइलाई बिस्तारै हिंडाउँदै अनि दुर्इजना बहिनीलाई पिठ्युँमा र काँधमा बोकेर स्कुल जान्थेँ अनि कक्षामा सँगै राखेर भाइबहिनी हेर्दै पढ्थेँ । यसो गर्दा आफूले नि पढ्न पाएँ भाइबहिनीले नि बिस्तारै पढ्न थाले । बिहानबेलुका घरको काम सघाउंदै पढाइलाई जसोतसो निरन्तरता दिइरह्यौं ।

जीवन बाँच्ने व्यवहारिक शिक्षा मैले धेरै हदसम्म बुबाबाट नै सिकेँ ।यसर्थ पनि मलाई मेरी आमा पहिलो पाठशाला बुबा खुल्ला विश्वविद्या लय लाग्छ । बुबाबाट सिकेका पाठहरू अनगिन्ती छन् । केही प्रसङ्ग यहाँ जोड्न चाहन्छु ।  बुबा भन्नुहुन्थ्यो – ‘खेतालाहरूलाई आँत भरिने गरी खान दिनु । उनीहरू खुसी भए मात्र काम धेरै गर्न सक्छन् । खेताला आउने भनेको गरीब भएर हो, गरीब हुनु रहर होइन नियति हो । त्यसैले गरीबको आत्मा खुसी बनायो भने भगवान खुसी हुन्छन् । भगवान भनेकै मान्छेको मन हो । जे खाँदा खुसी हुन्छन् त्यही बनाएर दिनु । बिचरा एक पेट खानकै लागि अर्काको खेताला हिँडेका छन् । रहरले कोही गरीब हुँदैन । बाउसे दाजुहरू भन्नुहुन्थ्यो, ‘अध्यक्ष बा अन्नको रस खान मन छ । त्यसले थकाइ नि मेटाउँछ बल पनि निकाल्छ ।’

बुबाले नाइँ भन्नै सक्नुहुन्नथ्यो अनि छिमेकी राईको घरमा अन्न दिएर रस बनाउन लाउनुहुन्थ्यो र ल्याएर खान्थे ती बाउसे दाजुहरू, कोहीकोही रोपार पनि खान सघाउँथे । त्यसपछि गीत गाउँदैरमाउँदै मेलो कुदाउँथे । दहीमही अरू जे छ घरमा प्रशस्त खान दिनु भन्नुहुन्थ्यो बुबा । अध्यक्ष बाको घरमा रमाइलो हुन्छ भन्दै आउने खेतालाको घुइँचो हुन्थ्यो ।आफूले खेताला नपाउँदा रिस पनि गर्थे कतिले त ।

 धनीलाई जति नै मीठो खान दिए पनि उसले मीठो भयो कहिल्यै भन्दैन किनकि उसका लागि त्यो खाना सामान्य हुन्छ तर गरीबलाई त्यही खाना अमृत हुन्छ । खानलाउन नपाएको मान्छेले पेटभरि खान र जिउभरि लाउन पायो भने आत्मैदेखि आशिष् दिन्छ भन्दै बुबा प्रसंग जोड्नुहुन्थ्यो, ‘अघाएकालाई खाना थप्नु चाकडी हो, भोकाएकालाई खाना पस्किनु धर्म हो । जीवनमा चाकडी कहिल्यै नगर्नु, धर्म गर्नु नानी ।’ बुबा सधैँ सम्झाइरहनुहुन्थ्यो – धनको पछाडि नलाग्नु, मनको पछाडि लाग्नु । धन त लाउनखान पुगे भइहाल्छ, मन धेरै कमाउनुपर्छ । आफू मरेर जाँदा पनि अमर रहने भनेको मान्छेको मन हो, मनले नै सम्झिरहने हो ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजमा भलो हुने वा समाजको ठूलो संख्याले लाभ लिने खाल्को काममा योगदान गर्नु । यसो गरे मात्र आफू मरेर पनि मान्छेको मनमनमा अमर रहन सकिन्छ। बुबाको नजरमा कसैलाई अन्याय गर्नु पाप हो भने न्यायका पक्षमा बोल्न डराउनु वा अन्याय सहनु झन् महापाप हो । अन्याय सहनु भनेको न्याय मार्नु हो । त्यसैले बुबा सधैं सम्झाउनुहुन्थ्यो, ‘न्याय मर्न नदिन पनि सत्यको पक्षमा बोल्न सक्नुपर्छ । काँतर भयो भने सत्य डगमगाउँछ, निर्भीक उभिनु, सत्य कहिल्यै हार्दैन ।’

