१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

‘माझी दाइ पोखरा फेवातालको’, ‘लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’

यात्रा

जीवन एउटा लामो यात्रा हो। यो कुरामा हामी सबले सहमति जनाउनुपर्छ। म १० कक्षाका विद्यार्थी हुँ। वास्तवमा १० कक्षामा पढाइको चटारो लिनुभन्दा बढी हामी सबै जना रमाइलो गर्दै अविस्मरणीय समय बिताउन खोज्छौं। त्यही सिलसिलामा २०७९ साल असोज ३१ गते श्री विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भूका ७६ जना साथी र शिक्षकवर्ग सहित ८५ जना  शैक्षिक भ्रमणको क्रममा पोखराको यात्रामा निस्कियौं।

नेपालको सुन्दरताको बयान गर्न थाल्यौं भने हाम्रो मन र मुख कहिले पनि थाक्दैन। नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक रूपले भरिपूर्ण देश हो। नेपालको हरेक जिल्लाका विभिन्न चिजले आन्तरिक र बाहिरी पर्यटकलाई चुम्बकझैं तानिरहेको हुन्छ। हामी वीर गोर्खालीहरूको जन्मथलो सम्झिंदै आफ्नो पहिलो गन्तव्य गोरखास्थित राजा रामशाहद्वारा स्थापित गोरखकाली मन्दिरतिर रहेको थियो। बग्दै गरेको दरौंदी खोला, गोरखा बजार अनि पारि डाँडामा देखिने हिमालको दृश्यले मनमा आनन्द छायो।

आधुनिक नेपालको मुख्य नायक बडामहाराजा श्री ५ पृथ्वीनारायण शाहको राजदरबार र गोरखकाली माईको मूलमन्दिर २०७२ को भूकम्पपछि निर्माणाधीन रहेछन्। केहीबेर अवलोकन गरी हामीले आफ्नो यात्रा कायम राख्यौ। निकै थकित शरीरका साथ धादिङ, चितवन, गोरखा, तनहुँ जिल्लापार गरी साढे ८ बजेतिर हामीले सैनिक आवासीय महाविद्यालय, पोखरा फूलबारीमा पाइला टेक्यौं। रात्रिभोज गरेर हामी सबै सुत्न गयौं। त्यहाँको आतिथ्य सत्कार र सन्तुलित आहारले हामी प्रफुल्ल भयौं।

बिहान ३ बजे उठी तयार भई पहिलो झुल्का घाम हेर्ने गरी हामी सराङकोटतिर गयौ। केवलकार चढी सुन्दर र  विशाल पोखराको दृश्य हेर्दै सराङकोटको डाँडामा पुग्यौं। बिहानको समय भए पनि त्यहाँ पर्यटकहरूको घुइँचो थियो। केहीबेरको पर्खाइपछि घाम झुल्कियो।

‘मिहिनेतको फल मिठो हुन्छ’ भनेझैं घामले माछापुच्छ्रे, अन्नपूर्ण हिमाललाई स्पर्श गरेको क्षणले मनमा दिएको आनन्द नै भिन्दै थियो। सुनझैं टलक्क टल्किएका हिमाललाई कैद गर्दै हामी रमाइलोसाथ फोटो खिच्न थाल्यौं। त्यहाँबाट झरेर माछापुच्छ्रे शिरको पानी फेवातालतिर लगायौं। मेरा लागि पोखरा निकै नौलो ठाउँ थियो। ‘माझी दाइ पोखरा फेवातालको’, र ‘लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’ गीतमा बयान गरेझैं फेवातालको बतासले मन नै आनन्दित बनायो। बोटिङ गरेर हामी सबै तालको बीचमा बसेकी वाराहीको दर्शन गर्न लाग्यौं। तालवाराही देवीको दर्शन गर्न पाउँदा मनमा निकै शान्ति मिल्यो।

अझ मनमा शान्तिको महसुस धेरै भयो जब हामीले आफ्नो दोस्रो गन्तव्य शान्ति स्तुपालाई रोज्यौं। नाम जस्तै ठाउँ, डाँडामाथि चलेको सिरसिर हावा अनि विशाल स्तुपा देख्दा स्वर्गमा आएको जस्तो लाग्यो। केही बादलपारि लुकेकी, मुसुक्क मुस्कुराउँदै बसेकी माछापुच्छ्रे अनि अन्नपूर्णको काखमा रहेको पोखराको मनोरम प्राकृतिक र भौगोलिक विचित्रता देख्दा हामीलाई निकै रमाइलो लाग्यो।

जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर

त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर!

