२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुनिता निरौला पौडेलका पाँच लघुकथा

लघुकथा

सुनिता निरौला पौडेल

१) पश्चाताप

मखमलीले सधैं आफूलाई राम्री र सबैले  मलाई मान्छन् भनेर घमण्ड गर्दै व्यंग्य गर्थिन् बहिनी पारिजातलाई।

दिदीको कुरा सुनेर पारिजात भन्थिन्, ‘आखिर सानो भए पनि बास्ना त छ नि मेरो!’

मखमली भन्थ्यो, ‘बास्ना भएर के गर्नु! टिप्न नपाउँदै झर्छौ! म जस्तै  धेरै दिनसम्म बोटमा नसुकीकन बस्न सक्नुपर्‍यो नि।’

पारिजात भन्थ्यो, ‘त्यसो नभन न दिदी। म त स्वर्गकी अप्सरा थिएँ। इन्द्र देवको सरापले पृथ्वीमा आएर दुःखी छु।

‘धन्न मेरो सुगन्ध सबैमा छरेकी छु। मेरो गुण बुझेर सफा ठाउँमा झर्न पाउँछु!’

मखमली भन्थ्यो, ‘मेरो त झन् कत्ति  महत्त्व छ, भाइटिकामा दीर्घायुको कामना गर्दै दाजुभाइको गलामा सजिन्छु।’

एकैछिनमा एक समूहले यसपालि जस्तो मखमली फूल कहिल्यै फुलेको थिएन भन्दै एउटा पनि नराखी मखमली फूल लुछ्न थाले।

मखमलीले  बेसरी कराउँदै बोलाइन्, ‘पारिजात बहिनी, म ढल्न आँटें। कोपिला समेत छोडेनन्। बचाऊ छिट्टै। आपत परेकाले दिदीको मद्दत गर्न।’

उनले भनेका सबै तिता कुरा बिर्सेर नजिकै हाँगो लगेर अडेस  लगाइन् र मगमगी बास्नासँगै फूल बर्साइन्।

लाजले शिर झुकाउदै दिदी बोलिन्, ‘आफू सुन्दर छु भनी अरूलाई  खसालेर बोल्न नहुने रहेछ। नचाहिंदो घमण्ड  गर्नु अरूबाट गिर्नु रहेछ बहिनी।’

  २) गृहलक्ष्मी

बा खसेदेखि आमाले सबै घर-व्यवहार सम्हाल्नुभएको थियो। आमाका पाँच छोरा र दुई छोरी थिए। छोरीहरूको पनि बिहे भइसकेको थियो।

आमा अलिक कडा हुनुहुन्थ्यो। बेलाबेलामा सबै बुहारीलाई संस्कारी हुन सिकाउनुहुन्थ्यो।

बुहारीहरूलाई सासूका कुरा प्रिय लाग्थ्यो। सबै एक आपसमा खुसरपुसर कुराकानी गर्थे।

एउटीले कुरा निकालिन्,‘आमाको दराजमा सुन र पैसा थुप्रै छन् भन्छन्। हुनेखाने छोरीहरूलाई दिने त होलिन्।’

अर्कीले कुरा थप्थिन्,‘हामीलाई काममा पेलाएर आफू महारानी बनेकी छन्।’

उनीहरूको कुरा सुनेर आमा भन्नुहुन्थ्यो, ‘अरू केही काम छैन जस्तो कस्तो तिमीहरूले मेरै कुरा काटेको।’

त्यतिबेला बुहारीहरू हतारहतार आफ्नो काममा व्यस्त हुन्थे।

अलिक दिनमा आमा बिरामी हुनुभयो र सबै छोराबुहारीलाई नजिकै राखेर भन्नुभयो, ‘छोराहरू, तिमीहरू एक आपसमा मिलेर बस्नु,आफ्नु खुट्टामा उभिनु,कसैको भर नपर्नु र जग्गाजमिन बराबर बाँडेर लिनु।’

यति भनेको केहीबेरमै आमा बित्नुभयो। घरमा रुवावासी चल्यो।

आमाको १३ दिने काम सकियो। सबै छोराबुहारीले आमाले दराजमा केके राख्नुभएको छ भनेर हेर्न थाले।

दराजमा एउटा चिठी फेला पारे। त्यहाँ लेखिएको थियो: मलाई सासू आमाले दिएको डेढडेढ तोला सुनका पाँच वटा सिक्री छ। बुहारीहरूले बाँडेर लगाउनू।’

उहाँलाई पनि आफ्नो सासूले दिनुभएको रे। आशा छ, तिमीहरूले पनि पछि आआफ्नो बुहारीलाई खुशी तुल्याउनेछौं।’

कुरा काट्ने बुहारीहरूको आँखा खुल्न थालेको थियो।

  ३) प्रश्न

‘बाबा, भगवान्को घरबाट कहिले आउनुहुन्छ मेरी आमा?’

छोराको प्रश्नमा उनी एकैछिन घोरिए।

‘जहिले नि छोरा एउटै कुरा गरेर खाली जिद्दी गर्छौ। अस्ति मैले भनेको बिर्सियौ?’

‘अनि कहिले त?’

छोराले बाबालाई सोधेर दिक्क पारिरहेको थियो।

‘तिम्रो आमा तिमीलाई सरप्राइज दिने गरी एकदिन आइहाल्छे नि।’

बाबालाई सोध्यो, ‘कस्ती हुनुहुन्छ मेरी आमा?’

असाध्य राम्री भगवान् जस्तै!