सादा जीवन बाँच्नु जसले त्यो सरलता देखेर साधारण बाँच्ने सबैलाई आफू  बाँचेको अनुभूति होस् । तडकभडकले मानवीय संवेदना सम्बोधन गर्दैन भन्ने भनाइ बुबाले हामीलाई सुनाइरहने मन्त्र थियो । सकेसम्म घर अगाडिबाट हिँड्दै गरेकालाई नि बोलाएर केही खानदिएर पठाउनु नभए पनि घरमा आएकालाई भोको पेट र खाली हात नफर्काउनु । जति आफूले दियो अरूलाई त्यति भगवानले आफूलाई दिन्छन् । बाँडेर खानेलाई बाँडेरै खान पुग्छ, लोभ गर्नेलाई लोभले मार्छ भनेर चौतारामा बस्दा कुराकानीको प्रसङ्ग नै यही निकाल्नुहुन्थ्यो । इष्टमित्र धेरै बनाउनु, आफूलाई पर्दा काम लाग्छन् नभए पनि आत्मसन्तुष्टि हुन्छ नानी भन्नुहुन्थ्यो सधैँ । अरूको प्रगतिमा रिसडाह नगर्नु, सके आफूले पनि सिकेर त्यस्तै बन्नु, नसके रिस नगर्नु । रिस र डाहले आफैंलाई हानि गर्छ । अरुको प्रगतिको खुलेर प्रशंसा गर्नु । सके सहयोग गर्नु नसके असहयोग पनि नगर्नु । असहयोग नगर्दा पनि सहयोग नै हुन्छ भन्नुहुने बुबा अरूको आस गरेर नबस्नु भन्नुहुन्थ्यो । सकेसम्म कर्म गरेर खानु, बाँडेर खानु, दिएर खानु तर मागेर नखानु भन्ने बुबाको विचारमा मागेर खायो भने शीर झुक्छ, झुकेको शीरले आत्मसम्मानमा चोट पुग्छ । कोही आफन्त धनी हुन्छ्न्, कोही गरिब हुन्छ्न् । धनीलाई काख र गरीबलाई पाखा कहिल्यै नगर्नु । मन सबैको बराबर हुन्छ, मनको सम्मान गर्नु भन्ने बुबाको भनाइ मेरा लागि अत्यन्तै जीवनोपयोगी सार्थक लाग्छ ।

एउटा प्रसङ्गले मलाई जीवन्त चिमोटिरहन्छ । जब म एस्एलसी सकेर उच्च शिक्षा र रोजीरोटीको खोजीमा घरबाट चार दिन हिँडेर काठमाडौं पसेँ, गाउँमा धेरै कुरा काट्न थालेछन् ।

 दशैँमा घर जाँदा आमाले रुँदै सुनाउनुभयो, ‘कस्ताकस्ता कुटुम्ब माग्न आउँदा छोरी दिँदैन, पछि कस्तो केटोले लाने हो । बूढीकन्या भैसकी आफ्नो जातकोले त के लानु कुनचाहिँ कुजातले लान्छ अनि बल्ल अध्यक्ष काजीको घैँटोमा घाम लाग्छ । छोरी नाथेले पढेर के काम, बन्साको बोट मौलाएर बाली बिगार्ने मात्रै हो । छोरीलाई छाडा छोडेर गन्हाउने भयो हाम्रो ठूले ।  गाउँमा यस्तै मात्रै कुरा हुन्छन् कति सुन्नु नानी । अब त १७ नाघिस् बिहे गर्दा हुन्थ्यो । गाउँलेका कुराले पीर लागेर होला तेरा बुबा नखाई त्यत्तिकै सुत्नुहुन्छ । तेरो उमेरका सबैको बिहे भएर नातिनातिनासहित भरिया हालेर माइती आउन थालिसके । 