भगवान् गौतम बुद्धको दोस्रो घरको रूपमा रहेको शान्ति स्तुपामा उल्लिखित उपदेश पढी मैले धेरै कुरा सिकें। दिन छोटो, लामो तालिका, मनमा उमंगको साथ हामी डेभिडफलतिर लाग्यौं। हामी जस्तै पर्यटकको रूपमा आएको डेभिड नामक पर्यटक एउटा छाँगोमा झरी त्यो ठाउँलाई ‘डेभिडफल’ नाम राखिएको रहेछ। निकै डरलाग्दो ठाउँ रहेछ। केहीबेर त्यहाँ राम्रोसँग अवलोकन गरी हामी गुप्तेश्वर अनि चमेरो गुफामा घुमी निकै साहसिक यात्रा गर्ने मौका पायौं। निकै रोचक तथ्य थिए ती गुफाहरूमा। सन्ध्याले पनि आफ्नो लाली लुकाउँदै थिइन्।

करिब ६ बजिसकेको थियो। हामी आर्मी स्कुलमा पढ्ने विद्यार्थी थियौं। जता गए पनि अनुशासन र नियममा बस्नुपथ्र्याे। हामीले पोखरामा अनुशासित विद्यार्थीको रूपमा धेरै मजा गर्‍यौ। साँझमा हामी सबैलाई १ घण्टाका लागि छोडियो। कोही खाना खान थाले, कोही फोटो खिच्न थाले र कोही लाइभ परफर्मेन्स हेर्दै रमाउन थाले। दिउँसो र राति घुम्दाको लेकसाइडले निकै फरक आनन्द दिंदो रहेछ। आरती गर्दा सुनिने भजन, झिलिमिली सजिएका होटलहरू, अमिलापिरा खानेकुरा, विदेशी पाहुनाहरू र त्यहाँका सामानहरूले मन निकै लोभ्यायो। राति हामी सबै स्कुल फर्कियौं। चिसो मौसममा तातो वातावरण बनाउन क्याम्प फायरको व्यवस्था गरिएको रहेछ। सबैले रमाउँदै खुट्टा दुख्ने गरी नाच्यौं।

भोलि बिहान सबेरै उठी हामीले फूलबारी परिवारबाट बिदा लिई काठमाडौं फर्किने निधो गर्‍यौ। फर्किंदाफर्किंदै हामीले निकै सुन्दर र शान्त ठाउँमा रहेको बेगनास ताल जाने मौका पायौं। बेगनास तालले मेरो मन निकै छोयो। सबै साथी त्यहाँ फोटो खिचाउँदै थिए भने म कुनामा बसेर सुन्दरताको मज्जा उठाउँदै थिएँ।

बाटोमा फर्किंदा मैले पोखरामा बिताएका २ दिन सम्झिएँ। साथीहरूसँगको रमाइलो क्षण, हाँसो, विभिन्न कुराको नयाँ अनुभव आदि कुरा सम्झिंदा मैले जिन्दगीको सबैभन्दा अमूल्य समय बिताएको जस्तो लाग्यो। करिब ७ बजे हामीले काठमाडौंमा आफ्नो पाइला टेकी ३ दिने भ्रमण पूरा गर्‍यौं।धन्यवाद।

(लेखक विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौंका कक्षा १० की छात्रा हुन्।)

प्रकाशित: १३ कार्तिक २०७९ ०८:३९ आइतबार

अक्षर