फोनबाट भगवानको घरमा भएको आमालाई बोलाइदिनु भनेर हैरान पारेपछि बाबाले बनावटी आमालाई बोल्न लगाउन बाध्य भए। छोराको जन्मदिनमा आउने वाचा गरिन् उनले पनि।

प्रज्ज्वल छोरा जन्मिएको केही समयपछि आमा बितेकी थिइन्। ऊ अलिक ठूलो भएपछि सोधिरहन्थ्यो, ‘खोई कहाँ हुनुहुन्छ मेरी आमा!’

बाबाले भगवानको घरमा गएकी छ भनेका थिए।

-मलाई आमासँग बस्न मन छ। कहिले ल्याउने भगवानको घरबाट? छिट्टै ल्याउनु के बाबा।

‘छोरा, तिमीले खाली एउटै कुरा गरेर दिक्क पार्छौ। भगवानको घरमा गएकी तेरी आमालाई मैले कसरी ल्याउनु?’

बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो एकछिनसम्म।

छोराले भन्दै थियो, ‘नाइँ, बाबा जसरी भए नि यसपालिको जन्मदिनमा मेरो  आमालाई ल्याउनैपर्छ। ल्याउनुभएन भने आमालाई भेट्न मै भगवानको घरमा जान्छु के।’

 ४) मूल्यांकन

खुइय्य गर्दै उसले भन्यो, ‘खोई, केही लेख्न पनि मन लाग्न छाड्यो अब!’

आफ्नो लेखाइलाई अगाडि बढाउन खोज्दा राम्रो छ भन्ने  साथ र हौसला कसैबाट पाइँदैन कहिले पनि।

‘किन हरेस खाको माइला दाइ। राम्रो छ त तिम्रो लेखाइ। निरन्तरता देऊ न! अरूले औल्याएर देखाउनु त आफ्नै लागि  राम्रो  हो नि।’

सबै रचनाको  भाव राम्रो लाग्छ तिम्रो। खारिन मात्रै बाँकी  छ अब। बकुल्लाको शैलीमा अभ्यास गर। सफलता मिल्नेछ एकदिन। हरेस खानु भनेको आफू हार्नु हो। तिमीमा धेरै प्रतिभा छ। मेहनतले  एक दिन अवश्य सफलता मिल्नेछ।’

साथीको हौसलाले मेरो कलम अगाडि बढ्यो।

‘मोबाइल र कापीकलम अगाडि राखेर मात्र हुन्छ! घरमा कत्ति काम लथालिंग छ।’

अरू काम छैन  छोरा तेरो। आमाको गनगन सुरु हुन्छ उताबाट।

उसले  हाँस्दै भने, ‘आमा,सबै काम एकैछिनमा गर्छु।’

उसले साथीलाई सुनायो, ‘मैले एउटा रचना पोष्ट गरेको छु। कस्तो परिणाम आउने हो!’

एकाबिहानै फोन आउँछ। माइला दाजुले कसको फोन हो भनी उठाए।

‘अस्तिको हाम्रो  साहित्यिक कार्यक्रममा तपाईंको रचना उत्कृष्ट भयो। समयमा आएर पुरस्कार लिनुहोला।’

 ५) पिण्ड

‘बाको सोह्र श्राद्ध प्रतिपदा तिथिको दिन थियो। सबै सामग्री  तयार पारे उनले। धेरै चोटि घडीमा हेर्दै  छटपटिए। दश बजे आउँछु  भनेका पुरेत  बाजे बल्ल एक बजे हस्याङफस्याङ गर्दै आए।

यहाँ श्राद्ध सकेर फेरि अरू ठाउँ पनि जानुपर्ने छ भन्दै पुरेत बिहानैदेखि हत्तारिंदै थिए।

बाहिर गेटमा एकजना वृद्ध बा भन्दै थिए, ‘मलाई धेरै भोक लागेको छ। केही खानेकुरा पाइन्छ कि बाबू?’

उनले  भने, ‘एकछिनपछि आउनु,खानलाई! श्राद्द सकेर खान दिउँला।

ती वृद्ध त्यहाँबाट पल्लो घरतर्फ लागे।

छोराले भन्यो, ‘बाबा  यी हजुरबालाई भान्सामा पकाएको खिर दिन पाए खान्थे नि! श्राद्ध नसकी दिनु हुन्न!’

ह्या बाबा ती वृद्ध बा हाम्रो हजुरबा जस्तै त हुनुहुन्छ। यसरी श्राद्ध गर्नुभन्दा यी वृद्ध बाको भोको पेट भर्‍यो भने पो हजुरबा पनि खुशी हुनुहुन्थ्यो।

श्राद्ध पनि सकियो। शहरबजारमा श्राद्धमा पिण्ड सेलाउन खोलानाला नभएकाले बाटाको पिपलको रुखनिर चोखो ठाउँमा राखिदिए उनले।

एकैछिनमा त्यहाँ टपरी बेपत्ता भयो।

टपरीको पिण्ड त एक कुनामा बसेर ती वृद्ध बाले पो खाइरहेका थिए।

उनी आत्तिएर कराए, ‘लौन यो बुढा बाले के गरेको!’

-बुढापाकाले फुटेको पिण्ड हेर्न हुँदैन भन्थे। हाम्रो पितृ तर्दैनन् अब।

‘के गर्नु बाबू ,सारै भोक लाग्यो। खप्नै नसकेर खाएँ। मैले खाएको पिण्डले तपाईंको बा अब साँच्चै पितृ तर्छन्। चिन्ता लिनु पर्दैन।’

प्रकाशित: ३० आश्विन २०७९ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App