आमाको कुरा सुन्दै गर्दा अँगेनामा साल्किरहेको मुढाको आगो झन् रातोरातो रन्किएजस्तो लाग्थ्यो । एउटा पाटामा बसेर बुबा मेरो मुख हेरिरहनुभएको थियो । सकेसम्म छोराछोरीलाई गाली गर्नुहुन्न पिट्न त हुँदै हुन्न । गाली गरेर र पिटेर त बच्चा थेत्तरो हुने झन बिग्रिने मात्रै हो भन्ने स्वभाव बुबाको म सानैदेखि बुझ्थेँ । 

साहस बटुलेर बुबालाई भने, ‘कामी दमाईसँग नै बिहे भएछ भने त्यसैलाई ज्वाइँ भन्छु , मेरी छोरी हो तिमीहरूलाई के चासो भनिदिनु न बुबा , म पढ्दै छु अहिले बिहे गर्दिन । साँच्चै बुबाले मलाई विवास गरेर त्यसै भनिदिनुभएछ । त्यसपछि बल्ल कुरा काट्नेहरूको मुखमा बुझो लाग्यो । त्यतिबेला कामी दमाई भन्या पानी नचल्ने जात भनिन्थ्यो गाउँमा तर खेताला आएका कामीदमाई दाजुभाउजूहरूलाई थाहा नपाई पानी छुवाएर म खान्थेँ खै केही हुँदैनथ्यो । काटे रगत उस्तै रातो, कसरी जात चल्ने र नाचल्ने हुन्छ होला भनेर म सोचिरहन्थेँ । ती नै दमाई काकाले थुकले धागो भिजाउँदै सिएको नयाँ चोलो र दौरा लाएर चोखिने अनि फेरि मान्छेचाहिँ अछूत हुने कस्तो चलन होला भनेर घोत्लिरहन्थेँ एक्लै । पछि बिस्तारै थाहा हुँदै गयो यी त सबै समाजले बनाएको संस्कारको नाममा कुसंस्कार पो रहेछ ।

सानैदेखि बुबाकी सबैभन्दा प्यारी अनि भरपर्दी छोरी म । मैले जे भने पनि सकेसम्म नकार्न सक्नुभएन बुबाले । मैले चाहिँ के कसो गरेँ बुबाले मनन गर्नुभयो होला । यस्तैयस्तै धेरै कुराले मलाई बुबाबाट व्यावहारिक ज्ञान सिक्ने अवसर मिल्यो । बुबाकै आदर्श र व्यवहारले मैले मान्छे भएर बाँच्न सिकेँ । मेरा लागि बुबा खुल्ला विश्वविद्यालयझैँ लाग्नुहुन्थ्यो । आज कुसेऔंशी । सधैँ त बुबालाई ढोगेर आशीर्वाद लिन्थेँ । अब मेरो दुर्भाग्य बुबा यो संसारमा हुनुहुन्न । तर पनि बुबाले सिकाउनुभएको सामाजिक, मानवीय शिक्षा र देखाउनुभएको मार्गनिर्देशले मलाई कहिल्यै छोड्नेछैन । सकेसम्म म यही मार्ग पछ्याइरहनेछु, हजुरकै शिक्षाको गोरेटो समाइरहनेछु । हजुर नरहे पनि हजुरको पदचाप यहीँ वरिपरि छ म छामिरहनेछु । हार्दिक नमन बुबा।

प्रकाशित: २ भाद्र २०७७ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App