मनोहर पोखरेल
अरू दिन आफ्नो पालोमा ‘एस सर’ भन्थें। त्यो दिनदेखि सबैले ‘प्रणाम गुरुवर’ भन्न थाले। कक्षामा विद्यार्थीहरूको फेरिएको बोलीको रहस्य सम्झेर म भने आजसम्म मक्ख परिरहन्छु।
त्यस दिन रोल नम्बर २१ अनुपस्थित थिए। हाजिरीपछि ‘नियमित विद्यालय आउने हेमन किन आएनन्’ भनेर उनका साथीहरूसँग चिन्ता प्रकट गरेको थिएँ। आमा विरामी भएकाले हेमन आउन नपाएका रहेछन्।
पढाइ सकिनासाथ म कक्षाकोठाबाट निस्किएको थिएँ। कार्यक्रममा बसिदिन सयौं विद्यार्थीले गरेको आग्रहभन्दा अनुपस्थित हेमनले ध्यान खिचेको थियो। सोझै भलुवाही खोला नजिकै रहेको बस्ती पुगें। खरले छाएको झुपडीभित्र हेमन पानीपट्टी लगाइरहेका थिए। मुढोजस्तै लडिरहेकी थिइन् उनकी आमा। बुवाको मृत्युपछि आमा नै हेमनको एक मात्र सहारा थिइन्। मलाई देख्नासाथ उनले रुँदै भने, ‘मसँग गाडीभाडा समेत छैन।’
वातावरण सम्हाल्दै भनेको थिएँँ, ‘चिन्ता नगर हेमन, म लैजान्छु अस्पताल।’
डाक्टरले परीक्षणपछि समयमै अस्पताल ल्याएर राम्रो गरेको बताएका थिए।
विद्यालयमा गुरुपूर्णिमा मनाउन नपाएका विद्यार्थीहरू भने त्यहीं आइपुगेका थिए। उनीहरूले अस्पतालमै मलाई फूलको गुच्छा दिँदै दोसल्ला ओढाएर सम्मान गर्न खोजे। मैले ज्वरोले काँपिरहेकी बिरामीलाई दोसल्लाले ढाकिदिएँ। विद्यार्थीबाट फूलको गुच्छा लिएर हेमनको आमालाई दिंदै स्वास्थ्य लाभको कामना गरें। कार्यक्रमका लागि उठाएको बाँकी रकम हेमनलाई दिन भनें। अँगालो मारेर हेमन भक्कानिएको थियो। आमाले उपचार पाएकोमा कृतज्ञता प्रकट गर्दै थियो। सबैको ओठमा मुस्कान नाचेको थियोे। अस्पतालमा गुरुपूर्णिमा मनाउँदा मलाई पनि अपार आत्मसन्तुष्टि मिलेको थियो।
प्रकाशित: ३२ असार २०७९ ०६:५५ शनिबार